बुटवल, फागुन – बुटवलमा दुई दशकदेखि दन्त तथा मुख स्वास्थ्य सेवामा क्रियाशील आधुनिक समाज डेन्टल केयर प्रा. लि. ले मुख, गिजा, दाँत तथा समग्र मुख स्वास्थ्यसम्बन्धी सचेतना अभियानलाई तीव्रता दिएको छ। हालै मुख क्यान्सर परीक्षणका लागि निःशुल्क सेवा प्रदान गर्ने घोषणा गर्दै संस्थाले समुदायस्तरमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।
संस्थाका प्रवन्ध निर्देशक अमृत भुसालले मुख स्वास्थ्यका समस्याहरू दिनप्रतिदिन बढ्दै गइरहेको बताए। “पछिल्लो समय असन्तुलित आहार, खराब जीवनशैली र नियमित स्वास्थ्य परीक्षणको कमीका कारण मुख क्यान्सर तथा गिजा र दाँतसम्बन्धी समस्या भयावह बन्दै गएको छ,” उनले भने। पाठेघरको मुख क्यान्सरपछि मुख क्यान्सरको जोखिम उच्च रहेको उनले उल्लेख गरे।
सुर्तीजन्य पदार्थ सेवन मुख्य कारण
उनका अनुसार, ९०% भन्दा बढी मुख क्यान्सरका बिरामी सुर्ती तथा गुड्खाजन्य पदार्थ सेवनकै कारण हुने गरेका छन्। उनले सामान्य स्वास्थ्य सतर्कताले पनि जटिल रोगबाट बच्न सकिने बताए। “शरीरका अन्य अंगहरूजस्तै मुखको स्वास्थ्यमा पनि ध्यान दिन जरुरी छ। नियमित रूपमा बिहान–बेलुका राम्रोसँग मुख सफा गरे, सुर्तीजन्य पदार्थ तथा जंकफुडको सेवन कम गरे दाँत तथा मुखसम्बन्धी समस्या न्यून गर्न सकिन्छ,” भुसालले सुझाव दिए।
विद्यालय तहबाटै सचेतना आवश्यक
मुख तथा दाँतसम्बन्धी समस्या महँगो उपचारमा पर्ने भएकाले रोग लाग्न नदिनु नै उत्तम उपाय रहेको भुसालको भनाइ छ। त्यसका लागि विद्यालय तहदेखि नै विद्यार्थीलाई मुख स्वास्थ्यबारे सचेत गराउनु जरुरी रहेको उनको जोड छ। “राज्यले पाठ्यक्रममा नै मुख स्वास्थ्यसम्बन्धी विषय समावेश गर्नुपर्छ, ताकि विद्यार्थीहरू सानैदेखि सचेत बनून्,” भुसालले भने।
समाज सेवामा अग्रसर डेन्टल केयर
आधुनिक समाज डेन्टल केयरले नाफाको ५% सामाजिक उत्तरदायित्वका काममा खर्च गर्दै आएको छ। संस्थाका अध्यक्ष ज्योती सापकोटाका अनुसार, चालु आर्थिक वर्षमा मात्र ७९ वटा सामुदायिक र १० वटा संस्थागत विद्यालयका करिब २८ हजार विद्यार्थीलाई सेवा प्रदान गरिसकिएको छ।
त्यस्तै, २० वटा समुदायस्तरीय सचेतना तथा स्क्रिनिङ कार्यक्रममार्फत १,५०० जनाले निःशुल्क सेवा पाइसकेका छन्। गत आर्थिक वर्षमा रोटरी क्लब अफ लुम्बिनी र रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टारसँगको सहकार्यमा लुम्बिनी प्रदेशका १ लाख विद्यार्थीलाई निःशुल्क मुख स्वास्थ्य सचेतना र स्क्रिनिङ सेवा प्रदान गरिएको थियो। साथै, विभिन्न संघसंस्थासँगको सहकार्यमा ५० भन्दा बढी सामुदायिक सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो।
नयाँ स्थानबाट गुणस्तरीय सेवा
बुटवलको अस्पताल लाइनमा अवस्थित यस डेन्टल केयर हाल पुष्पलाल पार्क (पूर्व राष्ट्रिय वाणिज्य बैंक) मा सरेर नयाँ व्यवस्थापनसहित सेवा विस्तार गर्दैछ। संस्थाका योजना प्रमुख माधब सापकोटाले बिरामीहरूलाई अझ सहज पहुँच उपलब्ध गराउने उद्देश्यले सेवा विस्तार गरिएको जानकारी दिए।
गुणस्तरीय, सर्वसुलभ र भरपर्दो उपचार सेवा प्रदान गर्दै आएको आधुनिक समाज डेन्टल केयरले भविष्यमा अझ व्यापक दन्त तथा मुख स्वास्थ्य सचेतना अभियान सञ्चालन गर्ने योजना बनाएको छ।