सोमवार, साउन ४, २०८३ Monday 20th of July 2026

कविता – “बिन्ती छ भित्रै बस”

  • हिरा भट्ट
  • प्रकाशित मिति : बुधबार, बैशाख ३, २०७७


कविता – “बिन्ती छ भित्रै बस”

एकातर्फ मनुष्य वीर बलिया छन् युद्ध सेनातिर
अर्कोतर्फ अदृश्य जीव अणु छन् संग्राममा हाजिर
मायावी रणमा चराचर भुले पृथ्वी छ युद्धस्थल
चल्दा युद्ध मडारियो गगनमा नैराश्यको बादल ।१।

मान्छेमार्फत पारिलो प्रकृतिमा लागेर धब्बा खिया
बिच्केका अमिबा र भाइरसका छन् साथ ब्याक्टेरिया
कैले प्लेग छ पोलियो छ कहिले कैले इबोला जिका
कोरोना फ्लु सशक्त सार्स भयले छिन् रुष्ट भूवाटिका ।२।

कैयौं जीव उजाडिए भुवनमा मान्छे बनी कारक
झन् लोपोन्मुख जीव आज कति छन् भै जीर्ण बाँच्ने हक
गोली बारुद अस्त्र झन् जहरिला बढ्दा विषादी बम
एकाएक धरा असन्तुलित भै खस्क्यो इकोसिस्टम ।३।

संख्या मानिसको नियन्त्रण हुने गर्थे कुरा माल्थस
भन्थे डार्बिन बाँच्नको मन भए संघर्ष गर्दै बस
बन्दा क्रुद्ध बसुन्धरा प्रलयको आगो जसै बाल्दछ
कैयौं नूतन पाइला भुवनमा विज्ञानले चाल्दछ ।४।

चल्दा तीब्र हुरी ढलेछ बिचरी भञ्ज्याङकी लाँकुरी
ढल्दैनन् सतिसालका रुखहरू आँधी चलोस् वा हुरी
जित्ला युद्ध अवश्य आत्मबलले बढ्दै गरोस् साहस
प्यारा दाजु दिदी र भाइ बहिनी बिन्ती छ भित्रै बस ।५।

छन्द – शार्दूलविक्रीडित

हिरा भट्ट
पञ्चेश्वर – ६,बिजुल,बैतडी
हाल – बुटवल

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra