आत्म र हत्या शब्द मिलेर आत्महत्या शब्द निर्माण भएको हो। यसको अर्थ आफुले आफैलाई हत्या गर्नु वा आफु आफै समाप्त हुनु हो। हुनत आत्महत्या पहिला पनि हुँदो हो तर सामाजिक सञ्जाल र सञ्चार माध्ययमका कारणले होला आजभोलि आत्महत्याका खबर छिट्टै बाहिर आउँछन् । कतै हत्यालाई आत्महत्या घोषणा गरिन्छ । कतै आत्महत्या गर्न वाध्य पार्ने वातावरण तयार गरिन्छ अनि कतै हत्या नै गरेर पनि आत्महत्या हो भन्नेतिर कुरा र प्रमाणहरु लगिन्छ । जे होस्, आत्महत्या अहिले जटिल समस्या बनिरहेको छ । एकातिर आफ्नो आत्मसम्मान र पहिचानका खातिर मानिस अनेक दुःख संघर्ष गरिरहेको छ भने अर्कोतिर आत्महत्याका कारण ज्यान गुमाउनेको संख्या बढीरहेको छ। आत्महत्याको विषयमा फैलिइरहेको परम्परागत सोंचमा परिवर्तन ल्याउने र समयमै संवाद थाल्न सक्ने हो भनेमात्र आत्महत्याको वढ्दो दर घटाउन सकिन्छ ।
हाम्रो समाजमा अझैपनि आत्महत्या गर्ने मानिसलाई स्वार्थी, हुती नभएको, गल्ती गरेकाले मुख देखाउन गाह्रो भएको, केटा वा केटी साथीको आशक्ती, परपुरष तथा परस्त्रीसँगको सम्बन्ध परिवार चलाउन नसक्ने, अधिक ” ऋणजस्ता अनेक लाञ्छना लगाइन्छ । जीउँदो रहुञ्जेल उसले पिडा नसुन्ने र तर्कन खोज्नेहरु उसको आत्महत्या वा हत्याको घटना भएमा अनेक तर्कवितर्क गर्छन् । उजुरबाजुर हुन्छ । छानविन समिति बन्छ र अनुसन्धान हुन्छ । क्षतिपुर्तीका लागि मोलमोलाइ हुन्छ । सडक तताउँछन् अनि हत्या वा आत्महत्याको कारण खोतल्छन् । स्वर्गीय व्यक्तिको फोटो हेरेर रुन्छन् । सामाजिक सञ्जालमा पोष्ट्याउँछन्। पोष्टमार्टम अनुसन्धान तथा घाट मलाल जाँदा र काजकिरियामा समेत मानिसहरु चाहिदा नचाहिदा तर्क वितर्क गर्छन् र आत्महत्या गरेका मानिसहरुलाई पटक पटक मारिरहेका हुन्छन् । यो सुन्दा र देख्दा लाग्छ आजका मानिसमा मानवीय संवेदना भन्ने चिज हराइरहेको छ ।
पारिवारिक वेमेल, समझदारीको अभाव, विभिन्न प्रकृतिका विभेद, अपमान, भेदभाव, हिंसा, यातना आदिका कारण मनमा परेको चोट वढ्दै गएपछि मानिस आत्महत्याको अवस्थामा पुग्छ । जीवन संघर्षपूर्ण हुन्छ तर मानिसहरु आफुमा आइपरेका समस्याबारे चिन्तनभन्दा चिन्ता गर्ने गर्दछन् । यसले व्यक्तिमा उदाशिनता बढ्छ । नकारात्मकपन बढ्छ र बाँचेर अनेक सहनभन्दा मरे हाइसुख्ख भन्ने ठान्छन् । पारिवारिक, आर्थिक, सामाजिक, राजनीतिक अनेक पृष्ठमूमिबाट आत्महत्याको विचार जन्मिन्छ । एक तथ्यांककाअनुसार विश्वमा प्रत्ययक ४० सेकेण्डमा ९ जनाले आत्महत्या गर्छन् । आत्महत्या गर्नेमा महिलाभन्दा पुरुषको संख्या वढी छ । नेपालमा झुण्डीने, विष सेवन गर्ने, हाम फाल्ने, आफैले आफुमा आगो लगाउने जस्ता उपाए गरेर आत्महत्याको प्रयास गर्ने गरेको पाइन्छ । मानसिक आवेग र उदासिपन यसको मुख्य कारण हो ।
आत्म हत्याको कलङ्कबाट छुटकारा पाउन र आत्महत्या न्यूनिकरण गर्न गतिलो औषधी भनेको पिडामा रहेका व्यक्तिसँगको संवाद नै हो। यसले उसको पिडालाई मानवताको नजरले हेर्न र सहानुभूति प्रदान गर्न सहयोग पुर्याउँछ । आत्म हत्या व्यक्तिको कमजोरी होइन यो त मानसिक स्वास्थ्यको समस्या हो भन्ने बुझ्नु आवस्यक छ । पिडितलाई दोष दिएर उम्कने होइन आत्महत्याको जोखिममा रहेका व्यक्तिसँग संवाद गरी उनीहरुको समस्यामा समर्थन गर्दै सहयोग गर्न आवस्यक छ। समानुभूति र शक्ति प्रदान गर्नेगरी कुरा गर्नु जरुरी छ । आत्महत्यावारेको धारणा परिवर्तन गरी यसको न्यूनिकरणका लागि व्यक्तिमा परेको समस्या र संड्टको विषयमा विना डर अनुभव वाड्न सक्ने वातावरण र सम्यन्त्र तयार गर्नु आवस्यक छ । यसकालागि विद्यालय, स्थानीय पालिका तथा मानसिक
स्वास्थ्यमा कामगर्ने संघसंस्थाको भूमिका महत्वपूर्ण हुन्छ । व्यक्तिगत, पारिवारिक तथा सामाजिक दबाव भित्र आत्महत्या गर्ने सौंच लुकेर रहने भएकाले व्यक्ति परिवार, नजिकका साथी र समाजले यसमा ध्यान केन्द्रीत गरी संवाद थाल्न ढिला भैसकेको छ ।
(सेप्टेम्बर १० विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा गत शनिबार बुटवलमा घुम्ने किताब, पाठक मञ्च, नेपाल मनोचिकित्सक संघ र नेपाल सामाजिक मानसिक स्वास्थ्य संघको संयुक्त रुपमा आयोजित निबन्ध लेखन / वाचन कार्यक्रममा द्वितीय स्थान हासिल गर्न सफल देवदह मा वि देवदहमा कक्षा ८ मा अध्ययनरत दिपेश गिरीको निबन्ध)