काठमाडौं – देशभर डेंगुको संक्रमण बढिरहेका बेला कृषिमन्त्री चक्रपाणि खनाललाई समेत संक्रमण देखिएको छ । रगत जाँचका क्रममा संक्रमण पुष्टि भएपछि खनाललाई बुधबार ग्रान्डी अस्पताल भर्ना गरिएको उनका प्रेस संयोज बोमलाल गिरीले जानकारी दिए ।
गत शुक्रबार हेटौंडाबाट फर्किएपछि खनालमा रुघाखोकी लाग्ने र ज्वरो आउने समस्या देखिएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रगत परीक्षण गरिएको थियो । उनको अवस्था सामान्य रहेको चिकित्सकलाई उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ ।
पछिल्लो समय देशका विभिन्न भागमा डेंगु संक्रमण फैलिरहेको छ । साउनयता राजधानीमै सयौं जनामा यो रोग देखिएको छ । शुक्रराज ट्रपिकल अस्पतालका निर्देशक शेरबहादुर पुनका अनुसार यो एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यस्तो लामखुट्टेको टोकाइबाट बच्नु नै रोकथामको प्राथमिक उपाय हो ।
पुनले केही दिनअघि डेंगु नियन्त्रण गर्न नागरिकमा सचेतना आवश्यक रहेको औंल्याएका थिए । यो रोग फैलाउने लामखुट्टे सफा पानीमा बस्ने र दिउँसोको समयमा मानिसलाई टोक्छ । त्यसैले घरभित्रको पानी पनि ढाकेर राख्न उनले सुझाएका छन् ।
‘डेंगु लामखुट्टेको जीवनचक्र चलाउन प्लास्टिकका टुटेफुटेका भाँडाकुँडा, पेयपदार्थका क्यानदेखि छतमा जमेको पानी नै काफी हुन्छ,’ पुनले भने, ‘सफापानीमा हुर्किने आनीबानीकै कारण यो लामखुट्टे काठमाडौंमा फैलिएको हो ।’ ललितपुर महानगरले संक्रमण बढेसँगै घरघरमा स्वयंसेवक परिचालन गरेर सचेतना अभियान सुरु गरेको छ । महानगरले माइकिङ र घरदैलो अभियान चलाएको छ ।
यो पनि पढ्नुहोस
https://pahilo.tinaunews.com/news/564/