शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

कोभिड, गर्भवती र जाडो

  • डा बालकृष्ण साह
  • प्रकाशित मिति : आइतवार, मंसिर ७, २०७७


कोभिड, गर्भवती र जाडो

गर्भावस्था आफैंमा एउटा जटिल अनि विशेष अवस्था हो। यस अवस्थामा आमा बन्ने खुसी मात्र जोडिएका हुँदैनन्, गर्भसँग सामाजिक, पारिवारिक र आत्मीय सम्बन्ध रहेको हुन्छ। अझ महत्त्वपूर्ण पक्ष गर्भवतीको स्वास्थ्य अवस्था र उनीसँगै जोडिएको गर्भको शारीरिक विकास र स्वास्थ्य जोडिएको हुन्छ। बललिँदो मौसम र समयसँगै थपिएको चिसोमा के गर्ने होला अनि गर्भको शिशुलाई गाह्रो पो हुन्छ कि ? जिज्ञासा हुनु स्वाभाविक हो। त्यसै त जाडोमा रुघाले सताउने डर थियो, यसपटक त कोभिड– १९ छ। समुदायमै यसको संक्रमण पुगिसकेकाले गर्भवतीलाई तनाव हुनु स्वाभाविक होला।

श्वासप्रश्वास प्रणलीमा संक्रमण गर्ने भाइरस जाडोमा सक्रिय हुने तथा दुःख दिने हुन्छन्। सामान्य वा मौसमी रुघादेखि सारस, इन्फ्लुएन्जाजस्ता भाइरसको संक्रमण जाडोमा बढेको देखिने गरेको छ। गर्मी र सुक्खा मौसमभन्दा चिसोमा भाइरस लामो समयसम्म बाँच्न सक्ने भएकाले संक्रमणको खतरा बढ्ने विज्ञहरूको तर्क छ। जाडोमा घाम कम हुने र यसले गर्दा घामबाट प्राप्त हुने भिटामिन डीको कमी हुने हुन्छ। भिटामिन डीले रोगप्रतिरोधात्मक शक्ति (इम्युनिटी) पनि बढाउने भएको र जाडोमा यसको कमी हुने भएपछि कोभिड– १९ को संक्रमण बढ्न सक्ने अनुमान गरिएको छ।

जाडोमा मानिसको व्यवहारमा पनि परिवर्तन आउने हुन्छ। बन्द कोठा तथा राम्रो भेन्टिेलेसन नभएको ठाउँमा धेरै जना बस्नुले पनि संक्रमण फैलिने सम्भवना बढ्ने जनस्वास्थ्य विज्ञहरूको धारण रहेको छ। सूर्यको किरणमा रहेको अल्ट्राभाइलेट किरणले कोभिड– १९ भाइरसलाई निस्क्रिय बनाउने रहेछ। चिसोमा अल्ट्राभ्यालेट किरण कम हुने र जसका कारण वातावरणमा धेरै समय भाइरस सक्रिय रहने, चाँडै फैलिने तर्क माइक्रोबायोलोजिस्टहरूको रहेको छ। त्यसैले जाडोमा कोभिड संक्रमण फैलिने सम्भावना अलिक बढी हुन्छ भन्दा फरक नपर्ला।

यसको अर्थ जाडो मौसम सुरु हुनेबित्तिकै वा वातावरणीय तापक्रम कम हुँदैमा आत्तिनुपर्ने पक्कै होइन। तर मौसमसँगै आफूलाई स्वस्थ राख्न केही सावधानी अपनाउनै पर्छ। चिसो मौसममा पनि हाम्रो शरीरको तापक्रम स्थिर बनाइरहनुपर्छ। चिसोमा आफूलाई तातो बनाउन सबैभन्दा पहिला पहिरनमा ध्यान दिनुपर्छ। मौसमअनुसारको बाक्लो र तातो पहिरन रोज्नुपर्छ। शरीरलाई पूर्णरूपले ढाक्ने तर खुकुलो लुगा रोज्नु उपयुक्त हुन्छ। गला (घाँटी), कान, खुट्टा छोप्ने गरी लुगा लगाउने, मास्क अनि जुता लगाउनु राम्रो हुन्छ। पहिरणले चिसोबाट जोगाउनुका साथै मौसम परिवर्तनले सताउने मौसमी रुघा तथा अन्य भाइरल संक्रमणबाट पनि जोगाउँछन्। विदेशतिर गर्भवतीले रुघामर्की तथा भाइरल संक्रमणबाट भ्याक्सिन लगाउने प्रचलन पनि छ। हुन त कोभिड– १९ लगायत अन्य श्वासप्रश्वासमा संक्रमण गर्ने भाइरसको विरुद्धमा कुनै खोप नेपालमा उपलब्ध छैन। तर पनि नेपाली गर्भवतीको स्वास्थ्य अवस्था निकै कमजोर छैन।

जाडो मौसम आयो भनेर गर्भवतीले आत्तिनुको साटो मौसमअनुसार सावधानी र सर्तकता अपनाउन जरुरी छ।
यस मौसममा गर्भवती महिला धेरै बाहिर बस्नेभन्दा पनि न्यानो तर नगुम्सिएको कोठामा बसेको राम्रो हुन्छ। गर्भवती बस्ने कोठामा राम्रो भेन्टिलेसन हुनुपर्छ र घाम लाग्ने हुनुपर्छ। कोभिड– १९ बाट बच्न अझ उच्च सर्तकता अपनाउनुपर्छ। यसका लागि सधैं झैं भीडभाडमा नजाने, मास्क प्रयोग गर्ने, हात धुने बानी बसाउनेसँगै भिटामिन सी र प्रोटिनयुक्त खानेकुरा प्रशस्त सेवन गर्ने र भिटामिन डीका लागि बिहानको पारिला घाम ताप्ने गर्नु उपयुक्त हुन्छ।

यस मौसममा चिसो, मौसमी रुघा र कोरोनाको भयसँगसँगै गर्भवतीलाई अन्य केही समस्याले पनि पिरोलिन सक्छ। चिसोमा पानी भन्नेबित्तिकै धेरैको सातो जान्छ। यस मौसममा पानी छुनु, नुहाउनु अनि पिउनुमा कमी आउनु स्वाभाविक हो। तर गर्भावस्थामा पानी प्रशस्त पिउनु आवश्यक हुन्छ। गर्भको वृद्धिसँगै पाठेघर ठूलो हुँदै जान्छ र यसले पिसाब नली (युरेथ्रा) लाई थिच्ने हुन्छ। जसले गर्दा युरिनस्टासिस अर्थात् पिसाबथैलीमा पिसाब सञ्चित हुने हुन्छ। त्यसैले पिसाबथैलीमा ब्याक्टेरियाको वृद्धि हुने र संक्रमण हुने अर्थात् यूटीआई हुने सम्भावना बढी हुन्छ। यूटीआईबाट बच्न पानी तथा झोलकुरा प्रशस्त मात्रामा सेवन गर्नुपर्छ। चिसो पानी पिउन गाह्रो भएमा मनतातो पानी पिउन सकिन्छ र यसका साथै कागतीपानी, महपानी तथा सुप पनि लिन सकिन्छ।

त्यस्तै पानी चिसो छ भन्दैमा सरसफाइमा कमी गर्न मिल्दैन। हुन त संक्रमणबाट जहिले पनि जोगिनुपर्ने हुन्छ र गर्भावस्थामा अझ ध्यान पुर्‍याउनुपर्छ। त्यसैले राम्ररी हात धुने, सफा र सुकिलो लुगा लगाउने, शारीरिक सरसफाइ, भित्री अंगहरूका सफाइ तथा वातावरणीय सफाइमा पनि ध्यान पुर्‍याउनुपर्छ। चिसो मौसम अनि चिसो पानी भनेर यस्ता कुरालाई बेवास्ता गर्नु हुँदैन। खानेकुरा पनि सफा गरेर मात्र सेवन गर्नुपर्छ।

जाडो मौसम छालाका समस्याले थप सताउने गर्छन्। त्यसै त गर्भवतीहरूका छाला फुस्रो अनि चिसो मौसम, त्यसैले छाला फुट्ने, चिलाउने र सुक्खा हुने हुन्छ। छालाको स्याहार अन्य महिलाले जस्तैगरी तेल वा मोइस्चराइजर लगाउने गर्नुपर्छ। गर्भावस्थामा छुट्टै स्याहार होइन बढी स्याहार चाहिन सक्छ। अन्य समयमा जस्तै जाडोमा पनि गर्भवतीले पोसिला खाना, फलफूल तथा झोलिला र रेसादार खानेकुरा बढी खाने गर्नुपर्छ। शारीरिक व्यायाम, नियमित स्वास्थ्य परीक्षण, आराम आदि गर्नुका साथै मानसिक तनाव र भयबाट टाढा बस्न सकेको राम्रो हुन्छ।

जति सावधानी अपनाए पनि गर्भावस्थामा बिमारी नहुने, चिसोले नच्याप्ला भन्न सकिँदैन। यस अवस्थामा बिमारी भए तुरुन्त चिकित्सकसँग परामर्श गर्नुपर्छ। नियमित चिकित्सकसँग परीक्षण गराउने र आवश्यक परामर्श लिने गर्नुपर्छ। धेरै गर्भवती महिलाले चिकित्सकसँग परामर्श गर्न नरुचाउने र कतिले त परामर्श पछि चिकित्सकले लेखेको औषधि पनि सेवन नगरेको पाइन्छ। गर्भावस्थामा आफूखुसी औषधि सेवन गर्नु गलत हो तर चिकित्सकको परामर्शमा वा चिकित्सकले प्रिस्क्राइब गरेको औषधि सेवन गर्नुपर्ने हुन्छ। समयमै आवश्यक औषधि प्रयोग नगर्नाले रोग बढ्ने र जटिलता थपिन सक्छ भन्ने बुझ्न आवश्यक हुन्छ। जाडो मौसम आयो भनेर गर्भवतीहरूले आत्तिनु हुँदैन तर मौसमअनुसार सावधानी र सर्तकता अपनाउन जरुरी हुन्छ।

–साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन्।
अन्नपूर्ण पोष्ट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra