कृष्णबहादुर श्रेष्ठ, जो आज डा. कृष्णबहादुर श्रेष्ठका रूपमा परिचित छन्, कर्मशीलताको जीउँदो उदाहरण हुन्। काठमाडौंको फर्पिङमा जन्मेका उनी किसान परिवारका सामान्य छोरा थिए। बाबुआमाले खेतीपाती गरेर उनलाई बोर्डिङ स्कुलसम्म पुर्याए। २०२७ सालमा एसएलसी पास गरेपछि बाबुआमाले के पढाउने भनेर ठम्याउन सकेनन्। उनी आफन्तसँग सोध्न गए, “के पढ्दा राम्रो होला?” जवाफ आयो, “आईकम पढ्।”
तर आईकममा अर्थशास्त्र, बिजनेस गणित र एकाउन्ट पढ्दै गर्दा उनको मन भने विज्ञानतर्फै तानिन्थ्यो। सानै उमेरमा शरीरभरि घाउखटिरा भएपछि स्थानीय स्वास्थ्यकर्मीले पेनिसिलिनको सुई लगाएर निको पारेको सम्झना उनका लागि प्रेरणा बन्यो। त्यहीबेला डाक्टर बन्ने अठोट उनले मनमा बोके।
तर उनको यात्रा सजिलो थिएन। आईकम र आइएड पढिसकेका उनलाई चिकित्साशास्त्रमा प्रवेश असम्भवजस्तै थियो। तर दृढ इच्छाशक्ति र आत्मविश्वासले उनले चिकित्सा सहायक (एचए) को प्रवेश परीक्षा दिए। हजारौँ प्रतिस्पर्धीबीच १६ औं नम्बरमा उत्तीर्ण हुँदै सरकारी कोटामा अध्ययन गर्ने मौका पाए।
सपना पूरा गर्ने संघर्ष
एचए पास गरेपछि बीरगञ्जको क्याम्पसमा पढाउन थाले। मासिक ४२८ रुपैयाँ तलब पाउँदै गर्दा उनलाई एमविविएस पढ्न मन थियो। तर आर्थिक चुनौती र समयको अभाव थियो। धनकुटामा सेभ द चिल्ड्रेन संस्थामा काम गर्दा उनले स्वास्थ्य शिक्षामा योगदान दिए। अंग्रेजीमा राम्रो दखल भएका कारण उनी दोभाषेका रूपमा पनि ख्याती कमाए।
गोराहरूले उनलाई एमविविएस तयारीमा हौसला दिए। उनीहरूकै सहयोगले २०४३ सालमा कृष्णले एमविविएस पूरा गरे। सरकारी चिकित्सकको रूपमा लोकसेवा परीक्षा पास गरेर वीर अस्पतालमा नियुक्त भए। तर उनी त्यहाँ रोकिएनन्।
बाग्लुङ्ग अस्पतालमा ऐतिहासिक योगदान
२०४६ सालमा बाग्लुङ्ग जिल्ला अस्पतालमा सरुवा भएपछि डा. कृष्णले अस्पतालको रूपरेखा नै परिवर्तन गरे। अप्रेसन थिएटर सञ्चालन गर्दै उनले पेट्रोमेक्सको उज्यालोमा रातभर अप्रेसन गरे। हजारौँ बिरामीको ज्यान जोगाए।
उनको अनुशासन सबैका लागि उदाहरण बन्यो। एकपटक अञ्चलाधीश समेत घाउको उपचारका लागि अस्पताल आए। तर डा. कृष्णको नियम थियो–सबै बिरामी पालोमा बस्नुपर्छ। अञ्चलाधीशले पनि लाइनमा बस्नुपर्यो। यस्ता घटना उनका अनुशासन र समर्पणको दर्पण थिए।
उनले उपचारलाई सुलभ बनाउन बिरामीसँग न्यून शुल्क मात्र लिने व्यवस्था गरे। हर्नियाको अप्रेसनका लागि ३०० रुपैयाँ र हाइड्रोसिलका लागि १०० रुपैयाँ तोके। त्यही पैसाले अस्पताल सुधार र स्वास्थ्यकर्मीका लागि खाजा र भत्ताको व्यवस्था गर्थे।
गरिबीले छोएको यथार्थ
विकट गाउँमा स्वास्थ्य शिविर गर्न जाँदा उनले गरिबी र अशिक्षाका पीडादायी दृष्य देखे। एक पटक स्थायी बन्ध्याकरणका लागि आएका एक व्यक्तिले दुई सन्तान भएको भन्दै अप्रेसन गराए। पछि बुझ्दा उनको विवाह नै भएको थिएन। यो सुन्दा डा. कृष्ण स्तब्ध भए। सरकारी सहयोगस्वरूप एक सय रुपैयाँ पाउनका लागि ती व्यक्तिले यस्तो कदम चालेका थिए। उनले सम्झिए, “गरीबी कति क्रूर हुन सक्छ!”
भावनात्मक धक्का र जिम्मेवारी
एमडी अध्ययनपछि पोखरा सरुवा हुँदा उनकी आमा बिरामी थिइन्। उनले तत्कालीन स्वास्थ्य मन्त्री डा. रामवरण यादवलाई काठमाडौंमै सेवा गर्ने अनुमति मागे। मन्त्रीले भने, “तपाईंले सिंगो नेपाल आमाको स्वास्थ्य ख्याल गर्नुपर्छ।” मन भारी पारेर पोखरा गए। आमाको मृत्युको खबर सुनेपछि उनी भक्कानिए। तर, बिरामीको सेवा भने कहिल्यै रोकिएन।
बुटवलमा सेवा र योगदान
बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा ईएनटी विशेषज्ञका रूपमा काम सुरु गर्दा धेरैलाई थाहा थिएन, नाक, कान, घाँटीको छुट्टै विशेषज्ञ पनि हुन्छ। उनले ईएनटी ओपीडी सञ्चालन गर्न अनेक संघर्ष गरे। ०६२/६३को जनआन्दोलनको समयमा मेडिकल सुपरिटेन्डेन्ट रहेर काम गर्दा अस्पताल सुधारका लागि पापड बेल्नुपर्यो। तर उनले बिरामीहरूको उपचारलाई सधैं प्राथमिकतामा राखे।
सेवानिवृत्तिपछि पनि अटुट सेवा
२०६९ सालमा स्वेच्छिक अवकाश लिँदासम्म पनि डा. कृष्णले हजारौँ अप्रेसन सफलतापूर्वक सम्पन्न गरेका थिए। तर उनी पूर्णतः निवृत्त भएनन्। आज पनि उनी महिनाको एकपटक निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्छन्। उनले विपन्न विद्यार्थीका लागि छात्रवृत्ति कोष खडा गरेका छन्।
७२ वर्षको उमेरमा पनि उनी बिहानै उठेर व्यायाम गर्छन्, पूजा गर्छन् र बिरामी जाँच्न लाग्छन्। उनी भन्छन्, “मैले गरेका कुनै पनि अप्रेसन बिग्रिएको छैन। भगवानको कृपाले, मर्नु अघिसम्म बिरामी जाँच्नेछु।”
कर्मशील जीवनको सन्देश
डा. कृष्णबहादुर श्रेष्ठको जीवन साधारण किसानको छोरा भए पनि असाधारण कर्मले भरिएको छ। उनले “कर्म गर, फलको आश नगर” भन्ने गीताको सन्देशलाई आफ्नो जीवनको मन्त्र बनाए। लाखौँ बिरामीलाई जीवन दिएका उनी भन्छन्, “थकान भन्ने कुरा मेरो शब्दकोशमा छैन।”
उनको जीवन यात्रा केवल डाक्टर बन्ने संघर्ष मात्रै होइन। यो एक प्रेरणादायी कथा हो, जसले बताउँछ, जबसम्म सास छ, समाजप्रति जिम्मेवारी कहिल्यै नटुटोस्।