गुल्मी । चन्द्रकोट गाउँपालिका–२ ले गाउँका नागरिकलाई स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण शिविर शनिवार सञ्चालन गरेको छ । ‘स्वस्थ गाउँ, समृद्ध गाउँ’ भन्ने मूल नारासहित वडाको आयोजनामा विश्रुखर्क स्वास्थ्य चौकी परिसरमा आयोजित उक्त शिविरमा सयौँ सर्वसाधारणले स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष कमल के.सी. ले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा अझै पनि पहुँच बाहिर रहेको भन्दै वडास्तरमै नियमित रूपमा निःशुल्क शिविर सञ्चालन गर्न थालिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,
“हामी जनप्रतिनिधि, कम्तिमा मलाई त लाग्दैन कि भौतिक विकास मात्रै विकास हो । विकास त नागरिकले प्रत्यक्ष रूपमा अनुभूति गर्न पाउने हुनुपर्छ । यही सोचका साथ हामीले गाउँकै नागरिकलाई विशेषज्ञ चिकित्सकहरूसँगै निःशुल्क स्वास्थ्य सेवा दिने अभियान सुरु गरेका हौं।”
वडाध्यक्ष के.सी. का अनुसार अबदेखि हरेक महिनाको अन्तिम शनिबार वडाले नियमित रूपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना अघि सारेको छ । उहाँले गाउँमै स्वास्थ्य संस्था भए पनि विशेषज्ञ डाक्टरको अभावका कारण अनेकौं स्वास्थ्य समस्या जटिल बन्दै गएको बताउँदै, यस्ता शिविरहरूले स्थानीयवासीलाई ठूलो राहत दिएको उल्लेख गर्नुभयो ।
शिविरमा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलका हाडजोर्नी, नशा तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ डा. रमेश अर्याल र महिला तथा स्त्रीरोग विशेषज्ञ डा. नवीन तिरुवाले बिरामीहरूको स्वास्थ्य परीक्षण गर्नुभएको थियो । शिविरमा विभिन्न रोगका बिरामीहरूलाई परामर्श, जाँच तथा आवश्यक औषधि निःशुल्क रूपमा वितरण गरिएको थियो ।
स्वास्थ्य चौकी प्रमुख राज आर्यन साह का अनुसार शिविरमा आएका बिरामीहरूलाई आवश्यकता अनुसार निःशुल्क रगत परीक्षण सेवा समेत प्रदान गरिएको थियो । उहाँले स्थानीय जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरूको सक्रिय सहकार्यका कारण शिविर सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो । स्थानीयवासीहरूले वडास्तरीय निःशुल्क स्वास्थ्य शिविरबाट आफूहरूलाई राहत मिलेको प्रतिक्रिया दिएका छन् । उनीहरूले गाउँमै विशेषज्ञ डाक्टरबाट उपचार पाउने अवसरले समय र खर्च दुबै बचत भएको बताएका छन् ।
स्वास्थ्य चौकी परिसरमा आयोजना गरिएको उक्त कार्यक्रमले चन्द्रकोट गाउँपालिकामा समुदायमै पुग्ने स्वास्थ्य सेवा प्रवर्द्धन गर्ने सकारात्मक पहलको सङ्केत दिएको स्थानीयहरूले बताएका छन् । वडाको यो पहलले ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।