१० जेष्ठ बर्दिया । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले आइतबार बर्दिया अस्पतालको अनुगमन गरेका छन । अनुमान पश्चात् बर्दिया जिल्ला प्रशासन कार्यालय गुलरियामा जिल्ला कोभिड – १९ संकट व्यवस्थापन केन्द्रको सर्वपक्षीय विशेष बैठक सम्पन्न भएको छ ।
बैठकमा मन्त्री श्रेष्ठले मन, वचन र कर्मले जनताको सेवा गर्नुपर्ने बेला आएकोले सेवामा लाग्न सबैलाई अनुरोध गर्दै भने ‘स्वास्थ्य संकट नियन्त्रण गर्न सरकारले अक्सिजन प्लान्ट निर्माण तथा अस्पताल व्यवस्थापनको लागि पठाएको बजेट परिचालन गर्नुस, हिजो बजेट थिएन कमि कमजोरी भए आज बजेट आएको छ अब दुर्त गतिमा काम गर्न अनुरोध छ ।’ उनले थपे ‘सबैको सहकार्य, सहयोग र साथले मात्रै कोरोना महामारीको युद्धमा विजयी प्राप्त हुनेछ । त्यसैले सबै मिलेर यो महामारीविरुद्ध लागौं । अहिले जसरी हुन्छ मान्छे बचाउनेतिर लागौं । ’
प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारको संयोजकत्वमा सम्पन्न बैठकमा सुनारले विशेषगरी बर्दिया जिल्लाको वर्तमान कोरोना विशेष स्वास्थ्य अवस्था, कोरोना नियन्त्रणमा जिल्ला प्रशासन कार्यालयको समन्वयनमा चालेका गतिविधिको बारेमा जानकारी दिए । बैठकमा लम्बिनी प्रदेश सभा उपसभामुख कृष्णी थारू सदस्यहरू कुलप्रसाद पोखरेल, कविराम थारू, लौटी थारू र तिलक शर्माले प्रदेश सभा सदस्य रहेेको हिसाबले जनताले स्वास्थ्य उपचारार्थ आफुले गरेका गतिविधिको बारेमा बताए ।
बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डेले अस्पतालले प्रदान गरेका कोरोना विशेष स्वास्थ्य सेवाको जानकारी गराउँदै,उनले भने ‘हामी जनताको स्वास्थ्य उपचार गर्नेतर्फ भरपुर प्रयास गरिरहेका छौँ । जनताको स्वास्थ्य उपचार गर्दागर्दै हामी स्वास्थ्यकर्मी तथा चिकित्सक नै पटकपटक संक्रमित भयौं र निको भएपछि पुन सेवामा निरन्तर लागेका छौं तर हामी हतोत्साहित भएका छैनौं।’ अस्पतालमा कार्मचारी अभाव भएका कारण कार्यसम्पादन गर्न असजिलो भएको पाण्डेले बताए ।
जिल्ला समन्वय समिति प्रमुख शंकरप्रसाद थारु, गुलरिया नगरपालिका प्रमुख मुक्तिनाथ यादव, ठाकुरबाबा नगरपालिका प्रमुख घननारायण श्रेष्ठ, मधुवन नगरपालिका प्रमुख गणेश बहादु के सी, गढैयाताल गाउँपालीका प्रमुख लालबहादुर श्रेष्ठ, स्वास्थ्य कार्यालय बर्दिया गोकर्ण गिरी, बर्दिया अस्पताल बिकास समितिका अध्यक्ष अदंग श्रेष्ठ लगायतले आ-आफ्नो निकायबाट कोरोना नियन्त्रणमा चालेका गतिविधि जानकारी गराउँदै, आफुहरू जिम्मेवार रहेर हिजो पनि आआफ्नो तहबाट जनताको स्वास्थ्य उपचारार्थ लागेको र आगामी दिनमा जनताको स्वास्थ्य उपचारमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । जिल्लाको सुरक्षाको बारेमा बताउँदै नेपाल प्रहरी तथा शस्त्र प्रहरी बलका प्रतिनिधिले लकडाउन र सिमा सुरक्षाको बारेमा जानकारी गराए ।
लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. बिकास देवकोटाले प्रदेश सरकार अन्तर्गत रहेको बर्दिया अस्पताल सुदृढीकरण गर्न तथा जनताको स्वास्थ्य उपचारार्थ सबैले सहयोग गर्न अनुरोध गर्दै मन्त्रालयले गरिरहेका गतिविधि र सरकारका भावि योजनाहरुको बारेमा जानकारी दिए । तीन दिने अनुगमनमा निस्किएका श्रेष्ठले हिजो बाँके जिल्लामा बैठक तथा अनुगमन गरेका थिए ।