बिहिबार, साउन १०, २०८१ Thursday 25th of July 2024

ओमिक्रोन के हो ? कसरी बच्ने ?

  • डा शेर बहादुर पुन
  • प्रकाशित मिति : बिहिबार, मंसिर १६, २०७८


ओमिक्रोन के हो ? कसरी बच्ने ?

कोभिड–१९ को दोस्रो लहरबाट त्राण नपाउँदै अर्को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ (बी.१.१.५२९.)को त्रास बढेको छ। कोभिडको नयाँ भेरियन्टको संक्रमणले विश्वव्यापी रूपमा चिन्ता थपेको छ। यसै सन्दर्भमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनसंग गरिएको कुराकानीको सम्पादित अंश :

कोरोना भाइरसको नयाँ–नयाँ भेरियन्ट कसरी उत्पत्ति भइरहेका छन् ?

सामान्यतः भाइरसले आफ्नो प्रतिलिपीकरण बनाउँदै जान्छ। यो निरन्तर चल्ने र प्राकृतिक पनि मानिन्छ। यो अवस्थामा स–साना म्युटेसन पनि हुने गर्दछ। म्युटेसन हुँदै गएपछि भाइरसको नयाँ स्वरूप विकास हुन्छ, जसलाई हामी नयाँ भेरियन्टको उत्पत्ति भएको मान्छौं। नयाँ भेरियन्ट अघिल्लो वा मूल भेरियन्टबाट कडा वा नरम जे पनि हुन सक्छ।

पछिल्लो भेरियन्ट ओमिक्रोनलाई डब्लूएचओले किन ‘भेरियन्ट अफ कन्सर्न’को सूचीमा राखेको होला ?

भाइरसको फैलने क्षमतामा वृद्धि, घातकता, लक्षणमा फरकता, जनस्वास्थका मापदण्ड प्रभावहीन हुनु र त्यस्तै परीक्षण, उपचार र खोपको प्रभावकारितामा चुनौती जस्ता कुनै एक वा एकभन्दा बढी समस्याहरू देखिएपछि ‘भेरियन्ट अफ कन्सर्न’अन्तर्गत राखिन्छ। त्यस्तै, ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिएको र पीसीआर परीक्षणमा एसजीन देखाउन नसक्नाले यसलाई भेरियन्ट अफ कन्सर्नअन्तर्गत राखिएको हो।

यो भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी संक्रामक हो ?

अहिलेसम्म यस्तो पुष्टि भएको छैन। तर, ओमिक्रोन भेरियन्टको स्पाइक प्रोटिनमा डेल्टा भेरियन्टभन्दा दुई गुणा बढी म्युटेसन भएको इटालियन वैज्ञानिकहरूले पुष्टि गरेका छन्। तर, यसकै कारण डेल्टाभन्दा बढी संक्रामक हुन्छ भन्ने प्रमाणित भने भएको छैन।

कोरोनाका नयाँ–नयाँ भेरियन्ट फेला परिरहेका छन्। अहिले लगाइरहेका खोप प्रभावकारी हुन सक्छ ?

ओमिक्रोन भेरियन्ट कस्तो हुन्छ ? भन्ने अहिले जानकारी छैन। तर, कोरोनाका नयाँ–नयाँ भेरियन्टहरूमा विशेषगरी स्पाइक प्रोटिनमा निरन्तर परिवर्तन हुँदै गए खोपको प्रभावकारिता खस्किँदै जान सक्नेछ।

जिन सिक्वेन्सिङ’ भनेको के हो ?

‘जिन सिक्वेन्सिङ’ प्रविधिले भाइरसको जिनको विश्लेषण गर्न मद्दत गर्छ।

कोरोना भाइरस सधैं रहिरहन्छ वा यसको निर्मूल हुन सक्छ ?
पहिलो सार्स भाइरस सन् २००३ मा देखिएको थियो। उक्त भाइरस २००४ पछि भने खासै देखिएन। तर, सार्स (कोभ—२ ) को बारेमा भने पछिसम्म देखिरहन सक्ने अनुमान वैज्ञानिकहरू गरेका छन्। यद्यपि, यकिन भने छैन।

कोरोना भाइरस सँगसँगै हामीले कसरी जनजीविका सुचारु गर्न सक्छौं ?
हामीले ‘न्यु नर्मल’को उपाय अपनाएर जनजीविका सुचारु गर्न सक्छौं। न्यु नर्मल भन्नाले सामान्यतया जनस्वास्थका मापदण्ड भन्ने बुझिन्छ।

ओमिक्रोन नेपाल भित्रिन नदिन हाम्रो तत्कालको रणनीति के हुनुपर्छ ?
यसलाई रोक्न विशेषतः दुई नाकामा बढी ध्यान दिनुपर्छ। पहिलो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो। दोस्रो, नेपाल–भारत सिमाना हो। परीक्षणलाई चुस्तता दिनुपर्छ। कसैलाई संक्रमण देखिए आइसोलेसन व्यवस्थापनमा जोड दिनुर्छ। विगतमा देखिएका कमीकमजोरीको समीक्षा गरी सुधार गर्नुपर्ने हुन्छ।

ओमिक्रोनले पनि धेरैलाई प्रभावित पार्ने सम्भावना छ ?
ओमिक्रोन भेरियन्ट दक्षिण अफ्रिकामा तीव्र गतिमा फैलिएको छ। तसर्थ अघिल्लो भेरियन्टहरू जस्तो छिटो फैलन सक्ने अनुमान गर्न सकिन्छ।

ओमिक्रोनको संक्रमणबाट जोगिन के–कस्तो पूर्वतयारी गर्नुपर्ला ?
ओमिक्रोन भेरियन्टबाट जोगिन हामीले भन्दै आइरहेको जनस्वास्थका मापदण्ड सही तरिकाले प्रयोग गर्न सके पुग्छ।

ओमिक्रोनको सक्रमण भइसकेका बिरामीमा के–कस्तो लक्षण देखिएको छ ?
हाल यसको लक्षणबारे पूर्ण यकिन भएको छैन। तर, दक्षिण अफ्रिकाका चिकित्सकहरूको अनुभवअनुसार लक्षण त्यति कडा छैन। अत्यधिक थकान, टाउको र जीउ दुख्ने जस्ता समस्या देखेको भनिएको छ। धेरैलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था नभएको, अचानक अक्सिजन कमी हुने समस्या नदेखिएको जस्ता अनुभवहरू सुनाएका थिए। अर्थात् ओमिक्रोन संक्रमितमा लक्षणहरू सामान्य नै देखिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra