२० असोज, बुटवल । लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बुधबार प्रदेशसभामा आर्थिक वर्ष २०७८/७९ को प्रतिस्थापन विधेयकमार्फत ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट पेश गरेका छन् । उनले स्वास्थ्य क्षेत्रमा यसअघिको सरकारले पेश गरेको कार्यक्रमको निरन्तर दिदै केही नयाँ कार्यक्रम थपिएका छन् ।
‘घर दैलोमा डाक्टर’
दुर्गम तथा पहुँचभन्दा टाढा रहेका स्थानहरूमा ‘घर दैलोमा डाक्टर’ कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन भएको छ । यो नयाँ कार्यक्रम हो ।
ज्येष्ठ नागरिकसँग स्वास्थ्यकर्मी
ज्येष्ठ नागरिकहरूलाई घर–घरमै स्वास्थ्य सेवा प्रदान गर्न स्थानीय सरकारसँगको सहकार्यमा ज्येष्ठ नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालनको लागि वजेट विनियोजन भएको छ ।
नि:शुल्क रक्तसञ्चार सेवा
पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठको लोकप्रिय कार्यक्रम नि:शुल्क रक्तसञ्चार सेवालाई निरन्तर दिदै प्रदेशका सबै सरकारी स्वास्थ्य संस्थाहरूबाट नि:शुल्क रूपमा रक्त प्रदान गर्न रु. ५ करोड विनियोजन गरिएको छ ।
प्रादेशिक अस्पताललाई १० करोड – मुटु रोग विशेष
लुम्बिनी प्रादेशिक अस्पतालमा मुटुरोग सेवालाई प्रभावकारी गराउन क्याथ ल्याब निर्माण गर्न १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
एम.आर.आई. सेवा सञ्चालन गर्न १३ करोड
प्रदेशमा हालसम्म एम.आर.आई. सेवा सञ्चालन नहुँदा सबै विरामी अन्यत्र धाउनुपर्ने अवस्था मध्यनजर गरि मेशिन खरिद एवं सेवा विस्तारको लागि रू. १३ करोड बजेट विनियोजन गरिएको छ ।
पत्रकार दुर्घटना बिमा कार्यक्रम
पत्रकारहरूको समग्र सुरक्षालाई मध्यनजर गर्दै पत्रकार दुर्घटना बीमा कार्यक्रम कार्यान्वयनमा ल्याइने वजेटमा उल्लेख छ ।
ज्येष्ठ नागरिक अस्पताल र महिला तथा बाल अस्पताल स्थापना
प्रदेश भित्र उपयुक्त स्थानमा ज्येष्ठ नागरिक अस्पताल र महिला तथा बाल अस्पताल स्थापना गर्न सम्भाव्यता अध्ययनको लागि बजेट व्यवस्था गरिएको छ ।
प्रदेशवासीहरूलाई मृगौला प्रत्यारोपण, मुटुको भल्भ फेर्ने र क्यान्सर रोगको उपचारको लागि विपन्न नागरिक औषधि उपचार निर्देशिकाले व्यवस्था गरेको सुविधाको अतिरिक्त प्रदेश सरकारको तर्फबाट थप रू. २ लाख सम्म उपचार सहुलियतको लागि आवश्यक बजेट व्यवस्था गरेको छ ।
कोभिड १९ रोकथाम, नियन्त्रण, निदान तथा उपचारको लागि आवश्यक पर्ने औजार उपकरण, औषधी र अन्य आवश्यक स्वास्थ्य सामग्रीको खरिदको लागि प्रदेश कोभिड कोष मार्फत खर्च गर्ने गरी आवश्यक बजेटको व्यवस्था मिलाईको छ । १८ वर्ष मुनिका बालबालिकाहरुको लागि कोभिड – १९ विरूद्ध खोप खरिद तथा खोप अभियान सञ्चालनको लागि संघीय सरकारसँग समन्वय गर्दै यसका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । प्रदेशका नागरिकहरूलाई कोभिड १९ को महामारीबाट सुरक्षित राख्ने योजना रहेको बताईएको छ।