१९ जेष्ठ, बुटवल । बालबालिका तथा महिलालाई केन्द्रमा राखेर स्वास्थ्य उपचार सेवा दिदै आएको आम्दा नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालमा बुधबार बाट ५ बेडको आईसियु र २ बेडको भेन्टिलेटर सेवा सहितको “बुटवल उद्योग बाणिज्य संघ, कोभिड १९ आई. सि. यु. वार्ड” शुभारम्भ भएको छ ।
शुभारम्भ गर्न पुगेका लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले आफू बुटवल नगरपालिकाको मेयर हुँदा अस्पताल सुरूवात भएको स्मरण गर्दै भने -‘ आईसियु र भेन्टिलेटर सहितको सेवा उदाहरणीय छ । आवस्यक थप सेवा बिस्तारको लागि अगाडि बढ्नुस्, संघिय सरकारको समन्वयनमा प्रदेश सरकारबाट आवश्यक बजेट आउनेछ ।’ प्रमुख अतिथिको रुपमा सहभागी श्रेष्ठले दाताले नि:शुल्क दिएको रगत अहिलेसम्म सशुल्क बितरण भएकोमा बिरामीले अब नि:शुल्क रगत पाउने बताए । ‘आमा सुरक्षा कार्यक्रम अति महत्त्वपूर्ण कार्यक्रम हो, जुन सेवा यो अस्पतालले दिएको छ । यसको बिस्तार र गुणस्तरमा सबैको योगदान रहने अपेक्षा राखेको छु ।’ उनले भने । उनले यो महामारीमा अस्पतालबाट गुणस्तरीय सेवा दिदै आएकोमा सम्बन्धित सबैप्रति धन्यवाद ज्ञापन गरे ।
बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कोभिड १९ महामारीका कारण उपचार अभावमा धेरैले ज्यान गुमाउनु परेकोमा स्तब्ध भएको बताउँदै उनले भने -‘उपचारको अभावमा कसैले पनि ज्यान गुमाउनु हुँदैन । बुटवल उद्योग बाणिज्य संघको तर्फबाट जति सकिन्छ भेन्टिलेटर सहित आईसीयु सेवा सञ्चालनमा ल्याएका छौं ।’
बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बुटवलको आम्दा अस्पताल जापानी र नेपाली श्रमिकको अन्तरसम्बन्धको चिनो भएको बताउँदै भने – ‘श्रमिकहरुको मायाको चिनो जोगाउनु हाम्रो दायित्व हो ।’
यस अघि बालबालिका तथा महिलालाई लक्षित गरि कोभिड १९ वार्ड High Dependency Unit (HDU) स्तरको १० बेड सञ्चालन गरेको अस्पताले बिरामीको समस्यालाई मध्यनजर गर्दै अस्पताल देखि चौराह,जोगिकुटी, अस्पताल लाइन र ट्राफिक चोक सम्म नि:शुल्क यातायात सेवा बुधबारदेखि सुरुवात गरेको र सेवालाई थप बिस्तार गर्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र प्रसाद बस्यालले बताए ।