मानिसले भगवानलाई धेरै खुसी हुँदा अनि दु:खको बोझले असह्य हुँदा सम्झिन्छ। त्यसैले त मन्दिरको पर्खालले भन्दा हस्पिटलको कुनाले भगवानको धेरै पुकार सुनेको हुन्छ ।
एकातर्फ अबोध शिशुको जन्म अनि अर्कोतर्फ सासको अन्तिम क्षण यहि अस्पतालको शैया हुने गर्दछ ।
म अस्पतालको आइ . सि . यु युनिटमा विगत दुई वर्षदेखि कार्यरत छु ।
हुन त स्वास्थ्यको विषयमा हामी सम्पूर्ण अति नै होसियार तथा संवेदनशील हुनु अनि समयलाई चिन्नु अत्यन्त जरुरी छ तथापि आइ .सि .यु. ले मलाइ समयको महत्त्व बुझायो , एक सेकेन्डले पनि बिरामीको ज्यान बचाउन सकिन्छ भन्ने महसुस गरायो ।
खुसी के हो ?
खुसी त्यो हो , जतिबेला बेडमा पल्टिएको बिरामीले अब यो संसार छोड्छ भनेर सबैले आस मारेका हुन्छन् तर त्यो बिरामी सबैको अथक प्रयासले बाँच्छ , अनि उसको परिवारको त्यो आँसुको थोपालाई हेर्दै जब बिरामी बोल्छ ,” सिस्टर धन्यवाद !! ”
बिरामी वार्डमा सारिन्छ अनि जब अस्पतालबाट डिस्चार्ज हुने समय आउँछ, फेरि ICU को घण्टी बजाउँदै आएर भावुक मुद्रामा त्यही बिरामी बोल्छ, “सिस्टर हामी घर जाँदैछौँ, पछि आउँदा भेट्छु है ?”
अनि हामी भन्छौँ ,” बिरामी भएर चाहिँ नआउनू ल ,अनि आफ्नो ख्याल राख्नू है ।”
यो पल यस्तो पल हो जुन समयमा आत्मसन्तुष्टि प्राप्त हुन्छ , एउटा खुसी हाम्रो अनुहारमा देखिन्छ ।
धन ठूलो कि मन ?
यो प्रश्नले त्यो बेला अति नै मन दुखाउँछ ,जब बिरामीको परिवार पैसाको कारणले उपचार गराउन सक्दैनौँ भनेर घर लैजान्छु भन्छन् । अस्पतालको तर्फबाट गर्ने सहयोग गर्नेछौँ भन्दाभन्दै पनि त्यो बिरामी लाई चिकित्सकको सल्लाह विपरीत घर लैजान्छ्न् , लाग्छ उसको जीवन एउटा कागजको खोस्टाको अभावले छोट्टिदै छ !!
हुन त सबैका आफ्ना-आफ्ना समस्या हुन्छन् तर के उसको आर्थिक समस्या आफ्नो ज्यानभन्दा ठूलो हुन्छ होला त? अवश्य पनि हुँदैन।
अहिले नेपाल सरकारले स्वास्थ्य बिमाको थालनी गरेको छ , यो बिमा कार्यक्रमले सबै नेपालीलाई फाइदा गरोस् , देशको हरेक कुनामा स्वास्थ्य सुविधा पुगोस् , धेरै कार्य गर्न बाँकी छ , छिट्टै पूरा गरोस् , कोही नेपालीले पैसाको अभावमा अकाल मृत्युको भागीदार बन्नु नपरोस् !
(लेखक देवदह मेडिकल कलेजमा कार्यरतङ
नर्सिङ सुपरभाइजर / आई. सि. यु इन्चार्ज हुनुहुन्छ ।)