गुल्मी । अब अत्याधुनिक गुल्मी अस्पताल निर्माण हुने भएको छ । अस्पतालले लामो समयदेखि भौतिक संरचनाको अभाव खेप्दै आएको थियो । अब त्यो समस्या हट्ने भएको छ । गुल्मी अस्पताल निर्माणको लागि राष्ट्रिय पुर्निमाण प्राधिकरणबाट ५५ करोड बढि बजेट बिनियोजन भएको गुल्मी अस्पताल विकास समितिका अध्यक्ष लक्ष्मण पराजुलीले बताए ।
अब बन्ने अस्पताल साढे छ तल्लकाको हुने छ । अहिले न्युनतम मापदण्ड निर्धारण प्रतिवेदन पनि प्राप्त भएकाले कार्तिकभर सवै प्रक्रिया पुरा गरेर मंसिरमा टेण्डरको काम गरिने पराजुलीले बताए । गुल्मी अस्पताल ०७१ सालमा ५० शैयामा स्तरबृद्धि भएको हो । तर भौतिक संरचनाको अभावमा पूर्ण कार्यान्वयन भएको थिएन् । अब सवै प्रकारको बिशेषज्ञसहितको सेवा प्रबाह गर्ने गरि अस्पताल निर्माण गरिने रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले बताए । गुल्मी अस्पताल, रेसुङ्गा एयरपोर्ट, रेसुङ्गा क्षेत्र जिल्लाकै प्रतिष्ठाको बिषय भएकाले योजनाबद्ध विकास अपरिहार्य रहेको भुसालले बताए ।
पैसा बोकेर अन्यत्र जानुपर्दैन ः मन्त्री बिष्ट
श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले मंगलबार अस्पताल निर्माण स्थल र डिपिआर रिर्पोटको पुन ः अध्ययन गरेका छन् । उनले अब स्तरिय स्वास्थ्य सेवाको अभावमा पाल्पा र बुटवल पुग्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गरे । मन्त्री बिष्टले स्रोत र साधन नभएका कारण गुणस्तरिय स्वास्थ्य सेवा नपाएका नागरिकको समस्या समाधानकै लागि निकै संघर्ष गरेर अस्पताल निर्माणको योजना समावेश गरिएको बताए । उनले बजेटको सहि कार्यान्वयन भए गुल्मेली जनता पैसा बोकेर उपचारको लागि अन्यत्र जानु नपर्ने बताए । ‘स्वास्थ्य क्षेत्रको विकासमा सरकार गम्भीर छ,’उनले भने,‘कोहि पनि उपचार नपाएर मर्नुपर्दैन ।’ जिल्ला भ्रमणका आएका बिष्टले अहिले गाउँमा धमाधम स्वास्थ्यचौकी भवन निर्माण र ‘एक स्थानीय तह एक १५ शैयाको अस्पताल’ निर्माणको योजना सरकारले अगाडी बढाएकाले जनताको घर दैलोमा स्वास्थ्य सेवा बिस्तार गरिने बताए ।