११ जेष्ठ दाङ । जिल्ला प्रशासन कार्यालय घोराही दाङमा जिल्ला कोभिड – १९ संकट व्यवस्थापन केन्द्रको सर्वपक्षीय विशेष बैठक सम्पन्न भएको छ । बैठकमा लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले लुम्बिनी प्रदेशमा पहिले भन्दा अक्सिजन व्यवस्थापन भएको तर प्रयाप्त नभएको बताउँदै, समग्र लुम्बिनी प्रदेशमा कोभिडका बिरामीको संख्या घटे पनि विश्वसनीय छैन तसर्थ स्वास्थ्य सतर्कता अपनाउनु पर्नेछ । उनले भने ‘अहिले राजनीतिक खिचातानी प्रमुख होइन जनताको जीवन बचाउनु प्रमुख हो ।’ उनले थपे ‘ ‘यो बेला १, २ वटा बाटो या पुल नबनाएर केही हुन्न जनताको स्वास्थ्य सुरक्षाको लागि स्वास्थ्य क्षेत्रमा बजेटको मात्रा बढाउनु पर्नेछ ।’ उनले कोभिडको यो महामारीमा पहिलो पंक्तिमा रहेर सेवा गर्ने चिकित्सक, स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिलाई धन्यवाद ज्ञापन गरे ।
दाङ जिल्लाका कोभिड उपचार गरेका अस्पतालहरू राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङ र सोही अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पताल बेलझुन्डी, मेट्रो अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन निरीक्षण पश्चात् जिल्ला प्रशासन कार्यालयमा बैठक बसेको हो ।
प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा पौडेलले विशेषगरी दाङ जिल्लाको वर्तमान कोरोना विशेष स्वास्थ्य अवस्था, कोरोना नियन्त्रणमा जिल्ला प्रशासन कार्यालयको समन्वयनमा चालेका गतिविधिको बारेमा जानकारी दिए ।
राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बिनोद सिंह, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. प्रज्ञा बस्नेत, बेलझुण्डी कोरोना अस्पतालका दोर्ण बहादुर ओली लगायतले आफू सम्बद्ध अस्पतालले प्रदान गरेका कोरोना विशेष स्वास्थ्य सेवाको जानकारी गराए । उनिहरुले जनताको स्वास्थ्य उपचार गर्नेतर्फ भरपुर प्रयास गरिरहेको बताउँदै, केही अस्पतालमा कार्मचारी अभाव भएको बताए ।
जिल्ला समन्वय समिति प्रमुख जितेन्द्रमान नेपाली , तुल्सिपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डे, घोराही उपमहानगरपालिका प्रमुख नरूलाल चौधरी, लमही नगरपालिका प्रमुख कुल बहादुर के सी, लगायत अन्य पालीका प्रमुखहरूले आ- आफ्नो पालिकाले कोरोना नियन्त्रणमा चालेका कदमबारे बैठकमा जानकारी गराए ।
लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. बिकास देवकोटाले दाङ जिल्लामा नेपाल सरकारले विभिन्न शिर्षकमा छुटयाएको बजेट बारे बताउँदै अस्पतालहरुको सुदृढीकरण गर्न तथा जनताको स्वास्थ्य उपचारार्थ सबैले सहयोग गर्न अनुरोध गरे । उनले मन्त्रालयले गरिरहेका गतिविधि र सरकारका भावि योजनाहरुको बारेमा जानकारी दिए । तीन दिने अनुगमनमा निस्किएका श्रेष्ठले बाँके – बर्दिया- हुँदै दाङ पुगेर विभिन्न अस्पतालको अनुगमन र कोरोना नियन्त्रण सम्बन्धि विषेश बैठक सम्पन्न गरेका छन ।