१५ जेठ काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा हाल सम्मकै ठूलो ७ दशमलव ४५ प्रतिशत बजेट ल्याएको छ । उक्त बजेटमा स्वास्थ्य क्षेत्रका लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ छुट्याएको छ। कोरोना भाइरसको महामारीपछि स्वास्थ्य क्षेत्रमा बजेटको आकार बढेको छ। तर खोप खरिद, कोभिड उपचार तथा नियन्त्रणबाहेक स्वास्थ्यका अन्य क्षेत्रमा भने बजेट कम मात्रामा छुट्याइएको छ । यो चालु आर्थिक वर्षको बजेटभन्दा १ दशमलव ३ प्रतिशत बढी हो । चालु आर्थिक वर्षमा ६ दशमलव १५ प्रतिशत बजेट छुट्याएको थियो।
विश्व स्वास्थ्य संगठनको सुझाव अनुसार कुल बजेटको १० प्रतिशत हाराहारीमा आउने अनुमान गरिएको थियो तर कोरोना भाइरसको महामारीपछि स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट बढ्ने अपेक्षा विज्ञहरूको थियो। बजेटले फेरि जनस्वास्थ्य विज्ञलाई निराश बनाएको छ।
बजेटको अंकको आधारमा आगामी आर्थिक वर्षमा चालु आर्थिक वर्षमा भन्दा ३२ अर्बभन्दा बढी हो। चालु आर्थिक वर्षमा स्वास्थ्यमा ९० अर्ब ६९ करोड बजेट बिनियोजन गरिएको छ।
यो पटक छुट्याइएको बजेट स्वास्थ्यमा हालसम्मकै धेरै हो। यसअघि ८ वर्ष पहिले स्वास्थ्यले कुल बजेटको ७ प्रतिशतभन्दा बढी बजेट पाएको थियो। आर्थिक वर्ष २०६७/६८ मा कुल बजेटको ७ दशमलव ४ प्रतिशत बजेट बिनियोजन भएको थियो।
स्वास्थ्यका मुख्य कार्यक्रम
– औषधि खरिदका लागि ५ अर्ब ६० करोड
– राजधानीमा ३०० शय्या र प्रदेशमा ५०-५० शय्याको सरुवा रोग अस्पतालका लागि १ अर्ब ३० करोड
– स्थानीय तहमा ५/१०/१५ शैयाका आधारभूत अस्पतालका लागि ६ अर्ब १५ करोड
– स्वास्थ्य स्वयं सेविकाको यातायात खर्चमा शतप्रतिशत बृद्धि, १२ हजार पुग्यो
– स्वास्थ्य विमा कार्यक्रम सबै स्थानीय तहमा पुर्याउन ७ अर्ब ५० करोड
– एक सय शैयाभन्दा बढी क्षमतामा अनिर्वाय अक्सिजन प्लान्ट
-;अक्सिजन उद्योग स्थापनाका लागि उपकरण आयात गर्दा भाग्ने भन्सार र मूल्य अभिबृद्धि करमा पुरै छुट
– जनशक्ति अभाव हुन नदिन सेवा निवृत्ति वा इन्टर्नशिपमा रहेका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीलाई तलब र ५० प्रतिशत जोखिम भत्ता पाउने गरी एक वर्षका लागि करारमा लिइने
– ४० वर्षमाथिका नागरिकको रत्तचाप, पिसाब तथा रगतमा ग्लुकोज जाँच, स्तन क्यान्सर र पोठेघरको मुखको क्यान्सरको वर्षमा एक पटक निःशुल्क परीक्षण
– कीर्तिपुरमा १५०० शैयाको अत्याधुनिक स्पेशियालिटी केन्द्र निर्माण सुरु गरी ३ वर्षमा सञ्चालनमा ल्याइने