शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

थाइराइड के हो ? थाइराइड सम्बन्धि जानकारी

  • टीका पाण्डे
  • प्रकाशित मिति : शुक्रबार, साउन १७, २०७६


थाइराइड के हो ? थाइराइड सम्बन्धि जानकारी

परिचय :
रुद्रघण्टी भन्दा मुनि श्वासनलीको अघिल्तिर श्वासनली सँगै टाँसिएर बसेको पुतली आकारको झण्डै ४ सेमी लामो गलग्रन्थीलाई थाइराइड भनिन्छ । थाइराइडले थाइरोक्सिन (T4) र ट्राइआयोडोथाइरोनिन (T3) नामक दुई किसिमका हर्मोनहरु उत्पादन गर्दछ जसलाई समग्रमा थाइराइड हर्मोन भनेर चिनिन्छ । यसरी उत्पादित हर्मोनको मुख्य काम भनेको शरीरको मेटाबोलिजम नियन्त्रण गर्नु हो । जसले शरीरलाई फुर्तिलो बनाउने काम गर्छ । डाक्टरी भाषामा भन्नुपर्दा यसको काम भनेको शरीरलाई बढी भन्दा बढी अक्सिजन उपयोग गर्न सक्ने बनाउनु र प्रोटीनको निर्माणमा उत्प्रेरकको भूमिका खेल्नु हो । थाइराइड ग्रन्थीबाट उत्पन्न हुने हर्मोनमा घटबढ भएर शरीरमा देखिने समस्यालाई सामान्यतया थाइराइड भन्ने गरिए पनि यसलाई थाइराइड बिकार भनेर बुझ्नु पर्छ । यो बच्चा देखि बूढा सम्म जो कसैलाई पनि हुन सक्छ तर पुरुषको तुलनामा महिलामा बढी देखिने हुन्छ । कसैलाई थाइराइडबाट उत्पादित हर्मोनको मात्रामा कमी हुने हुन्छ भने कसैलाई यसको मात्रा बढी हुन जान्छ । तर कसै कसैको थाइराइडमा गिर्खा समेत आउने हुनसक्छ ।

थाइराइडको समस्या विशेष गरी दुई प्रकारको हुन्छन – थाइराइड ग्रन्थीले शरीरमा आवश्यक भन्दा कम हार्मोन उत्पादन गरेमा त्यसलाई हाइपोथाइरोइडिज्म भनिन्छ भने शरीरमा आवश्यक भन्दा बढी हर्मोन उत्पादन हुने अवस्थालाई हाइपरथाइरोइडिज्म भनिन्छ । थाइराइड बिकार लाई सामान्य रोग ठानेर हेलचक्र्याईं गर्नु हुँदैन । समय मै यसको उपचार गरिएन भने यसले क्यान्सरको रुप समेत लिन सक्दछ ।

थाइराईड हुनुका कारक तत्त्व :

थाइराइड ग्रन्थी लाई संचालन गर्ने काम हाम्रो मस्तिष्क मा रहेको पिट्यूटरी ग्रन्थीको हो । सो ग्रन्थीबाट थाइराइड स्टिमुलेटिङ हर्मोन (TSH) ले थाइराइड ग्रन्थीको कार्यमा उत्प्रेरकको भूमिका खेल्दछ । यदि थाइराइडले बढी मात्रामा हर्मोनहरुको उत्पादन गर्यो भने पिट्यूटरी ग्रन्थीले अवस्था हेरेर TSH को उत्पादन केही समयका लागि घटाउँछ वा बन्द गर्छ । त्यसै गरी थाइराइडले कम हर्मोन उत्पादन गर्यो भने TSH को उत्पादन बढाउँछ । तर यदि TSH को उत्पादनमा असन्तुलन भयो भने थाइराइड ग्रन्थीले उत्पादन गर्ने हर्मोनमा पनि असन्तुलन देखा पर्दछ । कहिलेकाहीं स्वयं थाइराइड ग्रन्थीमा खराबी आउनाले पनि उसले उत्पादन गर्ने हर्मोनमा असन्तुलन देखा पर्ने हुन्छ । यिनै कारणहरुले थाइराइड बिकारको जन्म हुन्छ । थाइराइड बिकार कै एक समस्याका रुपमा लिइने गलगाँड खानपानमा आयोडिनको कमीले हुने गर्छ । यसरी थाइराइड बिकारका कारण जान्न हाइपोथाइराइडिज्म तथा हाइपरथाइराइडिज्म लाई अलग अलग किसिमले हेर्नुपर्ने हुन्छ ।

हाइपोथाइराइडिज्म : जब थाइराइड ग्रन्थीले निम्न कारण ले गर्दा चाहिने जति हर्मोनहरु को उत्पादन गर्न सक्दैन तब यो समस्या देखिन्छ । खानपान मा आयोडिन को कमी, नेपालमा यो एक जटिल समस्या हो । थाइराइड ग्रन्थी ले उत्पादन गर्ने हर्मोनहरुमा आयोडिनको पनि आवश्यकता पर्छ । आयोडिनको कमीले उसले चाहे जति हर्मोनहरु उत्पादन गर्न सक्दैन र हाइपोथाइराइडिज्म हुन्छ ।
हाशिमोटो रोग : हाम्रो आफ्नै रोग प्रतिरोध प्रणालीले थाइराइड ग्रन्थीलाई आक्रमण गरे पछि थाइराइड ग्रन्थी क्षतिग्रस्त हुन गई राम्रो सँग काम गर्न नसक्ने हुन्छ । यस किसिमको समस्या लाई हाशिमोटो रोगका रुपमा बुझिन्छ । थाइराइड ग्रन्थीमा क्षति पुग्ने रेडियो विकिरणका कारण वा शल्यक्रिया द्वारा थाइराइड ग्रन्थी नै हटाएको अवस्थामा पनि यो समस्या देखा पर्दछ । कतिपय ‌औषधिहरुको दुष्प्रभावका कारण पनि यो समस्या हुन सक्छ । जसमा लिथियम युक्त औषधिहरु प्रमुख मानिन्छन् ।
हाइपरथाइराइडिज्म : जब थाइराइड ग्रन्थीले निम्न कारणले गर्दा चाहिने भन्दा बढ्ता हर्मोनहरुको उत्पादन गर्न थाल्छ तब यो समस्या देखिन्छ ।
ग्रेभ्स रोग : हाम्रो आफ्नै रोगप्रतिरोध प्रणाली गडबड हुन गई बढ्ता थाइराइड हर्मोन उत्पादन हुने समस्या लाई ग्रेभ्स रोगका नामले चिनिन्छ । थाइराइड ग्रन्थीमा रहेका कतिपय कोषहरु चाहिने भन्दा धेरै सक्रिय भए भने पनि हाइपरथाइराइडिज्म हुन सक्छ । थाइराइड ग्रन्थी चाहिने भन्दा बढ्ता ठूलो भयो भने पनि हाइपरथाइराइडिज्म हुने सम्भावना हुन्छ । चाहिने भन्दा बढ्ता थाइराइड हर्मोनको सेवनले पनि यो समस्या आइपर्न सक्छ ।

थाइराइडका लक्षणहरु :

थाइराइड बिकारको किसिम अनुसार यसका लक्षण लाई दुई भाग मा बाँड्न सकिन्छ-

(क) हाइपोथाइरोइडिज्म : रगत मा T3 र T4 को मात्रा घट्न गयो भने स्वाभाविक रुपले शरीरका उपापचय (मेटाबोलिजम) न्यूनता आउँछ र शरीर मा निम्न लक्षणहरु देखा पर्छन्-

१.आलस्यता
२.छालामा शुष्कता
३.कपाल झर्नु
४.महिनाबारीमा गडबडी
५.कब्जियत
६.जाडो खप्न नसक्नु
७.मांसपेशी बाउँडिनु
८.कमजोरी हुनु
९.मोटोपन बढ्नु
१०.मुटुको धड्कन कम हुनु

(ख) हाइपरथाइरोइडिज्म : रगत मा T3 र T4 को मात्रा बढ्न गयो भने स्वाभाविक रुपले शरीरका उपापचय (मेटाबोलिजम) मा चाहिने भन्दा बढी तिब्रता आउँछ र शरीरमा निम्न लक्षणहरु देखा पर्छन्-

१.मुटुको धड्कन बढ्नु सँगै पल्पिटेशन हुनु
२.रक्तचापमा वृद्धि
३.शरीर बाट बढ्ता पसिना निस्कनु
४.तारन्तार दिसा लाग्नु वा पातलो दिसा हुनु
५.अत्याहट र छटपटी हुनु
६.धेरै भोक लाग्नु र खानु तर तौल नबढ्नु
७. राम्ररी निद्रा नपर्नु
८.आँखा वरिपरि को भाग फुल्नु
९. महिनाबारी रोकिनु वा गडबडी हुनु

रोगको निदान :

बिरामीका लक्षणहरुका आधारमा थाइराइड बिकारको शंका गरिन्छ र प्रयोगशालामा रगतको जाँच गरे पछि थाइराइड बिकार भए नभएको यकीन हुन्छ । प्रयोगशालामा गरिने जाँचहरु निम्न प्रकार का हुन सक्छन्-

रगत मा ट्राइआयोडोथाइरोनिन (T3) तथा थाइरोक्सिन (T4) हर्मोन को मात्रा ।
रगत मा थाइराइड स्टिमुलेटिङ हर्मोन (TSH) को मात्रा ।

(लेखक फार्मासिष्ट हुन)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra