चिनियाँ अधिकारीहरूले नोवेल कोरोनाभाइरसका कारण १०६ जनाको मृत्यु भएको र ४,००० जनाभन्दा बढी सङ्क्रमित भएको बताएका छन्।
यसैबीच भाइरसलाई फैलिनबाट रोक्न चीनमा यातायात आवागमनमा थप कडाइ गरिएको छ।
भाइरस शुरू भएको वुहान शहर र त्यो शहर रहेको हुबे प्रान्तको अधिकांश स्थान बन्द जस्तै रहेको छ।
चीनभन्दा बाहिर पनि यसको सङ्क्रमण फैलिएको छ र मङ्गलवारसम्म कम्तीमा १६ देशमा ४७ सङ्क्रमणका घटना भएका छन्।
कोरोनाभाइरस: चीनभन्दा बाहिर ४७ जनालाई सङ्क्रमण
चीनका केही मुख्य शहरहरूले सार्वजनिक यातायात बन्द गरेका छन् र नयाँ वर्षको बिदा तीन दिन थपिएको छ।
अमेरिकाले आफ्ना नागरिकहरूलाई आफ्नो चीन यात्राबारे पुर्नविचार गर्न र हुबे प्रान्तमा यात्रा नगर्न सुझाएको छ।
अन्य थुप्रै देशहरूले चीनमा यात्रा नगर्न सुझाव दिनुका साथै त्यहाँ फँसेका आफ्ना नागरिकहरूलाई फिर्ता ल्याउन योजना बनाएका छन्।
चीनभन्दा बहिर भने हालसम्म कोरोनाभाइरसको सङ्क्रमणका कारण कसैको मृत्यु भएको छैन।
– एजेन्सी