२२ असार बुटवल । एओ अलाइन्स नेपालको आयोजनामा देवदह मेडिकल कलेजमा “Basic Principles of Fracture management for Operating Room Personnel” नामक अन्तराष्ट्रिय सेमिनार तालिम आइतबार र सोमबार सम्पन्न भएको छ । मूलतः अस्पतालको अप्रेशन कक्षमा काम गर्ने स्वास्थ्यकर्मीलाई हाड़जोर्नीको अप्रेशन गर्दा अपनाउनु पर्ने सजकता, अप्रेशनको क्रममा आइपर्ने जटिलताको समाधान तथा विभिन्न किसिमका अप्रेशनको सैदान्तिक र ब्यवहारिक ज्ञान प्रदान गरिएको थियो । तालिममा देवदह मेडिकल कलेजका प्रतिनिधिका अलवा युनिभर्सल मेडिकल कलेज, लुम्बिनी प्रादेशिक अस्पताल, क्रिमसन अस्पताल, चौराहा अस्पताल बुटवल, लुम्बिनी नर्शिङ्ग अस्पताल, एडमण्ड अस्पतालका गरि ३० जना स्वास्थ्यकर्मीहरूले प्रशिक्षण लिएका थिए ।
कोभिड -१९ को महामारीको समयमा सुरक्षाको अन्तराष्ट्रिय मापदण्ड प्रयोग गरेर गरिएको तालिममा एओ अलाइन्स नेपालका प्रमुख प्रा डा रमेश प्रसाद सिंह, नेपाल मेडिकल कलेजका बरिष्ठ हाड़ जोर्नी विशेषज्ञ डा बिजेन्द्र अधिकारी, देवदह मेडिकल कलेजका हाड़जोर्नी बिभाग प्रमुख बरिष्ठ हाड़ जोर्नी विशेषज्ञ डा जय राज शर्मा,मणिपाल मेडिकल कलेजका हाडजोर्नी विशेषज्ञ डा पविन थापा, पुरानो मेडिकल कलेज भरतपुरका हाडजोर्नी विशेषज्ञ डा हेमन्त गुप्ता, देवदह मेडिकल कलेजका हाडजोर्नी विशेषज्ञ डा मन्दिर खत्री र डा सुन्दर कार्की नेपाल मेडिकल कलेजकि सिनियर नर्स सविता काफ्ले, युनिभर्शल मेडिकल कलेज भैरहवाका हाडजोर्नी विशेषज्ञ डा किशोरमान श्रेष्ठ, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकी सिनियर नर्स क्षेत्र कुमारी रोक्का तथा देउ माया थापा लगायतले प्रशिक्षण दिएका थिए ।
कार्यक्रमको समापन सत्रमा देवदह मेडिकल कलेजका प्राचार्य डा पी सी महाजन, कलेजका अस्पताल निर्देशक डा बिक्रम ज्ञवाली, शल्यचिकित्सा बिभागका प्रमुख डा बाबुराम पौडेलले आ-आफ्नो भनाइ राख्दै प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरेका थिए । सो तालिम अप्रेशन कक्ष र बिशेषगरि हाड़जोर्नी सम्बन्धि अप्रेशनमा संलग्न स्वास्थ्यकर्मी- नर्स तथा हेल्थ असिस्टेन्टहरुलाई एकदमै फलदाइ रहेको प्रमुख प्रसिक्षक मध्येका एक देवदह मेडिकल कलेजका हाड़जोर्नी बिभाग प्रमुख बरिष्ठ हाड़ जोर्नी विशेषज्ञ डा जय राज शर्माले बताए ।