‘आत्महत्या’ व्यक्तिगत कारणहरूका कारण आफ्नो जीवनलाई जानेबुझेर समाप्त गर्ने क्रियालाई जनाउने शब्द हो। यसमा व्यक्ति स्वयंलाई जानीबुझी हानी पुर्याउने वा मर्नको लागि गरिने हरेक क्रियाकलाप समावेश हुन्छन्। हरेक वर्ष सेप्टेम्वर १० मा ‘विश्व आत्महत्या रोकथाम दिवस’ मनाइन्छ । यस वर्ष पनि विश्व स्वास्थ्य संगठनले तय गरेको “आत्महत्या रोकथाम बारे संवाद सुरु गरौँ, दृष्टिकोण बदलौं” भन्ने नाराका साथ नेपाल लगायत विश्वभरी नै यो दिवस मनाउन लागिएको हो । आत्महत्या अक्सर गम्भीर मानसिक र भावनात्मक संकटको परिणामस्वरूप हुन सक्छ ।
नेपालमा आत्महत्याको दर बढ्दो क्रममा रहेको छ। नेपाल प्रहरीको पछिल्लो १० वर्षको तथ्याङ्कको आधारमा औसतमा प्रति वर्ष ५,७५२ मानिसले आत्महत्या गरेको पाइएको छ। यो नेपाल प्रहरीमा दर्ता भएका सबै मुद्दाको औसत १६ प्रतिशत हो । उक्त सङ्ख्यालाई जनगणना २०७८ को तथ्याङ्क अनुसारको जनसङ्ख्याका आधारमा विश्लेषण गर्दा औसतमा वार्षिक रूपमा कुल जनसङ्ख्याको ०.०१ प्रतिशत व्यक्तिले आत्महत्या गर्ने गरेको पाइएको छ। आर्थिक वर्ष २०७९/८० मा पुरुष ३९४२, महिला २२५६, बालक २६६ र बालिका ४५९ जनाले आत्महत्या गरेको पाइएको छ । प्रस्तुत तथ्याङ्कले समग्रमा महिलाको तुलनामा पुरुषले बढी आत्महत्या गर्ने गरेको र बालकको तुलनामा बालिकाहरूले बढी आत्महत्या गर्ने गरेको देखाएको छ । विश्वमा आत्महत्या कुल मृत्युको पन्ध्रौँ प्रमुख कारण, १५-१९ वर्ष उमेर समूहमा मृत्युको चौथो प्रमुख कारण र महिलाहरूमा तेस्रो प्रमुख कारणको रुपमा रहेको छ। विश्वमा हरेक ४० सेकेण्डमा एक जना मानिसले आत्महत्या गर्ने गरेका छन् । १२ वैशाख २०७२ को महाभूकम्पपछि पनि आत्महत्या दर ४१ प्रतिशतले बढेको थियो। यसले नेपालमा आत्महत्या रोकथामका लागि मानसिक स्वास्थ्य सेवाहरूमा सुधार, जनचेतना अभियान र प्राकृतिक विपत्तिको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखाउँछ।
कुनै व्यक्तिमा आत्महत्या गर्ने सोच आएको कसरी थाहा पाउने ? यो महत्त्वपूर्ण पक्ष हो । जस्तो कि यस्तो व्यक्तिका क्रियाकलाप अवलोकन गरेको मान्छेले उसमा निराशा, उदासी, र एक्लोपनको भावना अनुभव गर्न सक्छ । उनीहरूको मूडमा अचानक परिवर्तन वा चिडचिडापन पनि देखिन सक्छ । जीवनका सामान्य चीजहरूमा चासो घट्नु, जस्तै सामाजिक गतिविधिहरूमा भाग नलिनु वा प्रियजनहरूसँगको सम्बन्धमा दूरी राख्नुजस्ता व्यवहार पनि देखिन सक्छन्। आत्महत्याको विचारमा रहेका व्यक्तिहरूले आत्म-नाशक व्यवहारमा संलग्न हुन सक्छन्, जस्तै मादक पदार्थको अत्यधिक सेवन गर्नु, आत्महत्या गर्ने विचारहरू व्यक्त गर्नु; जस्तै “म यहाँबाट जान चाहन्छु” वा “मैले यो जीवन सहन सक्दिन……आदि।” यस्ता व्यक्तिले साथीभाइ र परिवारबाट टाढा हुने प्रयास गर्न सक्छन्, जसले एक्लोपनको भावना बढाउँछ। अनिद्रा, थकान, वा शारीरिक स्वास्थ्यमा गिरावट जस्ता लक्षणहरू पनि देखिन सक्छन्। यदि यस्ता संकेतहरू देखिन्छन् भने, तत्काल मनोवैज्ञानिक परामर्श वा सहयोगको खोजी गर्नु अनिवार्य छ।
‘ऋण तिर्न नसक्दा युवाले गरे आत्महत्या’, ‘दाइजोको कारण विहे भाँडिएपछि युवतीद्वारा आत्महत्या’, ‘प्रेममा धोका पाएकी युवतीद्वारा आत्महत्या’, ‘संसद भवन अगाडि प्रेम आचार्यले गरे आत्मदाह’ पछिल्ला केही वर्षयता पत्रिकाहरुको शीर्षक बनेर सतहमा आएका यी प्रतिनिधि घटना मात्रै हुन्। सतहमा देखिएको भन्दा कैयौँ गुणा विकराल समाजिक समस्याको रुप लिइसकेको छ आत्महत्याले। माथिका शीर्षकहरुबाट सहजै अनुमान गर्न सकिन्छ कि आत्महत्याका पछाडि एक मात्र ठोस कारण छैन। आत्ममूल्य र आत्मसम्मानमा कमी अनुभूति, आफूलाई अपमानित वा असफल अनुभव गर्नु, डिप्रेशन, चिन्ता, विकार, मानसिक स्वास्थ्य समस्याहरू, आर्थिक कठिनाइ, प्रेम सम्बन्धमा समस्या, पारिवारिक विवाद, व्यस्त जीवनशैली, एक्लोपन आदि आत्महत्यका हुन सक्छन्।
आत्महत्या समस्याको समाधान होइन; यसलाई रोक्न र मनोवैज्ञानिक सहयोगको माध्यमबाट उपचार गर्नुपर्छ। सही समयमै समर्पित समर्थन र चिकित्सकीय सहायता प्रदान गर्दा आत्महत्या रोक्न सकिन्छ ।
आत्महत्या रोक्नका लागि व्यक्ति, परिवार, समाज र राज्यको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। हरेक व्यक्तिले आत्ममूल्य र आशा बलियो राख्नको लागि मनोबल बनाइराख्नु महत्त्वपूर्ण छ। कुनै अप्ठ्यारो महसुस भएमा आवश्यक सहयोग खोज्नु, मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श गर्नु आवश्यक हुन्छ । तत्काल भौतिक रुपमा मानसिक स्वास्थ्य विशेषज्ञसँग भेट्न सम्भव नभएमा आत्महत्याको सोच भएका व्यक्तिहरूका लागि नेपालमा ११६६ नम्बरको हेल्पलाइन उपलब्ध गराइएको छ। यसमा निःशुल्क मनोपरामर्श सेवा प्रदान गरिन्छ । हरेक व्यक्ति परिवारसँग अनुबन्धित रहने हुँदा परिवारका सदस्यले मानसिक स्वास्थ्यको समस्या बुझ्ने र त्यसमा सहयोग पुर्याउनुपर्छ। सकारात्मक र सुरक्षित पारिवारिक वातावरण सिर्जना गर्नुपर्छ, जसले आत्महत्या र अन्य आत्म-नाशक व्यवहारलाई कम गर्न सहयोग पुर्याउँछ । आत्महत्या रोक्न समाज पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ । समाजले मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको बारेमा जागरूकता फैलाउने र शिक्षा प्रदान गर्नुपर्छ। आत्महत्या गर्ने सोच भएका व्यक्तिहरूसँग खुला र संवेदनशील संवाद गर्नु महत्त्वपूर्ण छ। उनीहरूको भावनाहरूलाई सुनिदिनु र समर्थनको भावना प्रदान गर्नुले उनीहरूलाई राहत दिन सक्छ। मिडियाले पनि संवेदनशील र जिम्मेवार रिपोर्टिङ गर्ने । सामाजिक सञ्जालमा सही सूचना, संवेदनशील र जिम्मेवार भएर साझा गर्नु महत्त्वपूर्ण पक्ष हो । समाजमा रहेका स्वयंसेवी संगठन, हेल्पलाइन सेवाहरू र समर्थन समूहहरू स्थापना गरेर आत्महत्या रोक्न मद्दत गर्न सकिन्छ। परिवार र समाजले मानव जीवन महत्त्वपूर्ण छ भन्ने भावनाको विकास गर्दै आशा र विश्वासको सञ्चार गर्दै प्रेरणादायक उद्धरण र सन्देशहरू सम्बन्धित व्यक्तिसम्म पुर्याउनुपर्छ । यसले मानिसहरूमा सकारात्मक सोच र जीवनप्रति आशा जगाउन मद्दत पुर्याउँछ। राज्यले मानसिक स्वास्थ्यसम्बन्धि नीतिहरू र कार्यक्रमहरू लागू गर्नुपर्छ जसले आत्महत्या रोकथामलाई प्राथमिकता दिन्छ। साथै मानसिक स्वास्थ्य सेवा र परामर्शको पहुँच बढाउनु र यसको सहज उपलब्धता सुनिश्चित गर्नु आवश्यक छ । उल्लेखित पक्षहरूको एकीकृत प्रयासले आत्महत्या रोक्न र मानसिक स्वास्थ्य सुधार्न महत्वपूर्ण भूमिका खेल्न सक्छ।
आत्महत्या रोकथाममा सबैको सहकार्य अत्यन्त आवश्यक छ। मानसिक स्वास्थ्य समस्याहरूलाई बुझ्न र स्वीकार्न सक्नु महत्त्वपूर्ण छ र यसका लागि समाजको समर्थन र जागरूकता आवश्यक छ। मानसिक स्वास्थ्यको महत्वलाई आम मानिसहरुमाझ ल्याउन र यसको सम्बन्धमा सहानुभूति मात्रै होइन समानुभूति विकसित गर्न शिक्षात्मक पहल गर्नुपर्छ। स्वास्थ्य सेवा प्रणाली मानसिक स्वास्थ्य सेवाहरूलाई सहज र पहुँचयोग्य बनाउन आवश्यक छ। यसमा काउन्सिलिङ, चिकित्सा उपचार, र आपतकालीन सेवाहरू समावेश हुनुपर्छ। साथै, पारिवारिक र सामाजिक संरचनाले मनोबल बढाउने, भावनात्मक समर्थन दिने र व्यक्तिको समस्यामा ध्यान दिने भूमिका निर्वाह गर्नुपर्छ। समाजमा आत्महत्या र मानसिक स्वास्थ्यका विषयमा खुल्ला वार्ता गर्न प्रोत्साहित गर्नाले, लाज र कलंकलाई हटाउनमा मद्दत पुग्दछ। यसप्रकार समग्रमा एक समन्वित र सहकारी दृष्टिकोणले आत्महत्या रोकथाममा महत्वपूर्ण योगदान पुर्याउन सकिन्छ।