कपिलवस्तु, असार ९ । स्वास्थ्यकर्मीहरूलाई नाक, कान, घाँटी तथा मुखसम्बन्धी स्वास्थ्य समस्या पहिचान र प्राथमिक उपचारबारे व्यवहारिक जानकारी दिन उद्देश्यले स्वास्थ्य कार्यालय कपिलवस्तुको आयोजनामा दुईदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख गौरव ढकालले सेवा प्रवाहमा स्वास्थ्यकर्मीको इच्छाशक्ति, प्रतिबद्धता र सेवाग्राहीप्रतिको उत्तरदायित्वलाई प्रमुख आधार मान्नुपर्नेमा जोड दिए । ढकालले भने, “गुणस्तरीय सेवा दिन सक्ने क्षमताको विकास गर्न हामी आफैँ अग्रसर हुनुपर्छ । नागरिकमा अस्पताल जानुपर्ने स्वास्थ्य चेतना बढाउन र दुर्गम क्षेत्रमा समेत सेवा पुर्याउन सक्ने मनोबल आवश्यक छ।”
प्रशिक्षणमा डा. तेजेन्द्र चौधरी, डा. अभिषेक श्रीवास्तव र ऋषिराम गैरेले सहजकर्ताको रूपमा सहजीकरण गर्दै मुख स्वास्थ्यका सामान्य रोग, जोखिम संकेत, प्राथमिक उपचारका विधि र सेवा प्रवाहमा ध्यान दिनुपर्ने व्यवहारिक पक्षहरूबारे जानकारी दिएको समग्रमा कार्यक्रम प्रभावकारी भएको बताउँदै सहभागीको तर्फबाट आफ्नो भनाइ राखेका विष्णु बहादुर क्षेत्रीले कार्यक्रममा प्राप्त ज्ञान र सीपले कार्यक्षेत्रमा थप प्रभावकारी सेवा दिन सहयोग पुग्ने बताए । उनले सिकेका कुरालाई व्यवहारमा उतार्ने समेत प्रतिबद्धता जनाए ।
जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट सहभागी २६ जना स्वास्थ्यकर्मीले तौलिहवामा सम्पन्न प्रशिक्षणमा सहभागिता जनाएका थिए । कार्यक्रमले स्वास्थ्यकर्मीहरूलाई सेवा प्रदान गर्ने क्रममा देखिने मुख–नाक–घाँटीसम्बन्धी समस्याको सुरुवाती चरणमै पहिचान गरी तत्कालीन प्राथमिक उपचार दिन सक्षम बनाउने अपेक्षा गरिएको छ ।