शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

किन दुख्छ ढाड १३ कारण यस्ता छन

  • प्रा.डा. अशोकरत्न बज्राचार्य, वरिष्ठ हाडजोर्नीरोग विशेषज्ञ
  • प्रकाशित मिति : बुधबार, साउन २९, २०७६


किन दुख्छ ढाड १३ कारण यस्ता छन

नेपालीको खानपान तथा जीवनशैलीमा निकै परिवर्तन आइरहेको छ । व्यस्तताका कारण खाने परिकारमा समेत त्यति ध्यान दिइँदैन । जसका कारण विभिन्न रोगले संक्रमण गरिरहेका हुन्छन् । पछिल्लो समय नेपालीमा बढी देखिने स्वास्थ्य समस्यामा ढाडको हड्डी तथा कम्मर दुख्ने पनि हो । यस्तो समस्या २० वर्षे युवादेखि नै देखिन थालेको छ । धपेडी, भारी उचाल्दा स–साना चोट थुप्रिएर यस्तो हुन सक्छ । सुरुमा कम्मर ज्यादै दुख्छ । पछि खोक्दा, हाछ्युँ गर्दा वा दिसा गर्दा दुखाइ खुट्टासम्म पनि सर्न थाल्छ ।

१. ढाडको हड्डीमा कुनै किटाणुले संक्रमण गरेमा कम्मर दुख्छ । त्यस्तो अवस्थामा ज्वरो आउने, जिउ शिथिल हुनेजस्ता लक्षण हुन्छन् । हाम्रो देशमा विशेष गरी हड्डीमा क्षयरोगका किटाणुले संक्रमण गरेर यो समस्या देखिने गरेको छ ।

२. रजस्वला बन्द भएपछि अधबैँसे महिलामा पनि ढाड दुख्ने समस्या देखिन्छ । त्यस्तै, ढल्कँदो उमेरमा शरीरभित्र हुने हर्मोनको परिवर्तन, पोषणमा कमी र शारीरिक गतिविधिले पनि ढाडको समस्या हुन्छ । यी कुराले हाडको क्याल्सियम र कडापना दिने पदार्थ गुम्न गई दुखाइ बढ्छ ।

३. ढाडको हाड दायाँ या बायाँ बांगो भयो भने पनि कसैकसैलाई कम्मर दुख्ने गर्दछ । विशेष गरी किशोरावस्थामा केटीहरूमा यस्तो समस्या देखिने गरेको छ ।

४. कम्मरको हाडको पछाडिको भाग छुट्टिएको अवस्थामा पनि ढाडको दुखाइ हुन सक्छ । प्राय: गरी खेलाडी, गह्रौँ भारी उठाउनेहरूमा यस्तो समस्या हुन सक्छ । यो कारणले ढाडमा मात्र नभएर खुट्टासम्म पनि दुखाइ हुन सक्छ ।

५. हाडभित्रको ढुंग्रो साँघुरियो भने त्यहाँ रहने नसालाई ठाउँ सानो हुन्छ । सो अवस्थामा कम्मर दुख्ने तथा खुट्टा पनि दुख्छ । ५० वर्ष नाघेका मानिसमा यस्तो समस्या बढी देखिन सक्छ । समतल ठाउँमा हिँड्दा दुख्ने, खुट्टा झमझमाउने गर्छ भने आराम गर्दा केही छिनमा आफैँ ठीक हुन्छ । तर, पुन: हिँड्दा दुख्न थाल्छ ।

६. ट्युमर भएको अवस्थामा पनि कम्मरको दुखाइ हुन्छ । यस्तो समस्या १० हजारमा एकजनालाई हुने मानिन्छ । ट्युमर दुई किसिमका हुन्छन्, हानि गर्ने र नगर्ने । हानि गर्ने चाँडो बढ्छ र दुखाउँछ । यसबाट उत्पन्न हुने कम्मरको दुखाइ लगातार भइरहन्छ । यसको उपचार शल्यक्रियाबाट मात्र हुन्छ ।

७. उमेर ढल्कदै जाँदा कम्मरको हाडको जोर्नी र डिसबीचको प्रयोगले बाथका रूप लिन्छ, जसले दुखाउन थाल्छ । तर, यस्तो दुखाइ सबैलाई नहुन पनि सक्छ । विशेष गरी बिहान उठ्नासाथ र पछि बिस्तारै चाल बढ्दै जाँदा आफैँ ठीक हुन्छ ।

८. ढाडको प्रज्वलन भएर बिस्तारै ढाड नै एकढिक्का भएर कुप्रो पर्ने पनि हुन्छ । विशेष गरी २० देखि ३० वर्षका युवामा यसको समस्या हुन सक्छ । यसको दुखाइ कम्मरको तल्लो भाग, नितम्ब र तिघ्राको पछाडिसम्म पनि फैलिने हुन्छ । विशेषगरी बिहानीपख बढी दुख्छ ।

९. बाथका कारणले पनि ढाड दुखाइ हुन्छ । शरीरको आन्तरिक गडबडीले यसलाई प्रभाव पार्छ ।

१०. कसैकसैलाई ३० वर्षको उमेरपछि डिसमा पानीको भाग घट्छ र लचिलो हुन्छ । ४० वर्षपछि क्याल्सियम पनि थपिन जान्छ र डिस नै हाड बन्न सक्छ । यस्तो हुँदा कसैलाई दुख्छ भने कसैलाई केही पनि हुँदैन ।

११. कहिलेकाहीँ अगाडि निहुरिएको अवस्थामा एकापट्टि बढी निहुरिँदा अकस्मात् झड्का पर्‍यो वा धेरै वजन उठायो भने डिस कुच्चिन गई उछिटिन्छ र दुख्छ । तर, कसैकसैलाई बिस्तारै अलिअलि गर्दै डिस उछिटिन्छ । यस्तो चाहिँ प्राय: हुने धपेडी, भारी उचाल्दा स–साना चोटहरू थुप्रिएर यस्तो हुन सक्छ । यस्तो हुँदा सुरुमा कम्मर ज्यादै दुख्छ । पछि खोक्दा, हाछ्युँ गर्दा वा दिसा गर्दा दुखाइ खुट्टासम्म पनि सर्न थाल्छ ।

१२. ठूलो आन्द्रा, प्यान्क्रियाज तथा अन्य ग्रन्थिमा हुने रोग, तथा मिर्गौला मुत्रथैलीका रोगले पनि कम्मर दुखाउँछ । तर, यस्तो हुँदा ढाड दुख्नुका साथै संक्रमित अंग पनि दुख्छ । पिसाब पोल्ने, दुख्ने, रङ गाढा हुने, गनाउने आदि पनि हुन्छ ।

१३. पुरुष मूत्रग्रन्थिका रोग र महिलामा महिनावारीमा पनि कम्मर दुखाइ हुन्छ । डिम्ब, नली, पाठेघर आदि स्त्रीलिंगी रोगका कारण पनि हुन्छ । त्यसैगरी जाँघका रोग, रक्तनलीमा रगत प्रवाहमा हुने अवरोध र खुट्टाको लामो–छोटोपनाले पनि कम्मर दुखाइ हुन्छ ।

नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra