काठमाडौं, असार २ । सोमबार बिहान फेसबुकमा आत्महत्या सन्देश लेखेर सम्पर्कविहीन भएका डा. केशव श्रेष्ठ काठमाडौंको बालाजु क्षेत्रमा सकुशल अवस्थामा फेला परेका छन्।
काठमाडौं प्रहरीका प्रवक्ताका अनुसार उनी हाल सुरक्षित छन् र प्रहरी सम्पर्कमा छन्। घटनापछि खोजीमा खटिएको प्रहरी टोलीले सोमबार दिउँसो बालाजु क्षेत्रमा उनलाई फेला पारेको हो। उनका आफन्त र प्रहरी दुवै दिनभर खोजीमा थिए।
यसअघि, स्वास्थ्य मन्त्रालयअन्तर्गत कार्यरत डा. श्रेष्ठले सामाजिक सञ्जालमा लामो सुसाइड नोट लेख्दै आफूलाई प्रशासनिक अन्याय, झुटा आरोप र मानसिक दबाबका कारण आत्महत्या गर्न बाध्य पारिएको उल्लेख गरेका थिए।
रामेछाप जिल्ला अस्पतालमा करिब दुई वर्ष सेवा गरेका डा. श्रेष्ठ हालै हेटौंडा अस्पतालमा सरुवा भएका थिए। फेसबुक स्टाटसमा उनले केही प्रभावशाली व्यक्तिहरूमाथि आरोप लगाउँदै न्याय मागेका थिए।
प्रहरीले डा. श्रेष्ठको मानसिक अवस्था बुझ्ने र घटनाको पूर्ण विवरण संकलन गर्ने कार्य अगाडि बढाएको जनाएको छ।