माघ १५ बुटवल । निरोगी ब्यक्तिले रक्तदान गर्दा आफु स्वस्थ हुनका साथै बिरामीहरुको जीवन बचाउन सकिन्छ र त भनिन्छ ‘रक्तदान जीवन दान’ । ६१ औं राष्ट्रिय नर्सिङ दिवसको अवसरमा मेडिटेक इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर बुटवलमा रक्तदान कार्यक्रम गरेको छ । अस्पतालको सामाजिक उत्तरदायित्व बहनका कार्यक्रमहरु अन्तरगत अन्य कार्यक्रमको साथै रक्तदान कार्यक्रम आयोजना गरेको संस्थाका अध्यक्ष जेपी कंडेलले बताए ।
अस्पतालमा हप्ताका सातै बार विशेषज्ञ डाक्टरसंग फोनमार्फत सम्पर्क गरेर बिरामीले आफ्ना समस्या बताउने र विशेषज्ञ डाक्टरले परामर्श दिने ‘हेल्लो मेडिटेक कार्यक्रम’ सञ्चालन भैरहेको अस्पतालका प्रबन्ध निर्देशक गणेश ज्ञवालीले बताए । यसका साथै अस्पतालले ७० वर्ष पुगेका जेष्ठ नागरिक, विपन्न परिवार, सञ्चारकर्मीलाई निःशुल्क ओपिडी टिकट उपलब्ध गराउँदै आएको छ।
बिगत १५ वर्षदेखि शिक्षा र स्वास्थ्य सेवा दिँदै आएको अस्पतालले अपांग, जेष्ठ नागरिक, पहिलो गर्भ परीक्षण, पाठेघरको मुखको क्यान्सरको परीक्षण, सुगरको निःशुल्क जाँच, मुत्र रोगका बिरामीलाई सुगर परीक्षण लगायतका सेवा सुविधा दिएको छ । अस्पतालले निकट समयमा १०० शैयाको अस्पताल बनाउने योजना बनाएको छ । बुटवलको अस्पताललाई आधुनिक व्यवस्थापन सहित मणिग्राममा स्थानान्तरण गर्ने अस्पतालको योजना छ ।
गरिबको स्वास्थ्य सेवा पाउने मौलिक हकलाई निजी संस्थाको तर्फबाट समेत योगदान गर्ने प्रतिबद्धतासहित सरकारी मापदण्डअनुसार आगामी आर्थिक वर्षलाई स्वास्थ्य सहकार्यको वर्षको रुपमा मनाउने योजना रहेको ज्ञवालीले बताए । अस्पताल सरकारको मापदण्डअनुसार २४ सै घण्टा उपचार सेवा प्रदान गर्ने गरी विस्तार भइरहेको निर्देशक ज्ञवालीले स्वास्थ्यपत्रलाई बताए । आइतबार सम्पन्न रक्तदान कार्यक्रममा २४ युनिट रगत संकलन भएको छ ।