आइतवार, साउन ३, २०८३ Sunday 19th of July 2026

खिर खानु स्वास्थ्यका लागि फाइदै फाइदा

  • प्रकाशित मिति : शुक्रबार, साउन १५, २०७८


खिर खानु स्वास्थ्यका लागि फाइदै फाइदा

१५ साउन काठमाडौं । साउन १५ मा सबैलाई खिर खाने चटारो हुन्छ । नेपाली समाजमा परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता छ । कृषि उपजसँग सरोकार राख्ने खिर सम्झँदा नै सबैको जिब्रो रसाइहाल्ने खाद्य पदार्थमा गनिँदै आएको छ । आज मुलुकभर खिर खाएर साउन १५ मनाइँदै छ । साउन १५ मा खिर खानु सांस्कृतिक मात्रै नभई वैज्ञानिक महत्व पनि रहेको छ ।

 

आयुर्वेद चिकित्सक डा. अमितमान जोशीले भनेः’वर्षात्को समय तथा गर्मी महिना भएकाले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले रोग प्रतिरोधात्मक शक्ति बढाउनुपर्ने हुन्छ ।’ उनका अनुसार चामल, दूध, नरिबल, छोकडा, अन्य ड्राई फ्रुट्स र चिनी हालेर खिर बनाउने हाम्रो चलन छ । उनले अगाडी थपे ‘ चामलमा कार्बोहाइड्रेट पाइन्छ । खिरमा हालिने अन्य सामग्रीले भिटामिन र मिनरल्स आपूर्ति गर्छ, त्यसैले थोरै खाएर धेरै पोषण प्राप्त गर्ने खानेकुरा खिर हो ।’

 

लामो समय स्वास्थ्य यथास्थितिमा राख्नुपर्ने समयमा खिरको सेवन राम्रो मानिन्छ । साउन महिनाभर खिर खानु राम्रो हुने विश्वास पश्चिम नेपालमा छ । नेपाल कृषिप्रधान देश भएको र बहुसङ्ख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकले धान रोपेर काम सकेपछि खुसियाली स्वरूप खिर खाने परम्परा विकास भएको संस्कृतिविद् सत्यमोहन जोशीले जानकारी दिए । उनले नेपालमा मात्रै नभएर भारतमा पनि साउन महिनामा खिर खाएमा धेरै शुभ हुने मान्यता रहेको पाइएको बताए । संस्कृतविद् जोशीले थपे साउन महिनाको सुरुआतमा मासुभन्दा पहिले दूधको परिकार खानुपर्छ भनेर नेपालीले साउन १५ मात्र होइन, सङ्क्रान्तिमा पनि खिर खाने गर्दछन् ।’

हिन्दू धर्मावलम्बीहरूका लागि साउन महिना शिवपूजन महिना भएकाले एक महिनासम्म माछा मासु नखाएर बस्ने गरेको पनि पाइन्छ । शुद्ध, स्वास्थ्यबद्र्धक तथा खान पनि सहज भएकै कारण बच्चाको अन्न खुवाई सुरुवात समेत खिर खुवाएर गरिने प्रचलन छ । सनातन वैदिक सभ्यताअनुसार पूजाआजा तथा शुभकार्यमा खिरलाई प्रसादका रूपमा लिइन्छ । पारिवारिक भेटघाट तथा चाडपर्व र विशेष दिनमा खिरको पोषिलो परिकार बनाई खाने चलन रहेको छ ।

 

आयुर्वेद अस्पताल नरदेवीका चिकित्सक डा. सरिता बजगाईंका अनुसार अहिले शरीरमा पित्त सञ्चित हुने ऋतु भएकाले खिर खान उपयुक्त मानिन्छ । दूधमा शीतलपन प्रदान गर्ने मधुर गुण हुन्छ, मरिचले कफ हटाउन मद्दत गर्छ भने नरिबललाई आयुर्वेदमा निकृष्ट फल मानिए पनि यसमा शीतलता प्रदान गर्ने गुण हुन्छ दाख अग्निबद्र्धक भएकाले यसले पित्त नास गर्ने क्षमता राख्छ । केसरले बल प्रदान गर्छ, वर्ण चहकिलो पार्छ र पित्त नास गर्छ । चिनीमा पनि यस्तै गुण रहेकाले यो ऋतुमा खिर भोजन गर्नु लाभप्रद हुन्छ । (गोरखापत्र दैनिकबाट)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra