मनसुन सुरु भइसकेको छ । यो मौसममा रोगको संक्रमण बढी हुने गर्छ । त्यसैले खानपानमा विशेष सर्तकता अपनाउनु पर्ने हुन्छ । यसलाई रोग आमन्त्रण गर्ने मौसम पनि भनिन्छ । किनभने वर्षाको कारण हिलो, फोहोर हुने, खानेकुरा चाँडै सड्ने, गल्ने हुन्छ । सबैतिर ओसिलो हुने भएकाले व्याक्टेरिया पनि फैलन सक्छ । त्यसैले सागसब्जीको माध्यमबाट समेत त्यस्तो व्याक्टेरिया फैलने भय हुन्छ । अतः बर्षातमा निम्न रोगहरु लाग्ने सम्भावना रहन्छ ।
१। मलेरिया
मलेरिया वर्षामा हुने आम तर गम्भीर संक्रामक बिमारी हो । जमेको पानीबाट फैलने लामखुट्टेले टोक्दा यस्तो रोग लाग्न सक्छ । यो रोग एनाफिलिज लामखुट्टेको टोकाइबाट सर्छ । यसबाट बच्नका लागि घर आसपासमा पानी जम्न दिन हुँदैन ।
२। डेंगु
डेंगुको ज्वरो पनि लामखुट्टेको टोकाइबाट फैलने रोग हो । यसको संक्रमणबाट पूरै शरीर र जोर्नीमा अधिक पीडा हुन्छ । यसबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट जोगिनु पर्छ । साथै घर बाहिर निस्कनुअघि पूरै शरीर ढाक्ने पहिरन लगाउनु पर्छ ।
३। झाडा पखला
वर्षाको मौसमा झाडा पखला फैलने धेरै सम्भावना हुन्छ, जो जीवाणुको संक्रमणको कारण हुनसक्छ । खासगरी प्रदूषित पानी र खाद्य पदार्थको कारण यस्तो रोग फैलन्छ । त्यसैले बर्षातमा घर वाहिरको खानेकुरा, फुटपाथको खानेकुरा सेवन गर्नु हुँदैन । बासी, सडे गलेको खानेकुरा सेवन गर्नु हुँदैन । पानी राम्ररी उमालेर मात्र पिउनुपर्छ ।
४। हैजा
भिब्रियो कोलेरा नामक जीवाणुको कारण फैलने यो रोग दूषित भोजन वा पेय पदार्थको कारण हुन्छ । पेट दुख्नुका साथै वान्ता, झाडा पखला लाग्न सक्छ । यसले शरीरमा पानीको मात्रा कम हुन्छ । मिनरल्सको मात्रा कम हुन्छ । त्यसैले रोगी एकदमै कमजोर हुन्छन् । यसबाट बच्नका लागि पनि खानपानमा ध्यान दिनुपर्छ ।
कसरी राख्ने स्वास्थ्यको ख्याल
बर्षायाममा स्वास्थ्यको ख्याल राख्न विशेषतः खानपानमा ध्यान दिनुपर्छ । यतिबेला सुपाच्य खानेकुरा मात्र सेवन गर्नुपर्छ । झोलयुक्त खानेकुरा बढी उपयोगी हुन्छ ।
– फुटपाथमा बेच्न राखिएको तारेको, भुटेको खानेकुरा जस्तो पकौडा, समोसादेखि पानीपुरी, चटपटे खान हुँदैन ।
– सडेगलेको खानेकुरा, बासी खानेकुरा खान हुँदैन ।
– पानी राम्ररी उमालेर मात्र सेवन गर्नुपर्छ ।
– काटेर बेच्न राखिएको फल वा सब्जी खरिद गर्नु हुँदैन ।
– काउली, बन्दा, सिमी लगायत हरियो साग सब्जी नुन पानीमा केहि समय डुबाएर मात्र सेवन गर्नुपर्छ ।
– तारेको, भुटेको वा मसलेदार खानेकुरा सेवन गर्नु हुँदैन ।
– व्याक्टेरियल इन्फेक्सनबाट बच्नका लागि नीम, मेथी, बेसार, आदि आफ्नो डाइटमा सामेल गर्नुपर्छ