२६ असार, बुटवल ।
मेडिटेक इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर बुटवलमा निःशुल्क फोन परामर्श सेवा सञ्चालन भैरहेको छ । अस्पतालको सामाजिक उत्तरदायित्व बहनका कार्यक्रमहरु मार्फत जनस्वास्थ्य तथा नागरिक स्वास्थ्यका विषयमा अस्पतालले बिरामी चिकित्सक सरल संवाद तथा परामर्शको व्यवस्था गरेको छ ।
हप्ताका सातै बार विशेषज्ञ डाक्टरसंग फोनमार्फत सम्पर्क गरेर बिरामीले आफ्ना समस्या बताउने र विशेषज्ञ डाक्टरले परामर्श दिने कार्यक्रम सञ्चालन भैरहेको अस्पताल निर्देशक गणेश ज्ञवालीले बताए । भौगोलिक रुपमा टाढा रहेका बिरामी जसलाई कुन समस्या आएमा कुन विशेषज्ञसंग परिक्षण र उपचार गर्दा ठिक हुन्छ, उपचार गर्न कहाँ जानुपर्छ थाहा छैन भने घरबाटै परामर्श सेवा लिन सकिने ज्ञवालीले बताए । अस्पतालमा उपचार गरेका तर बिचबिचमा विशेषज्ञ डाक्टरको सल्लाह आवश्यक पर्नेलाई पनि सहज होस भन्ने अपेक्षा रहेको उनले बताए ।
यस्तो छ फोन सेवाको तालिका
यसका साथै अस्पतालले ७० वर्ष पुगेका जेष्ठ नागरिक, विपन्न परिवार, पेशाकर्मीहरुको उपचारमा सहुलियत दिदै अस्पतालले निःशुल्क ओपिडी टिकट उपलब्ध गराउँदै उपचार सेवामा सहुलियत दिएको हो ।
बिगत १५ वर्षदेखि शिक्षा र स्वास्थ्य सेवा दिँदै आएको अस्पतालले अपांग, जेष्ठ नागरिक, पहिलो गर्भ परीक्षण, पाठेघरको मुखको क्यान्सरको परीक्षण, सुगरको निःशुल्क जाँच, मुत्र रोगका बिरामीलाई सुगर परीक्षण, पत्रकारहरुका लागि ओपिडी निःशुल्क सेवा दिइरहेको छ । अस्पतालले निकट समयमा १०० शैयाको अस्पताल बनाउने योजना बनाएको छ । बुटवलको अस्पताललाई आधुनिक व्यवस्थापन सहित मणिग्राममा स्थानान्तरण गर्ने अस्पतालको योजना छ ।
गरिबको स्वास्थ्य सेवा पाउने मौलिक हकलाई निजी संस्थाको तर्फबाट समेत योगदान गर्ने प्रतिबद्धतासहित सरकारी मापदण्डअनुसार आगामी आर्थिक वर्षलाई स्वास्थ्य सहकार्यको वर्षको रुपमा मनाउने योजना रहेको ज्ञवालीले बताए । अस्पताल सरकारको मापदण्डअनुसार २४ सै घण्टा उपचार सेवा प्रदान गर्ने गरी विस्तार भइरहेको निर्देशक ज्ञवालीले स्वास्थ्यपत्रलाई बताए ।