शुक्रबार, साउन ११, २०८१ Friday 26th of July 2024

गर्भावस्थामा फिजियोथेरापी – एक विवेकशील निर्णय

  • डा. स्पन्दना पौडेल
  • प्रकाशित मिति : सोमवार, कार्तिक २५, २०७६


गर्भावस्थामा फिजियोथेरापी – एक विवेकशील निर्णय

भौतिक चिकित्सा अर्थात‌‌ फिजियोथेरापी भन्नासाथ प्राय व्यतिहरुले हाडजोर्नि‌ तथा नशा सम्बन्धि गरिने उपचार भनेर बुझ्नुहुन्छ होला। तर धेरैलाई यो तथ्य थाहा नहोलाकि फिजियोथेरापीको भूमिका गर्भवति तथा सुत्केरी महिलाहरुमा पनि रहेको हुन्छ ।

यो भन्नासाथ सबैले सोच्नसक्नुहुन्छ गर्भअवस्था भनेको त धेरै नाजूक अवस्था हो, यस्तो समयमा फिजियोथेरापी गरेर के फाइदा हुन्छ र ? अथवा किन गनुपर्यो फिजियोथेरापी भन्ने प्रश्नहरु उठ्न सक्छन् ।
गर्भवति हुँदा र गर्भ अवस्था पार गरिसकेपछि महिलाहरुको शरीरमा धेरै किसिमका परिवर्तनहरु अाउने गर्दछन् र भविष्यमा त्यहि परिवर्तनहरु समस्याका रुपमा नबल्झिउन् भनेर नै यस अवस्थामा फिजियोथेरापी अावश्यक पर्दछ । यस अन्तर्गत रगतसञ्चालन, स्वासप्रस्वास, हाडजोर्नी तथा मांशपेसी सम्बन्धि गराइने कसरतहरु पर्दछन् तर मैले यहाँ सबैको ध्यानाकर्शण गर्न खोजेको चाहि एउटा यस्तो विषयमा हो जून हाम्रो समाजमा सजिलै चर्चामा अाउदैन । त्यो हो तल्लो भागको अङ्ग (अर्थात पिसाब र दिशा गर्ने) को वरपरका मांशपेसीहरुलाई बलियो बनाउने। यसको कारण शायद यसबारेमा धेरै व्यक्तिहरुलाई थाहा नहुनु वा थाहा भएपनि अति संवेदनशील विषय भएकोले खुलेर भन्न नसक्नु हुनसक्छ ।

अब प्रश्न उठ्नसक्छ तल्लो भागको अङ्गको वरपरका मांशपेसी भन्नाले के जनाउन खोजेको र त्यस्तो ठाँउको मांशपेसी बलियो बनाउने पनि कसरत हुन्छ र ?हाम्रो शरीरमा रहेका विभिन्न अङ्गहरुमध्य तीन अति महत्वपूर्ण अङ्गहरु ‌ कम्मरको हड्डी र मेरुदण्डको बीचको खालिभागमा क्रमबद्धरुपमा बसेका हुन्छन् जून हुन् पिसाबको थैली, पाठेघर र दिशा बस्ने नली। यी अङ्गहरुलाई आफ्नो ठाँउमा हाम्रो शरीरको तल्लो भागको अङ्गको वरपरका मांशपेसीहरुले राखेका हुन्छन् जसलाई हामीले आधुनिक चिकित्सा शास्त्रको भाषामा “पेल्भिक फ्लोर मसल्स” भन्दछम् । गर्भअवस्थामा आउने धेरै परिवर्तनहरु मध्ये पेल्भिक फ्लोर मसल्स अर्थात तल्लो भागको अङ्ग वरपरका मांशपेसीहरुको बल घट्ने वा ती मांशपेसीहरु कमजोर हुनेपनि एउटा महत्वपूर्ण परिवर्तन हो । यी मांशपेसीहरु कमजोर भएमा भविष्यमा पिसाब वा दिशा चुहिने, आङ झर्ने जस्ता जटिल समस्याहरु निम्त्याउन सक्छन् । यसकारणले गर्दा यी मांशपेसीहरुलाई बलियो बनाउने कसरत गर्नु अति आवश्यक छ । त्यस्तो कसरतलाई पेल्भिक फ्लोर स्ट्रेन्धनिङ एक्सरसाइज वा किगल्स एक्सरसाइज भनिन्छ । यो कसरत कसरी गर्ने, कहाँ गर्ने, कति पटक गर्ने जस्ता सबै कुराहरु नजिकको अस्पतालमा गएर फिजियोथेरापीष्टसँग सजिलै बुझ्न र सिक्न सकिन्छ ।

यस पश्चात सबैको मनमा आउने प्रस्न भनेको यो कसरतको फाइदा के हो त भन्ने हुनसक्छ? मैले अगाडि भनेजस्तै तल्लो भागको अङ्गको वरपरको मांशपेसीहरुको बल घटेको हुन्छ र यो कसरतले गर्ने फाइदा सरल रुपमा बुझ्ने हो भने त्यहि बल घटेको मांशपेसीहरुको बल बढाउन सहयोग गर्ने हो । त्यसले गर्दा दिशापिसाब चुहिने समस्या वा आङ झर्ने समस्या आउने सम्भावना पनि घट्दछ र यदि कसैलाई दिशा अथवा पिसाब चुहिने समस्या छ भनेपनि कम गर्न सहयोग गर्दछ । यति मात्र नभई कति महिलाहरुको सुत्केरी हुने क्रममा तल्लो भागको अङ्गको वरपरको मांशपेसीहरु च्यातिएर टाँका लगाउनुपर्ने हुदछ र यो कसरतले त्यो घाँउ छिटो निको पार्न मदत गर्दछ । गर्भवति भएकै बेलाबाट यो कसरत गरेमा सुत्केरी व्यथा लाग्दा बच्चा जन्माउन समेत सजिलो बनाएर ठूलो सहयोग गर्दछ । यति धेरै फाइदा एउटै कसरतबाट हुने भएपछि हरेक महिलासम्म यसको जानकारी पुग्न अति आवश्यक छ ।

यसको लागि सबै स्वास्थ्यसंस्थाले गर्भअवस्था भएका महिलाहरुलाई फिजियोथेरेपीष्टसँग सल्लाह लिन पनि प्रोत्साहन गर्न जरुरी छ भने महिला स्वास्थ्यकर्मीहरुलाई महिलाहरुलाई शिक्षा दिँदा ‌यस सम्बन्धि पनि सिकाउन तालिम दिन जरुरी देखिन्छ । पछि समस्या निम्त्याउनु भन्दा पहिलै जग बलियो बनाउनुनै बुद्धिमानि काम हुने भएकोले यस विषयमा सबैजना मिलेर अगाडि बढेको नै विवेकशील निर्णय हुनेछ ।

(डाक्टर पौडेल देवदह मेडिकल कलेजमा कार्यरत फिजियोथेरापिष्ट हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra