बुटवल । नेकपा एमाले,रुपन्देहीकाे स्वास्थ्य तथा जनसंख्या विभागले शनिवार बुटवलमा स्वास्थ्य गाेष्ठी एवम् नियमित स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न गरेकाे छ । गाेष्ठीमा रुपन्देहीको समग्र स्वास्थ्य स्थिति र रणनीतिक सुझाव सम्बन्धमा डा. सागर न्याैपानेले र मिर्गौला समस्या, यसकाे राेकथाम एवम् उपचार पद्धतिका बारेमा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. शक्ति बस्नेतले सहभागीहरुलाई सहजीकरण गरेका थिए । सहजकर्ता डाक्टर बस्नेतले भने ‘दैनिक २ सय लिटर ब्लड छान्ने मृगौलामा हाम्रो ध्यान पुगेको छैन ।’ विश्वब्यापी औषत १० प्रतिशतमा मृगौला खराब देखिएको उनले बताए । मृगौला बिग्रनुको मुख्य कारणमा मधुमेह र उच्च रक्तचाप हुने बताउँदै बस्नेतले खानपान रहनसहनमा ध्यान दिनुपर्ने बताए । ‘जन्मदिनमा केक हैन मृगौला जाँच गरौं ।’—डाक्टर बस्नेतले भने । वर्षमा एकपटक जन्मदिनमा सुगर, युरिया, क्रेटिनन, युरिन एल्भोविनको जाच गरे ८० प्रतिशत मृगौलाको अवस्था थाहा लाग्ने भन्दै यसबाट सचेत बन्न सकिने उनको सुझाव छ ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेकपा एमालेका पाेलिब्युराे सदस्य एवम् लुम्बिनी प्रदेश सभाका एमाले संसदीय दलका नेता लिला गिरीले स्वास्थकर्मीहरुले समृद्व नेपाल निर्माणका लागि आफ्नाे याेग्यता र क्षमतालाई गहन ढंगले प्रयाेग गर्न अनुराेध गर्दै स्वास्थ जनता रहेमा नै देश बलियाे हुन सक्ने बताए ।
गाेष्ठीमा नेताहरु दधिराम न्याैपाने, नेत्र पन्थी,तेजेन्द्र केसी,सुनील श्रेष्ठ,केदार नेपाल लगायतले रुपन्देहीको स्वास्थ्य स्थितिमा सुधार ल्याउन पार्टी सम्वद्व स्वास्थ्यकर्मीहरुले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जाेड दिए । कार्यक्रममा किरण ढकाल र केदार नेपाललाई सम्मान गरिएकाे थियाे । कार्यक्रममा नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका सदस्यहरुकाे सार्थक सहभागिता रहेकाे थियाे ।