भैरहवा, २०८२ असार ६ गते । रूपन्देही जिल्ला शुक्रवारदेखि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । भैरहवामा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले घोषणा गर्दै खोप सेवालाई राष्ट्रको भविष्य सुरक्षा गर्ने बलियो आधारको रूपमा उल्लेख गरे । उनले भने, “स्वस्थ नागरिक देशको सम्पती हो, स्वस्थ रहन पूर्व खोप अनिवार्य छ । खोप भावी पुस्ताको जीवन रक्षा र समृद्ध राष्ट्र निर्माणको जग हो ।” सारुले भने, “स्वास्थ्य सबैको अधिकार हो, पूर्ण खोप सेवा त्यो अधिकारको सुनिश्चितता हो ।”
स्वास्थ्य कार्यालय रूपन्देहीका कार्यालय प्रमुख तथा जिल्ला खोप समन्वय समितिका सदस्य सचिव चिन्तामणि ज्ञवालीका अनुसार जिल्लाका विभिन्न उमेर समूहका ७४ हजार २ सय ५९ जना बालबालिकालाई आवश्यक सबै प्रकारका खोपको मात्रा प्रदान गरी पूर्ण खोप सुनिश्चितता कायम गरिएको हो । उनका अनुसार १५ महिनामुनिका १५ हजार ९ सय ५२ जना, १६ देखि ५९ महिनामुनिका ५७ हजार ८ सय ५२ जना बालबालिकालाई खोप सेवा दिइएको हो । साथै, घरधुरी सर्वेक्षणबाट पहिचान गरिएका ४ सय ४४ जना छुटेका बालबालिका र अन्य छुटेका ११ जनासहित सबैलाई पूर्ण खोप सुनिश्चित गरिएको छ ।
ज्ञवालीले भने, “वि. सं. २०७३ माघ २१ गते पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । । पछिल्लो समयसम्म पनि नियमित रूपमा सुनिश्चितता कायम गर्दै आएकोमा अहिले सबै स्थानीय तहहरूबाट पुनः पूर्ण खोप तथा दिगोपना घोषणा गरिएपछि जिल्लालाई प्रदेशस्तरबाट घोषणा गर्न सम्भव भएको हो ।”
हाल जिल्लाका १६ वटै स्थानीय तहअन्तर्गत सञ्चालन हुने ३८९ वटा खोप केन्द्रमार्फत मासिक रूपमा नियमित खोप सेवा प्रदान हुँदै आएको छ । ज्ञवालीका अनुसार २०८१ साल माघदेखि स्वास्थ्यकर्मीहरूलाई सक्रिय रूपमा परिचालन गरी घर–घरमा पुगेर छुटेका बालबालिकाको पहिचान, लाइनलिस्टिङ, ‘शून्य डोज’ भएका बालबालिकाको खोजी तथा अभिलेखीकरण गरिएको थियो । त्यसअनुसार चैत, वैशाख र जेठ महिनामा खोप छुटेका सबैलाई लक्षित रूपमा खोप लगाएर सेवा सुनिश्चित गरिएको हो ।
रूपन्देहीका सबै १६ पालिकाहरूबाट क्रमशः पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएसँगै जिल्लालाई मिति २०८२ जेठ २२ गते प्रदेश खोप समन्वय समितिमा पत्राचार गरियो । त्यसपछि आवश्यक भेरिफिकेसन प्रक्रिया सम्पन्न भई असार २८ गते जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने अनुमति प्राप्त भएको हो ।
नेपालमा खोप कार्यक्रमको इतिहास निकै पुरानो छ । २०३४ सालमा विफर रोग उन्मूलन पश्चात् धनुषा, रूपन्देही र सिन्धुपाल्चोक जिल्लाबाट क्षयरोग, भ्यागुते रोग, लहरे खोकी र धनुष्टङ्कारविरुद्ध २ प्रकारका खोप (बीसीजी र डिपिटी) प्रयोग गरी खोप अभियानको थालनी गरिएको थियो ।
त्यसपछि २०४४/४५ सालदेखि देशभर ६ वटा रोगविरुद्ध नियमित खोप कार्यक्रम विस्तार गरिएको हो । हाल नेपालमा १३ वटा रोग (जस्तै क्षयरोग, पोलियो, रोटा भाइरस, स्ट्रेप्टोकोकस निमोनिया, भ्यागुते, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, मेनिन्जाइटिस, दादुरा, रुवेला, जापानी इन्सेफ्लाइटिस, र टाइफाइड) विरुद्ध १५ महिनामुनिका बालबालिकालाई खोप दिइँदै आएको छ ।
त्यस्तै, गर्भवती महिलालाई धनुष्टङ्कार र भ्यागुते रोगविरुद्धको खोप दिइँदै आइएको छ । हालै मात्र पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियानकै रूपमा सञ्चालन गरी रूपन्देहीका ५५ हजार १ सय १० जना किशोरीहरूलाई खोप प्रदान गरिएको थियो ।
स्वास्थ्य प्रमुख ज्ञवालीले भने, “खोप सेवाको उद्देश्य भनेको बालबालिका र गर्भवती महिलामा रोग प्रतिरोधात्मक क्षमता विकास गरी रोग लाग्नै नदिनु हो । उपचारभन्दा रोग नलाग्ने व्यवस्था गर्नु स्वास्थ्यको सबल नीति हो, र खोप कार्यक्रम यसको सफल उदाहरण हो ।” उनले थपे, “खोप सेवाको नीतिगत सुधार, सेवा विस्तार, जनशक्ति तथा संरचनागत सुदृढीकरण, पहुँचको सहजता र समुदायमा बढ्दो सहभागिताले मातृ तथा शिशु मृत्यु दरमा उल्लेखनीय कमी ल्याएको छ ।”
कार्यक्रममा सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविकाको तर्फबाट कमला मल्लिक कार्कीले आफूहरु प्राप्त गर्ने पारिश्रमिकले कार्यस्थल पुग्ने यातायात खर्चसमेत नपुग्ने बताइन् । पालिकाका स्वास्थ्य शाखाका प्रमुखको तर्फबाट सियारी गाउँपालीका स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तीले आफ्नो भनाइ राखेका थिए । रूपन्देही जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष उमाकान्त चापाईको अध्यक्षता रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकाल, भीम अस्पतालका सुपरिटेन्डेन्ट डा. सकुन्तला गुप्ता, १६ वटै पालिकाका प्रमुख, स्वास्थ्य शाखा संयोजक तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता थियो । कार्यक्रममा पूर्णखोप सुनिश्चितता तथा दिगोपना अभियानमा महत्त्वपूर्ण योगदान दिने स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो ।