१ साउन । बर्दिया जिल्ला पूर्ण खोप घोषणा भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव तथा पूर्ण खोप समन्वय समिति लुम्बिनी प्रदेशका अध्यक्ष डा . विकास देवकोटाले विहिवार एक कार्यक्रमका बीच घोषणा गरे । पूर्व राज्यमन्त्री, संघीय संसद सदस्य विमला वि.क. को प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै विक ले यो अभियानलाई सफल बनाउनका लागि योगदान दिनुहुने स्वास्थ्य स्वयंसेविका तथा सम्पूर्ण स्वास्थ्यकर्मीहरुको मुक्तकण्ठले प्रशंसा गरिन , साथै स्वास्थ्यका क्षेत्रमा बर्दिया जिल्लाका पालिकाहरुबाट भएका कार्यहरुको बारेमा बताउँदै बर्दिया अस्पतालको स्तरोन्नती भैरहेको स्मरण गरिन ।
सचिव डा. विकास देवकोटाले बालबालिका देशका मेरुदण्ड भएकाले पनि खोपको प्राथमिकतामा राखी राज्यले यो “खोज र खोप” अभियानको शुरुवात गरेको र यसको सुनिश्चिततालाई स्थायित्व दिनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो योगदान गर्नुपर्ने बताए । सचिव डा . देवकोटाले पूर्ण खोप जिल्ला घोषणा गर्न सफल भएकोमा धन्यवाद ज्ञापन गरे । उनले ‘पूर्ण खोप जिल्ला घोषणा गर्नु भनेको आज सबै बालबालिकाले सबै खोप पाएका छन भन्नू हो त्यो भनेको भोलि पनि निरन्तरता दिन सक्छौं भन्ने पनि हो ।’ भन्दै घोषणा गर्नु मात्रै ठुलो नभएकाले निरन्तरता दिन सबैलाई खट्न अनुरोध गरे ।
लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशक डा . विनोद कुमार गिरीले लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये रूकुम जिल्ला मात्रै पूर्ण खोप जिल्ला घोषित हुन बाँकी रहेको बताए । उनले सचेतनाको कमि हुनाले समयमै बर्दिया जिल्ला घोषित हुन ढिला भएको बताए । गिरीले रुकुम पूर्व जिल्ला पूर्ण खोप जिल्ला घोषित हुन बाँकी रहेको बताउँदै लुम्बिनी प्रदेश देशकै गण्डकी पछिको दोस्रो पूर्ण खोप प्रदेश हुने बताए । कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय, बर्दियाका प्रमुख गोकर्ण गिरीले जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई लगाइने १२ प्रकारका सबै खोप लगाइसकिएकोले पूर्ण खोप जिल्ला घोषणा गरिएको जानकारी दिए । उनले यसै आर्थिक वर्षमा घोषणा गर्ने प्रतिबद्धता पुरा भएको बताए ।
उता स्वास्थ्य कार्यालय रुकुम पूर्वका प्रमुख गौरव ढकाल संग बुझ्दा आफुहरु पूर्ण खोप जिल्ला घोषीत गर्ने तयारीमा रहेकोमा मन्त्रालयबाट मन्त्री तथा सचिव आएमा साउनको पहिलो हप्तानै घोषणा गरिने बताए ।
बालबालिकालाई जन्मनेबित्तिकै बीसीजी, ६ हप्तामा पोलियो, एचआईभी, पीसीजी, डीपीटी, हेपाटाइटिस बी, रोटा, १० हप्तामा पोलियो, पीसीभी, डीपीटी लगायत सबै खोप जिल्लाका स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध हुने बर्दिया स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस अभियानमा साझेदार संस्थाहरु डब्लु्एचओ, युनिसेफ, नेपाल रेडक्रस सोसाइटी, सुआहारा, स्वास्थ्यका लगि सक्षम प्रणाली, वाटर एड नेपाल, वि एन एम टी नेपाल, गेरुवा ग्रामीण जागरण संघ, दलित महिला संघ, हेल्पिङ ह्याण्ड नेपाल, चेन्ज टीम बर्दिया र नेपाल परिवार नियोजन संघ लगायत छन । बर्दिया जिल्ला लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये पूर्ण खोप जिल्ला घोषणा गर्ने ११ औँ जिल्ला हो भने देशकै हिसाबले ६१ औँ जिल्ला हो ।