मायादेवी गाउँपालिका वडा नं. ८ रुपन्देहीमा रहेको शिक्षा तालिम केन्द्र वसडिलवामा स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनामा सिकलसेल तथा थालमेसिया रोग सम्वन्धी अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष धुर्व नारायण चौधरीले मायादेवी गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखी कार्यक्रम गरिरहेको र आगामी वर्ष शिक्षा, स्वास्थ्य र कृषीमा लगानी गर्ने बताए ।
सिकल सेल एनिमियाको अभिमुखिकरण कार्यक्रम जनचेतनामूलक कार्यक्रम रहेको बताउँदै वडा अध्यक्ष चोक बहादुर थापाले चाडपर्वमा दिइने आर्थिक सहयोगलाई कटौती गरेर भएपनि यस्ता कार्यक्रम गर्नुपर्ने बताए ।
कार्यक्रममा स्वास्थ्य कार्यलय रुन्देहीका रत्न शर्मा, जनस्वास्थ निरिक्षक सुरेश चौधरी तथा आधारमुल स्वास्थ्य सेवा केन्द्रका भास्कर आत्रेयले प्रशिक्षण दिएका थिए । मायादेवी गाउँपालिका वडा नं. ८ का वार्ड अध्यक्ष चोक बहादुर थापाको अध्यक्षता कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा निरु परियार, तुलसी सुवेदी लगायतले आफ्नो मन्तब्य राखेका थिए । जहाँ मायादेवी गाउँपालिका वडा नं. ८ का शिक्षक, महिला स्वास्थ स्वयंसेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधिहरु र थारु समुदायका अगुवा गरि ४० जनाको सहभागीता रहेको थियो ।
सिकलसेल एनिमिया के हो ?
वैज्ञानिकहरुले यसलाई कसरी एक आपसमा सम्बन्धित गरेका छन् भने शरीरले प्लाज्मोडिम फ्याल्सिपेरम मलेरियाबाट बच्नको लागि हाम्रो मानव शरीरको रक्तकोष हसियाको आकारमा परिवर्तन भई सिकलसेल जस्तो आकारमा बदलिन्छ । अर्थात ‘सिकल’ भनेको हसियाको आकार र ‘सेल’ भनेको रक्त कोषिका हो । त्यसैले यसको आकार परिवर्तन भइ हसियाको आकारमा बदलिन्छ । किनभने हसिया आकारको सिकलसेल भएको रक्तकोषिकालाई फ्याल्सिपेरम नामक मलेरियाले आक्रमण गर्न सक्दैैन । त्यो मलेरियाको प्रतिरोधको लागि उक्त कोषिकाले आकार परिवर्तन गर्दछ ।
आकार परिवर्तन हुने भएकैले यो सिकलसेल एनिमिया मलेरिया निश्चित जनसंख्या भएका ठाउँहरुमा मात्र देखिने गरेको पाइएको छ। नेपालमा सिकलसेल एनिमीया प्राय तराई भागमा देखा परेको छ। कैलाली, कन्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी जिल्लामा बसोवास गर्ने थारु समुदायमा देखा पोको छ।
सिकलसेल एनिमियाका लक्षण
सिकलसेल भएकाहरुमा सबैभन्दा पहिले रगत अल्पता हुन्छ । उनीहरुको शरीरबाट रगत कम हुँदै जान्छ । हात, खुट्टाको हड्डी, मेरुदण्ड तथा करङ्ग धेरै दुख्ने गर्छ । धेरै पीडा हुन्छ । साथै जण्डिस पनि देखा पर्छ । पेट दुख्छ ।
जाडोयाममा प्रायः बालबालिकालाई निमोनिया हुने गर्छ । कतिपय बालबालिकामा सिकलसेल रोग पहिचान हुनु पूर्व नै निमोनियाबाट मर्ने गर्छन् । ५० प्रतिशत बालबालिका सिकलसेल पहिचान नहुँदै निमोनियाबाट मर्ने गर्छन् । त्यस्तै पित्त थैलीको पत्थरी, कलेजो सुन्निने, फियो सुन्निने जटिलता उत्पन्न हुन्छ । यसले आँखामा समेत असर पार्छ ।
समग्रमा थारु जातीका किशोर किशोरीमा यी लक्षण देखा पर्ने हुँदा उनीहरुमा यी लक्षण देखा परे चाँडो भन्दा चाँडो रोगको पहिचान गरी उपचार गर्नु आवश्यक छ ।
सिकलसेलको उपचार
यसको यकिन उपचार त छैन । तर, समयमा रोगको उपचार भयो, औषधि भयो भने यो रोग चाँडै निको हुन सक्छ । त्यस्तै यस्ता रोगका विरामीको पाचन शक्ति कमजोर हुने भएकाले बच्चाहरुलाई दुई-दुई वर्षमा निमोनिया विरुद्धको खोप दिनुपर्छ । उनीहरुलाई बेला-बेलामा रगत चढाउनु पर्ने हुँदा समय-समयमा रगत जाँच गर्नुपर्छ ।
बच्चाहरुलाई निमोनियाबाट बचाउनु पर्ने हुँदा पेनेसिलिनको चक्की दिने, रगत बढाउन फोलिक एसिड दिइन्छ । धेरै गर्मीको मौसममा यस्ता रक्त कोषिका हसिया आकारमा परिणत हुने गर्दछ । त्यसैले धेरै चिसो तथा तातोबाट पनि रोगीलाई बचाउनु पर्छ ।
धेरै ज्वरो आएमा पनि विरामीलाई यो रोगले च्याप्ने हुँदा चिकित्सकहरुले धेरै पानी पिउन विरामीलाई परामर्श दिने गर्दछन् । त्यस्तै झोलिलो, पासिलो खानेकुरा खान सुझाव दिइन्छ । धेरै समस्या भएमा तुरुन्त नजिकैको स्वास्थ्य चौकी अथवा स्वास्थ्य संस्थामा गएर जचाउनु पर्दछ । यतिमात्र गर्न सकेपनि धेरै विरामीको ज्यान बच्न सक्छ ।