बुटवल : विश्वभर महामारी लिएको कोभिड-१९ संक्रमित संख्याको आधारमा नेपालको छिमेकी मुलुक भारत विश्वकै चौथो बढी प्रभावित बनेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार तथा कोरोना भाइस सम्बन्धि अपडेट गरिरहेको Worldometer मा देखाईए अनुसार भारतले बेलायतलाई पछि पार्दै चौथो बढी प्रभावित मुलुक बनेको हो ।
अहिलेसम्म बेलायतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ९२ हजार ८६० छ । तर भारतको स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार दुई लाख ९७ हजार ५३५ छ । तर यो समाचार तयार पार्दा अहिलेसम्म दुई लाख ९८ हजार २८३ संक्रमित फेला परेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९५६ नयाँ संक्रमित थपिएका हुन् ।
साथै, भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या आठ हजार ४९८ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका कारण ३९६ जनाको मृत्यु भएको छ ।
संक्रमितको आधारमा अहिलेसम्म अमेरिका पहिलो, ब्राजिल दोस्रो, रसिया तेस्रो स्थानमा छन भने नेपाल ७४ स्थानमा छ तर संक्रमित संख्यामा देशको जनसंख्या र भूगोलको प्रभाव भने रहन्छ । भारतको छिमेकी मुलुक हाम्रो नेपाल पनि अब झनै जोखिममा छ । देशको धेरै जस्तो भुभाग भारत संग जोडिएको र खुल्ला सिमानाका कारण नेपाल उच्च जोखिममा देखिएको हो । प्रयाप्त परिक्षण, स्वास्थ्य सामाग्री तथा उपचारको उपलब्धता नहुनाले पनि नेपाल थप खतरामा छ । लकडाउन खुकुलो हुनु र विभिन्न नाममा गरिएका प्रदर्शनले पनि कोरोना संक्रमण बढाउने निश्चित छ ।