शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

धूम्रपानले आँखालाई पुर्‍याउँने असर

  • उमेश बेल्बासे
  • प्रकाशित मिति : सोमवार, भदौ ३०, २०७६


धूम्रपानले आँखालाई पुर्‍याउँने असर

उमेश बेल्बासे
धूम्रपानले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने कुरा धेरैलाई जानकारी छ । धूम्रपानले क्यान्सर, श्वासप्रश्वासको समस्या, मुटुरोग, पाचन प्रणालीमा समस्या जस्ता दीर्घकालीन रोग निम्त्याउनुका साथै यौन तथा प्रजनन स्वास्थ्यमा पनि नकारात्मक असर गर्छ ।

अमेरिकामा गरिएको अनुसन्धानलाई आधार मानेर हेर्दा धूम्रपान नगर्ने मनिसको भन्दा धूम्रपान गर्ने मनिसको मृत्युरदर तीन गुणा धेरै रहेको पाइएको छ । धूम्रपान गर्दा धुँवाको माध्यमबाट शरीरमा प्रवेश गर्ने टार, निकोटिन, एसिटोन, कार्बोनमोनोओक्साइड जस्ता पदार्थले चुरोटको लत बसाल्नुका साथै स्वास्थ्यमा हानि पुर्याउन ठूलो भूमिका खेलेका हुन्छन् ।

एक पटक धूम्रपान गर्दा लगभग ४ हजार हानिकारक तत्व शरीरमा प्रवेश गर्छन् र यी मध्ये मात्र ५० तत्व क्यान्सर रोग लगाउन र मृत्यु्को मुखमा पुर्याउन प्रयाप्त छन् ।

धूम्रपानले शरीरका अन्य अंगमा जस्तै आँखामा पनि असर गर्छ । यहाँ धूम्रपानले आँखामा गर्ने असरका बारेमा सारांशमा जानकारी गराउन खोजेकोछु ।

धूम्रपानले आँखाको स्वास्थ्य तथा दृष्टिमा गम्भीर असर गरी न्यून दृष्टिदेखि अन्धोपनसम्म बनाउन सक्छ ।

धूमपानले आँखामा गर्ने असर

आँखा सुक्खा हुनु

धूम्रपान नगर्नेभन्दा गर्ने मनिसमा आँखा सुक्खा हुने समस्या लगभग दुई गुणा बढी पाइएको छ । आँखा सुक्खा हुँदा चिलाउने, बिझाउने, पोलेको जस्तो महसुस हुने जस्ता लक्षण देखा पर्छन् ।

चुरोटजन्य पदार्थको सेवनले आँखामा आसुँको मात्रा कम गराउने हुँदा विशेषगरी आँखामा कन्ट्याक्ट लेन्स प्रयोग गर्ने मनिसलाई धूमपान नगर्न सुझाव दिइन्छ। धूमपान गर्दा आँखाको सम्पर्कमा आउने धुँवा र यसमा हुने हानिकारक केमिकलले आसुँको तहलाई बिगार्ने हुँदा पनि सुक्खा आँखाको लक्षण बढेर जान्छ।

मोतिबिन्दु
मोतिबिन्दु उमेर बढेसगै आँखाको लेन्समा आउने परिवर्तन हो, जसले लेन्सको पारदर्शीता घटाउने गर्छ। मोतिबिन्दु भएमा दृष्टि र देख्ने क्षमतामा कमी आउँछ। सामान्य रुपमा मोतिबिन्दु ५० वर्षको उमेरपछि देखिने समस्या हो तर धूमपान गर्ने वा सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिसमा मोतिबिन्दु सामान्य उमेरभन्दा दुई गुणा धेरैर छिटो देखिने गरेको पाइएको छ।

धूमपानभन्दा पनि सूर्ती सेवन गर्ने मनिसमा मोतिबिन्दु अझ छिटो पलाउने गरेको पाइएको छ। अनुसन्धानको क्रममा धूमपान गर्ने र सूर्ती सेवन गर्ने मनिसको रगतमा क्याडमियम नामक तत्वको मात्रा धूमपान नगर्ने मानिसको भन्दा २-३ गुणा बढेको पाइयो जसको कारणले मोतिबिन्दु छिटो पलाउने हुन्छ।

एआरएमडी
एआरएमडीको पूरा रुप एज रिलेटेड म्याकुलर डिजेनेरेसन हो। वृद्ध अवस्थामा देखिने यो समस्या लगभग ७० वर्ष नाघेपछि देखिन्छ। यो रोगले आँखाको पर्दा अर्थात् रेटिनाको मुख्य भाग जसको मद्दतले देख्ने गरिन्छ, त्यो भाग अर्थात् म्याकुलामा अपरिवर्तनीय क्षति पुर्या उँछ। जसले गर्दा मनिसको दृष्टि् विस्तारै घट्दै जाने र अन्त्यमा न्यूनदृष्टि देखि आन्धोपनसम्म हुने गर्छ।

यो रोग लाग्नुमा धेरै कुराको भूमिका रहेको हुन्छ। जसमध्ये अत्यधिक धूमपान र वंशानुगत (आनुवंशिक) कारण मुख्य हुन्। अनुसन्धानका क्रममा धूमपान गर्ने मानिसमा यो रोग धूमपान नगर्ने मानिसभन्दा करिब ४ गुणा बढी देखियो। यसका साथै यो समस्या धूमपान गर्ने महिलामा अझ ५-६ गुणा धेरै देखियो। विज्ञहरुको सुझावअनुसार बेलैमा धूमपान त्याग्नाले बुढेसकालमा यो समस्याबाट बच्न सकिन्छ। धूमपानले शरीरमा हुने एन्टि-ओक्सिडेन्टको मात्रा कम गराउँछ, जसका कारणले यो समस्या धूमपान गर्ने मानिसमा छिटो र धेरै देखिने हुन्छ।

सुगर र थाइरोइडले आँखामा गर्ने असर र धूमपान

लामो समयसम्म चिनीरोग भएका वा रगतमा चिनीको मात्रा नियन्त्रणमा नहुने मनिसमा आँखाको अगाडिको भाग नानीदेखि पछाडि पर्दा अर्थात् रेटिनासम्म गम्भीर असर देखिने गर्छ, जसले मानिसको आँखामा अपरिवर्तनीय क्षति पुर्या उँछ र यी व्यक्तिहरुले धूमपान गरेमा यस्ता समस्या आउने सम्भावना दोब्बर हुन्छ।

यससँगै थाइरोइडले आँखामा गर्ने असरलाई पनि धूमपानले करिब २-८ गुणा बढाइदिने गर्छ। त्यसैले चिनीरोग र थाइरोइड हुने व्यक्तिले सक्दो छिटो धूमपान त्याग्नु राम्रो हुन्छ र दृष्टििमा आउने अकल्पनीय क्षतिबाट बच्न सकिन्छ।

गर्भवती महिला वा स्तनपान गराउने महिलामा देखिने असर

गर्भवती महिला वा स्तनपान गराउने महिलाले कहिले पनि धूमपान गर्नु हुँदैन र धूमपान गरेको ठाउँ वरपर पनि बस्नु हुँदैन। गर्भवती महिलाले धूमपान गर्नाले आमा तथा बच्चा अर्थात् भ्रुण दुवैको स्वास्थ्यमा प्रतिकूल असर पर्न जान्छ। गर्भवती हुँदा धूमपान गर्नाले कम तौल भएको बच्चा जन्मिने, बच्चा समय नपुगी जन्मिने, पूरा मानसिक र शारीरिक विकास नभएको बच्चा जन्मिने जस्ता समस्या आइपर्छन्। यसरी जन्मेका बच्चाको आँखामा धेरै खालका समस्या देखापर्छन्।

आँखामा देखिने समस्यामध्ये आँखाको पर्दाको समस्या मुख्य हो जसलाई आरओपीको नामले चिनिन्छ। यसका अलावा आँखामा धेरै पावर हुनु, आँखाको नशाको उचित विकास नहुनु, आँखा अल्छी हुने जस्ता समस्या देखापर्छन्। अनुसन्धानको क्रममा यस प्रकारले जन्मेका बच्चामा आँखा छड्के हुने सम्भावना ६-७ गुणा बढी रहेको पाइएको छ।

अन्त्यमा, धूमपान नगर्ने मानिसभन्दा धूमपान गर्ने मानिस दृष्टिकबिहीन हुने सम्भावना ४ गुणा बढी हुन्छ। त्यसैले सकेसम्म छिटो धूमपान त्याग्नुहोस्, आफ्नो शरीरसँगै आँखा पनि बचाउनुहोस्।

(लेखक देवदह मेडिकल कलेजमा कार्यरत दृष्टि विशेषज्ञ हुन ।)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra