बुटवल – रुपन्देहीमा यो वर्ष ६२ जना डेंगुका बिरामी फेला परेका छन् । दुई वर्षअघि भयाभह रुप लिएकोमा वर्षा रोकिनासाथ बिरामी फेला परेका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्रकुमार गिरीका अनुसार बिरामीको संख्या दैनिक बढिरहेको छ । भदौं २० गतेसम्म ६२ जनामा संक्रमण देखिएको हो । जसमध्ये ४२ जना उपचारपछि घर फर्किएका छन् । यो वर्ष भदौ महीनादेखि सङ्क्रमण फैलिएको हो । विगतका वर्षहरुको तुलनामा सङ्क्रमण नफैलिए पनि लामखुट्टेको सङ्ख्या वृद्धि हुने समय अझै बाँकी रहेकाले भदौदेखि मङ्सिरसम्मको अवधिमा सङ्क्रमण फैलिन सक्ने प्रमुख गिरीले बताए ।
रुपन्देहीमा विगत ६ वर्षदेखि डेंगुका बिरामी भेटिदै आएका छन् । गतवर्ष ३८ जना मात्रै बिरामी भेटिएका थिए । दुई वर्षअघि भने बिरामीको संख्या एक हजारभन्दा बढी थियो । अहिलेसम्म चारजनाको मृत्यु भएको छ ।
जमेको सङ्लो पानीमा डेंगु फैलाउने लामखुट्टेले प्रजनन् प्रक्रिया गर्ने भएकाले वर्षा रोक्रिएसँगै रुपन्देहीमा डेंगुको बिगबिगी फैलिएको हो । स्वास्थ्य कार्यालय रुपन्देहीले रोग फैलाउने लामखुट्टे मार्नका लागि अभियान थालेको छ । त्यसका लागि प्रहरीको सहयोग मागिएको प्रमुख गिरीले बताए । प्रायःजसो अस्पतालमा बिरामीको अत्याधिक चाप रहेको छ । तर डेंगु परीक्षण गर्ने किटको अभाव छ । स्वास्थ्य प्रमुख गिरीले केन्द्रबाट कम मात्रामा किट आएकाले बिरामीको चाप बढे उपचारमा कठिनाई हुने बताए । संघीय सरकारबाट किट आउन ढिलाई हुने संकेत देखिएकोले, उनले भने,’स्थानीय तहले छिटो पहल थाल्नुपर्छ ।’
अन्य क्षेत्रमा भन्दा बुटवल क्षेत्रका बिरामीमा बढी संक्रमण देखिएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटबलका मेडिकल सुपरिटेन्डन डा. कृष्ण खनालले अस्पतालमा बिरामीको संख्या दैनिक बढिरहेको बताए । यो भाइरसको कारण हुने संक्रमण हो । मौसम परिवर्तनका कारण केही दिनयता भाइरल ज्वरोका बिरामी बढसँगै डेंगु भएकाका बिरामी पनि देखिन थालेका हुन् ।
रूपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भीम अस्पताल भैरहवा, युनिभर्सल मेडिकल कलेज भैरहवा र क्रिमसन अस्पताल मणिग्राममा डेंगु परीक्षण गर्न सकिन्छ । तीन दिनको लगातार ज्वरो, प्लेटलेसको मात्रा १ लाखभन्दा कम र डब्लुबिसीको संख्या ४ हजारभन्दा कम भयो भने किट प्रयोग गरेर डेंगुको निक्र्योल गरिन्छ ।
चिकित्सकले कसैलाई ज्वरो आइहालेमा कुनै औषधि नखाई अस्पतालमा परीक्षणका लागि आउन आग्रह गरेका छन् ।