शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

महिनावारीका कुरा – अभिनेत्री स्वस्तिमा खड्का

  • प्रकाशित मिति : मङ्लबार, पुस ८, २०७६


महिनावारीका कुरा – अभिनेत्री स्वस्तिमा खड्का

अभिनेत्री स्वस्तिमा खड्का पहिलो महिनावारी बार्न सात दिन आफ्नो मामाघर गएर बसिन्। त्यो बेला उनी पन्ध्र वर्षकी थिइन्।

मामाघरमा आफ्नै उमेरकी बहिनीसँग खेल्न पाउने कुराले निकै खुसी थिइन्। वास्तविकता भने उनको सोचभन्दा तितो थियो। उनलाई कोठामा कसैलाई छुन नपाउने सर्तमा एक्लै थुनेर राखियो।

घरपरिवारबाट महिनावारीबारे ज्ञान नपाए पनि स्वस्तिमा साथीहरूका अनुभवबाट सचेत थिइन्। उनलाई महिनावारी प्रक्रिया, सरसफाइ र स्वास्थ्यमा ध्यान पुर्‍याउनु पर्ने कुराहरू थाहा थियो। अज्ञात त समाजका अन्धविश्वासबारे थिइन्।

‘महिनावारीको भएको महशुस हुँदा आमालाई भन्न डराएकी थिएँ,’ स्वस्तिमा भन्छिन्, ‘घरमा कहिल्यै यी विषयमा कुरा भएन। त्यही कारणले पहिलोपटक महिनावारीमा सामना गर्नुपर्ने रोकतोकले अत्ताएको थियो।’

बार्न थालेको केही दिनमै उनलाई आफ्नो घरको याद आयो। केही समय बिराएर आमा भेट्न आउँदा भक्कानो छोडेर रून्थिन्। बुबा र भाइलाई देख्न नपाउँदाको पीडा बेग्लै।

छोइछाइ गर्न नहुने चलन स्वस्तिमाका निम्ति यातना बनेको थियो। यसको प्रभावले उनका पछिका दिन फेरिए। पहिलोपटक बार्नु परेको अनुभवका डरले उनले घरमा महिनावारी भएको कुरा भन्नै छाडिन्।

बार्ने कुरामा धेरै कडाइ नभएकाले पनि कसैले उनको महिनावारी भएको-नभएकोबारे गम्भीर भएनन्। आमा धर्मकर्ममा सचेत भएकाले स्वस्तिमा महिनावारीका कुरा नगरी मन्दिर जान्थिन्।

‘एकपटकको कुरा, भाइटीका नजिकिँदै थियो। त्योसँगै मेरो महिनावारी हुने समय आएको थियो,’ उनले सेतोपाटीसँग अनुभव साटिन्, ‘म भाइटीकाकै दिन महिनावारी भएँ। टीका लगाउन नपाउने चिन्ताले मैले कसैलाई थाहै नदिई सबै काम सकियो।’

महिनावारीमा दाजुभाइ वा बुवालाई छोएमा उनीहरू बिरामी हुने कुरा अन्धविश्वास मात्र रहेको उनले त्यही बेला प्रमाणित गरिन्। बिस्तारै महिनावारी सम्बन्धित अन्य कुचलनविरूद्ध उनले यसरी नै पाइला चालिन्।

यो प्रयासमा स्कुलले झनै सहज बनाएको स्वस्तिमाको भनाइ छ। महिनावारीका विषयमा भएको विस्तृत पढाइ र शैक्षिक कार्यक्रमहरूले उनको आत्मबल बलियो भयो। अन्य विद्यार्थीझैं उनले स्कुलमा प्रजनन स्वास्थ्य हिच्किचाएर पढ्नुपरेन। यो कुरामा उनी आफूलाई भाग्यमानी ठान्छिन्।

शिक्षकशिक्षिका र शैक्षिक प्रणालीले महिनावारी शिक्षालाई प्राथमिकता दिए पनि विद्यार्थी आफैंमा डर र लाज जीवितै रहेको स्वस्तिमाले महशुस गरिन्। साथीहरूले हरेक महिना महिनावारी बार्ने कथा सुनाउँदा उनको मनमा धेरै प्रश्न उठ्थे।

‘हाम्रो पुस्ता सही र गलत छुट्याउन सक्षम छ,’ भन्छिन्, ‘तर पनि पुराना चलनचल्तीको प्रभाव केही हदसम्म कायम देखिन्छ। धर्मका कुरामा उनीहरूको मनमा अझै पनि डर छ र महिनावारी बार्ने-नबार्नेमा दुविधा छ।’

आफूले पाएको ज्ञानमा सधैं दृढ रहने भएकाले पनि बार्ने चलन कहिल्यै नरुचाएको बताउँछिन्। झुटो बोलेर होस् वा लुकाएर, उनले महिनावारीलाई आफ्नो काममा बाधा बन्न दिइनन्।

उनी आफूसँगै आफ्नो परिवार र साथीहरूलाई यस विषयमा सचेत बनाउने प्रयासमा लागिरहेकी थिइन्। सानैदेखि नजिक रहेकालाई बुझाउन त धेरै समस्या परेन तर बिहेपछि अलि मुश्किल भइहाल्यो।

नयाँ घरमा उनले महिनावारीबारे पुरानै मानसिकता भेटिन्।

बिहेको भोलिपल्ट महिनावारी भएका कारण श्रीमानसँग सुत्न रोक लगाइएको घटना स्वस्तिमालाई अझै याद छ। नौलो घर र नयाँ परिवारबीच एक्लै प्रतिवाद गर्न उनले सकिनन्। उनलाई कसैको समर्थनको जरूरी थियो र ती व्यक्ति उनकै श्रीमान बने।

भन्छिन्, ‘घरमा सबैले बार्ने कुरा गर्दा निश्चलले यसको विरूद्धमा बोल्नुभयो। त्यस दिनदेखि बार्ने चलन मान्नुपरेको छैन।’

महिनावारीका सामाजिक समस्याका साथै शारीरिक र मानसिक समस्या पनि हुन्छन्। पेट, कम्मर दुख्नेदेखि मुड खराब हुने लगायतका समस्यालाई ‘पिएमएस’ अर्थात् ‘प्रि–मेन्सट्रुअल सिन्ड्रम’ भनिन्छ।

स्वस्तिमालाई पनि सामान्य पेट दुख्ने र मुड परिवर्तन हुन्छ। गम्भीर भएर कामै गर्न नसक्ने अवस्था भने अहिलेसम्म भएको छैन। तर हरेक महिलालाई महिनावारी बेला शारीरिक र मानसिक सहजताको वातावरण दिन जरूरी रहेको उनी बताउँछिन्।

‘यो अवस्थामा शारीरिक स्वास्थ्य महिलाअनुसार फरक हुन्छ। कसैले कम हुन्छ, कसैलाई धेरै,’ उनले भनिन्, ‘पिएमएस लक्षण जति सामान्य देखिन्छ, उति नै गम्भीर हुनसक्छ। अझै पनि यसबारे अधिकांश मान्छे सचेत देखिँदैनन्।’

उसो त महिनावारीको समस्या कार्यक्षेत्रमा पनि उत्तिकै हुन्छ। स्वस्तिमा भने कार्यक्षेत्रमा पुरुषहरू बढी भए पनि आफूले अप्ठ्यारा परिस्थिति झेल्नु नपरेको बताउँछिन्।

भन्छिन्, ‘अहिलेसम्म सँगै काम गर्ने साथीहरू सहयोगी रहनुभएको छ। मलाई गाह्रो भएका बेला बिना हिच्किचाहट प्याड किनेर ल्याइदिनुहुन्छ।’

महिनावारी सामान्य प्राकृतिक नियम मान्ने स्वस्तिमा अरूलाई पनि त्यही मानसिकता राख्न सुझाउँछिन्। सरसफाइ र स्वास्थ्यका नाममा महिनावारी बार्न लगाइएको कुरामा उनी सहमत छैनन्।

‘महिनावारीजस्तो सामान्य विषयलाई धर्मकर्मसँग जोडेर धेरै दबाब दिएर सोच्नैपर्दैन,’ स्वस्तिमा भन्छिन्, ‘यो प्राकृतिक प्रक्रिया मात्र हो भन्ने ज्ञान सबैमा पुर्‍याउन अत्यावश्यक छ। यसका लागि फिल्म क्षेत्रले पनि महिनावारीसम्बन्धी जानकारीमूलक फिल्म बनाएर सहयोग गर्नसक्छ।’

स्रोत : सेतो पाटि

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra