१३ असार, भैरहवा । रूपन्देहीको सिद्धार्थनगरस्थित भीम अस्पतालमा सुविधा सम्पन्न अप्रेसन कक्ष संचालनमा आएको छ । उक्त कक्षको आइतबार एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले आइतबार उद्घाटन गरे । सो कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अन्य कुरा भन्दा मानवको उपचार पहिलो रहेको बताउँदै उनले भने – ‘ हामीले ठुला विकासका योजनाको कल्पना गरेर भन्दा पनि सानो रकमले परिणाममुखी, गुणस्तरीय सेवा दिएर मानवको उपचार गर्नु पर्छ ।’ उनले गुणस्तरीय सेवाका साथै कर्मचारीको आत्मबल बढाउने सुरक्षाका प्रवन्ध मिलाउने कुरा महत्त्वपूर्ण रहेको बताए । ‘अस्पताल भनेको मान्छे बचाउने थलो हो । तसर्थ अस्पताल केन्द्रित विकास गर्नु पर्छ ।’ – उनले भने । कार्यक्रममा निवर्तमान अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति रूपन्देहीका प्रमुख एकराज विश्वकर्माले बिगतमा अस्पतालको विकासकालागि निरन्तर प्रयास गरेको स्मरण गर्दै आगामी दिनमा पनि आफुले सक्दो पहल गर्ने बताए ।
कोभिड १९ नियन्त्रणमा अस्पतालले चालेका गतिविधिहरू, अस्पतालले दिदै आएका सेवाहरूको बारेमा बताउँदै अस्पतालकि मेडिकल सुपरिटेन्डेन्ट डा. शकुन्तला गुप्ताले जिर्ण अवस्थामा रहेको अस्पतालको अप्रेसन कक्षका कारण सामान्य खालका अप्रेसन गर्न नसकेर बाहिर पठाउनु परेकोमा अब अस्पतालमै अप्रेसन हुने बताइन् । पहिले राम्रा मेसिन थिएनन् भएका पनि कमजोर थिए अब पेट सम्बन्धि एपेन्डिक्स, हर्निया, हाइड्रोसिल लगायतका अप्रेसन, अर्थोपेडिक्स, सुत्केरी बनाउने सम्बन्धि अप्रेसन गर्नकोलागि सजिलो पर्ने बताइन । पहिले भन्दा केही नयाँ कार्यक्रम अगाडि बढाउँदै जाने प्रतिबद्धता व्यक्त गर्दै अस्पताल विकास समितिका अध्यक्ष नारायण भण्डारीले थप ३८ लाख लगानी गरेर अप्रेसन कक्ष सुधार गरेको बताए । उनले अस्पताललाई सुविधा सम्पन्न बनाएर जनताको विश्वास बढाउनतर्फ लाग्ने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी असमान तामाङ, अस्पताल विकास समितिका पुर्व अध्यक्ष हितराज पन्थी, मन्त्रीका स्वकीय अधिकृत माधव सापकोटा लगायत अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारीको सहभागीता रहेको थियो ।
यसैबीच आइतबार नै मन्त्री श्रेष्ठले भैरहवा स्थित रण अम्बिका आँखा अस्पताल तथा सिद्धार्थ सिटी अस्पतालको अनुगमन गरेका छन् ।