माधव सापकोटा
आफुले धन हालेर किनेको गाडी सबैका लागि मुल्यवान हुन्छ । महत्त्वपूर्ण हुन्छ । सो गाडीमा कहि कतै थोरै कोतरियो भने पनि मन चसक्क हुन्छ । चिन्ता लाग्छ । जुनसुकै हालतमा पनि निरन्तर मर्मत सम्भार गर्न मन लाग्छ । किन कि हामीले आर्थिक लगानी परेको ठाउँमा हामी बढी चासो दिन्छौं । र सोच्छौ गाडी सहि अवस्थामा रहन सक्यो भने यात्रा सहज हुन्छ । आनन्दित हुन्छ ।
गाडी साधन हो साध्य होइन । मानिस आफू नै अस्वस्थ भइ अशक्त हुँदा गाडी भएर पो के हुन्छ ? गाडी विविध इन्जिनहरुको समिश्रणबाट तयार भएझैं मानिसको शरीर पनि विभिन्न ज्ञानेन्द्रियहरुको समिश्रणबाट बनेको हुन्छ । जसरी गाडीको कुनै पार्टपुर्जाहरुमा समस्या देखा पर्छ गाडी चल्न सक्दैन त्यसै गरी मानिसको शरीरका ज्ञानेन्द्रियहरुमा आउने खराबीले मानवरुपि गाडी चल्न सक्दैन तर हामी जबर्जस्ती चलाउन खोज्छौं । जबर्जस्त चलाउनु घतक हुन्छ । जवकी मानव शरीर साधन नभएर साध्य हो ।
मेरो प्रश्न छ कि, उसो भए तपाईले आफुले लगानी गरि खरिद गरेको गाडिको स्याहारसुसार गरेझैं आफ्नो मानव रुपि गाडिलाई समय समयमा स्याहारसुसार गर्नु भएको छ ? स्वास्थ्य नै धन हो । बलवान् हो । यो सिद्ध कुरा हो । जीवन एउटा निश्चित आयु लिएर त जन्मेकै हुन्छ । त्यो निश्चित आयु सम्म स्वस्थ भई बाँच्ने रहर त हामी सबैले गरेका हुन्छौं । मानिसको स्वभाव नै हो रहरहरु त धेरै पलाउँछन । रहर प्राप्तिका लागि अभ्यास र निरन्तरता जरुरी छ ।
कसैले जीवन के हो ? भनेर सोध्दा भर्खर मात्र प्रेम सम्बन्धमा परेका जोडिले जीवन त मिलन हो भनेर जवाफ दिन्छन । कसैले जीवन खहरे खोला हो कुनै पनि बेला उर्लन र सुक्न सक्छ भन्छन । भर्खरै मात्र बिछोडमा परेकाहरुले जीवन बिछोड हो , रोदन हो , धोका हो , भन्छन । कसैले कर्कलाको पानी हो जुन सुकै बेला जे पनि हुन सक्छ भनेर केही नयाँ काम गरौँ भन्ने जोश जाँगर नराखि जीवन ब्यतित गर्दैछन् । यसरी जीवनलाई आफ्नो तात्कालिक परिस्थिति अनुसार ब्याख्या गर्ने ब्यक्ति र तिनिहरुको समुहले गाडीको मर्मतलाई ध्यान दिए पनि आफ्नो शरीरको महत्त्वलाई सायदै दिन बिर्सन्छन । तर त्यहीँ बिषयलाई बैज्ञानिक थोमस एडिसनले जीवन उर्जा हो भनेर परिभाषित गरे सयौ पटक नथाकीकन प्रयास गरेर बिद्युतको आविष्कार गरे र आज सारा दुनियाँ उज्यालो छ ।
” एक जनालाई सोधियो तिमिलाई स्वर्ग जाने मन छ ? उनले जवाफ दिए होइन मलाई त्यो स्वर्गलाई यहीँ पृथ्वीमा ल्याउने मन छ । यस्तै उर्जा भरिएका मनहरुले जीवन र मानव शरीरको महत्त्व बुझेका हुन्छन ।”
अन्य देशका जनताको बारेमा त म यहाँ उल्लेख गर्दिन तर हाम्रो देश नेपालमा खान नपाएर कोही एक जना मान्छे मरेको खवर आज सम्म मैले कहि कतैबाट सुनेको छैन सायद अब सुन्न पाउने छैन । बरु खान नजानेर थुप्रै नेपालीहरु मर्ने गरेका छन ।
जसरी डिजलको गाडीमा भुलबस पेट्रोल राखियो भने त्यो गाडी पुर्ण रुपमा क्षति ग्रस्त हुन्छ । त्यसै गरी मानव शरीरलाई प्रतिकुल हुने खालका खानाले क्षति पुर्याउँछ । अत शारीरिक अनुकुलन हुने खानाहरु हामीले खाने गर्नु पर्छ । संगत यस्तो पनि हुन्छ कि के छ र ? जाबो जिन्दगी भन्दै अत्यन्तै कम महत्त्व दिएर परिचालित मानव शरीरहरु दर्दानाक जीवन जिउँदै छन । अशंख्य त अकालमा असामयिक हिसाबले संसार छोडेका छन । दुर्घटनामा परेकाहरुको आफ्नै पीडा छन ।
एक सेकेन्डको असावधानी पुर्ण निर्णयले आज मानिसहरु झुन्डिएर, बीस सेवन गरेर, यस्तै केही गरेर आत्महत्या गर्दैछन् । यस्ता मानिसहरुमा आफ्नै शरीरको महत्त्वको ज्ञान भएन । जन्मियो मर्यो, प्रकृति परिवार र समाजलाई कुनै योगदान भएन बरु भार भयो । प्रकृतिले सबैलाई एउटा बिशेषता दिएर पठाएको हुन्छ । त्यो बिशेषता चिन्न सकेर भरपुर प्रयोग गरेर आफु, आफन्त, परिवार, समाज, र देशको योगदान गर्न मानव शरीर स्वस्थ हुनु जरुरी छ । तसर्थ स्वस्थ भइ बाँच्नका लागि निरन्तर स्वास्थ्य परिक्षण गरौ, सन्तुलित भोजनको सेवन गरौं, आवेगमा आएर शरीरलाई हानि हुने कुनैपनि निर्णय नगरौं, आफुले सिकेका कुराहरु अरुलाई पनि सिकाउँ । पहिले हरेक नागरिक स्वस्थ्य हुनुपर्छ अनि देश समृद्ध हुन्छ । जय स्वास्थ्य !
(लेखक देवदह मेडिकल कलेजका प्रमुख प्रशासन अधिकृत हुन)