शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

तिलोत्तमा नगर प्रमुखको नगरबासिलाई अनुरोध

  • प्रकाशित मिति : बुधबार, चैत्र १२, २०७६


तिलोत्तमा नगर प्रमुखको नगरबासिलाई अनुरोध

आदरणीय नगरबासी आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरु !
यतिबेला विश्व नै कोरोना भाइरसको महामारीसँग जुधिरहेको व्यहोरा सबैलाई अवगत नै छ । नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ भने संक्रमणको आशंकामा कतिपयलाई आइसोलेसनमा राखिएको छ । यस्तै कतिपय क्वारेन्टाइनमा छन् । नेपालमा कोरोना संक्रमण फैलन नदिनका लागि लकडाउन गरिएको छ । लकडाउनको अर्थ मानिसबीचको दुरी कायम गर्नु हो । यसैले यो बेलामा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन म सम्पूर्ण नगरबासी महानुभावलाई पुनः अपिल गर्दछु । यो समय हामीहरु बडो संयम हुनुपर्ने बेला हो । अरु बेलाको जस्तो बिदा वा बन्दको रुपमा लकडाउनलाई नलिनुहुन म सबैलाई आग्रह गर्दछु । कोरोना संक्रमणबाट बच्ने एक मात्र उपाय हामीहरु आआफ्नो घरमा बस्नु हो । यो चोक चोकमा जम्मा भएर गफ गर्ने, खेल्ने वा अन्य कार्य गर्ने बेला होइन । एउटा व्यक्तिले हेलचेक्राइँ गर्दा सयौं व्यक्तिको स्वास्थ्य जोखिममा पर्न सक्ने विषयप्रति सचेत रहन म सम्पूर्ण नगरबासीलाई आग्रह गर्दछु ।

आज हामी जनप्रतिनिधिहरुले लकडाउनको अनुगमन गर्दा अत्यावश्यक कामविना पनि सडकमा हिँडेको, चोकमा जुटेको पायौं । बिहान र साँझ चोकमा टहलिने, सडकमा हिँडेको पायौं । यस्तो कार्य तुरुन्त बन्द गर्न म आमनगरबासीलाई आग्रह गर्दछु । बिहान वा साँझ हिँड्दा, जमघट हुँदा पनि संक्रमणको जोखिम उत्तिकै रहन्छ । यसैले लकडाउनलाई बन्द विशेषमा जस्तो साँझबिहान चहलपहल बढाउने हिसाबले नबुझ्न म सबैलाई अनुरोध गर्दछु ।
आदरणीय नगरबासी महानुभाव !
यो विशेष अवस्था हो, त्यसैले तिलोत्तमा नगरपालिकाले नगरका चार वटा स्वास्थ्य चौकीमा ज्वरो, रुघाखोकीको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको छ । कसैलाई ज्वरो, रुघाखोकी लागेमा आनन्दवन, सेमराबजार, शंकरनगर र मधवलिया स्वास्थ्य चौकीमा गई स्वास्थ्य परीक्षण गर्नुहुन म अनुरोध गर्दछु । यस्तै कोराना संक्रमणलगायत स्वास्थ्य समस्या भएमा पैसा नलाग्ने तिलोत्तमा नगरपालिकाको टोल फ्री नंबरमा पनि सम्पर्क राख्नुहुन अनुरोध छ । तिलोत्तमा नगरपालिकाले कोरोना जोखिम पूर्वतयारीका लागि शंकरनगर स्थित शंकरनगर दुर्गादत्त माविमा क्वारेन्टाइन निर्माण गरेको छ । अतः आफ्नो टोलमा हालै विदेश वा भारतबाट आएका व्यक्तिको बारेमा नजिकका जनप्रतिनिधि, स्वास्थ्य चौकी वा टोलफ्री नम्बर १६६०७१५६६६ को टेलिफोनमा सम्पर्क राख्न म सबैमा अपिल गर्दछु ।
स्वास्थ्य चौकीमा चेकजाँच गर्न जाने बिरामीलाई आशंका लागेमा थप परीक्षण र उपचारका लागि बुटवल स्थित धागो कारखाना र भैरहवा स्थित भीम अस्पतालमा स्थापना गरिएको आइसोलेसन अस्पतालमा पठाउनका लागि एम्बुलेन्सको व्यवस्था मिलाइएको छ । सामान्य ज्वरो आउँदा नआत्तिनुहुन र बढी ज्वरो आएमा स्वास्थ्य संस्थामा जानुहुन म सबैलाई अनुरोध गर्दछु ।
अन्तमा, सरकारले गरेको लकडाउन हामीहरुको स्वास्थ्यका लागि हो । यसर्थ यसको पूर्णपरिपालना गरौं । सरकारले दिएको निर्देशनमा हिँड्नु हामी सबैको कर्तव्य हो । कोरोना भाइरसले सानाठूला, धनिगरिब कोही पनि भन्दैन । त्यसैले यो विषयमा सबै सचेत बनौं, आआफ्नो घरभित्र बसौं । यसलाई सरकारलाई गरेको सहयोगको रुपमा मात्र होइन, आफ्नै स्वास्थ्य रक्षाका लागि गरिएको कार्य हो भन्ने बुझौं । अन्तमा लकडाउनले दैनिक ज्यालामजदुरी गरेर कसैलाई साँझबिहानको छाक टार्न अत्यन्त समस्या भएको छ भने आफ्नो टोल विकास संस्थामार्फत् सम्बन्धित वडाध्यक्षलाई खबर गर्नुहुन पनि सम्बद्ध सबैलाई अनुरोध गर्दछु ।

बासुदेव घिमिरे
नगर प्रमुख
तिलोत्तमा नगरपालिका रुपन्देही

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra