बुटवल । लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले लुम्बिनी प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि ४२ अर्ब ६२ करोड ४७ लाख ७२ हजार रुपैयाँकाे बजेट प्रस्तुत गरे । लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नतिमा चासो देखाएको बजेटमा लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा ओ.पी.डी. टिकट र जनरल बेड निःशुल्क गर्ने व्यवस्था मिलाइने बताइएको छ ।
बजेटमा स्वास्थ्य यस्तो छ । (जस्ताकोतस्तै)
-> चालु आर्थिक वर्षमा कोभिड – १९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि पहिलो डोज ९६ प्रतिशत, दोस्रो डोज ८८ प्रतिशत र बुष्टर डोज ३७ प्रतिशत जनसंख्यालाई कोभिड विरुद्धको खोप उपलब्ध गराइएको व्यहोरा सम्मानित सभा समक्ष अवगत गराउँदछु ।
-> संक्रमण प्रभावको आधारमा कोभिड – १९ को रोकथाम, नियन्त्रण, निदान तथा उपचारको लागि आवश्यक स्वास्थ्य सामग्री, जनशक्ति तथा लक्षित वर्गका लागि कोभिड विरुद्धको खोपको सुनिश्चितता हुने व्यवस्था मिलाएको छु।
-> “प्रदेश सरकारको अपेक्षाः प्रसुति महिलाको सुरक्षा” कार्यक्रम अन्तर्गत एक स्थानीय तह एक एम्बुलेन्स सेवा उपलब्ध गराउन एम्बुलेन्स नभएका स्थानीय तहमा गर्भवती एवम् प्रसुति महिलालाई प्राथमिकतामा राखी सेवा उपलब्ध गराउन आवश्यक बजेट विनियोजन गरेको छु ।
-> प्रदेशका सरकारी तथा सामुदायिक अस्पतालहरूमा निःशुल्क रक्त सञ्चार सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको छु । विपन्न नागरिकको क्यान्सर, मुटुको भल्भ फेर्ने र मृगौला प्रत्यारोपण रोगको उपचारमा सहयोग गर्न प्रतिव्यक्ति रू. २ लाखका दरले उपलब्ध गराइने आर्थिक सहुलियतलाई निरन्तरता दिएको छु।
-> संघ सरकारसँगको समन्वयमा लुम्बिनी प्रादेशिक अस्पताललाई प्रादेशिक मेडिकल कलेजमा स्तरोन्नति गर्न आवश्यक पहल गरिनेछ । उक्त अस्पतालबाट उपलब्ध हुँदै आएको सशस्त्र द्वन्द्वका क्रममा घाईते भएका व्यक्तिहरूको उपचार सेवालाई विस्तार गरी नेपालगञ्जको भेरी अस्पताल र दाङ्गको राप्ती प्रादेशिक अस्पतालबाट समेत सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको छु ।
-> प्रदेशको स्थायी राजधानीमा रहेको लालमटिया स्वास्थ्य चौकीलाई ५० शैय्याको अस्पतालमा स्तरोन्नति गर्न गुरुयोजना तथा विस्तृत परियोजना प्रतिवेदन तयारी र निर्माण एवम् सेवा सञ्चालनका लागि समेत रू. १ करोड ५० लाख विनियोजन गरेको छु ।
-> लुम्बिनी प्रादेशिक अस्पतालमा पेटसम्बन्धी रोगको निदानको लागि अत्याधुनिक इन्टेरोस्कोपी सेवा सञ्चालन गर्न र अत्याधुनिक मेशिन मार्फत अस्पतालबाट उत्पादन हुने फोहरमैला व्यवस्थापनको लागि रू. ८ करोड ५० लाख एवम् नयाँ प्रसूति भवनबाट सेवा सञ्चालन तथा व्यवस्थापनको लागि रू. १५ करोड विनियोजन गरेको छु ।
-> राप्ती प्रादेशिक अस्पताल, तुल्सीपुर दाङ्गको नवनिर्मित भवनमा प्रसूति एवम् नवजात शिशुको उपचार सेवा सञ्चालन गर्न रू. १ करोड र अत्याधुनिक ल्याप्रोस्कोपी सेवा विस्तारको गर्न राप्ती प्रादेशिक अस्पताल र प्यूठान अस्पतालको लागि रू. २ करोडका दरले रू. ४ करोड विनियोजन गरेको छु।
-> गुल्मी, प्युठान, बर्दिया र पृथ्वीचन्द्र अस्पतालमा डी. आर. एक्सरे सञ्चालनको लागि रू. १ करोड ४० लाख र प्रादेशिक आयुर्वेद चिकित्सालय, दाङ्गमा आयुर्वेद औषधि उत्पादन केन्द्रबाट औषधि उत्पादनका लागि रू. ३ करोड विनियोजन गरेको छु ।
-> थारु समुदायमा हुने सिकलसेल एनिमिया लगायत रगतजन्य बंशाणुगत रोगको स्क्रिनिङ, रोकथाम तथा उपचारका लागि रू. ३ करोड ३० लाख विनियोजन गरेको छु ।
-> पाठेघरको मुख र स्तनको क्यान्सर परीक्षणलाई हरेक स्थानीय तहसम्म विस्तार गर्न आवश्यक बजेट विनियोजन गरेको छु । सुत्केरी महिला र नवजात शिशुको पोषण सुधार गर्न ‘निःशुल्क सुत्केरी पोषण आहार” वितरण कार्यक्रमको लागि रू. ५ करोड विनियोजन गरेको छु।
-> लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा ओ.पी.डी. टिकट र जनरल बेड निःशुल्क गर्ने व्यवस्था मिलाएको छु । यसका लागि रू १ करोड ५० लाख विनियोजन गरेको छु।
-> उल्लिखित कार्यक्रमहरू सहितका अन्य कार्यक्रमका लागि “प्रादेशिक अस्पताल सुदृढीकरण कार्यक्रम” अन्तर्गत विनियोजित रू. ५२ करोड ८२ लाख भित्र समावेश गरेको छु ।
-> पृथ्वी चन्द्र अस्पताल नवलपरासी, कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र, भिम अस्पताल भैरहवा, लुम्बिनी प्रादेशिक अस्पतालको क्यान्सर विभागको भवन, एकीकृत आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिक्षण अस्पताल बेलझुण्डी दाङ्ग, रुकुम पूर्व अस्पताल, ट्रमा सेन्टर लमही दाङ्ग, प्युठान अस्पताल प्युठान लगायत प्रदेश सरकार अन्तर्गतका अस्पतालहरु र स्थानीय स्वास्थ्य संस्थाहरूको सुदृढीकरण र भवन निर्माणका लागि रु ६७ करोड २० लाख विनियोजन गरेको छु ।
-> पहुँच नभएको क्षेत्र एवम् समुदाय केन्द्रित र अपाङ्ग तथा सहयोगापेक्षी स्वास्थ्य सेवा विशेष कार्यक्रम सञ्चालन गरिनेछ । स्थानीय तहसँगको समन्वयमा गर्भवती महिलाको घर घरमै स्वास्थ्यकर्मी परिचालन गरी भिडियो एक्सरे तथा स्वास्थ्य परीक्षण गरिनेछ । ज्येष्ठ नागरिकसँग डाक्टर कार्यक्रमलाई निरन्तरता दिएको छु ।
-> प्रदेश स्तरीय बाल अस्पताल स्थापनाको लागि जग्गा प्राप्ति र विस्तृत परियोजना प्रतिवेदन तयारीको कामलाई अगाडि बढाउने व्यवस्था गरेको छु।