यमनमा एक जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमण फैलिएको देशको संख्या २ सय १० पुगेको छ। यमन विश्वको सबैभन्दा धेरै मानव संकट झेलिरहेको देशको रुपमा चिनिन्छ । यहाँका नागरिक खाद्य सहायतामा आश्रित छन् । हैजा, डेंगू र औंलोसहित केहि रोगका विरामी यमनमा पहिलेदेखि नै छन् ।
वर्षौदेखि गृहयुद्धमा रहेका कारण यमनमा स्वास्थ्य सुविधा लगभग नभएको भन्दै सहायता एजेन्सीहरुले चिन्ता व्यक्त गर्दै आएका छन् । गैरसरकारी संस्था अक्सफामले यमनमा कोरोना सङ्क्रमित भेटिनु निकै ठूलो झट्का भनेको छ भने अन्तराष्ट्रिय उद्धार समितिले यसलाई नराम्रो सपना भनेको छ ।
यसैबीच २ सय १० र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिँदा साढे १६ लाख भन्दा धेरै मानिसमा कोरोना सङ्क्रमण भएको छ । ३ लाख ७६ हजार भन्दा धेरै उपचारपछि निको भएका छन् ।
१ लाख ३ हजार जनाको भने ज्यान गएको छ । गत २४ घण्टामा अमेरिकामा मात्रै २ हजार भन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा साढे १८ हजारभन्दा धेरैको ज्यान गएको छ भने ५ लाख भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै इटालीमा साढे १८ हजारभन्दा धेरै, स्पेनमा १६ हजारभन्दा धेरै, फ्रान्समा १३ हजारभन्दा धेरै, बेलायतमा झण्डै ९ हजार मानिसको ज्यान गएको छ । यसैबीच इटलीका प्रधानमन्त्रीले आउँदो मे ३ तारिख अर्थात बैशाख २१ गतेसम्मका लागि लकडाउन बढाउने घोषणा गर्नुभएको छ ।