बुधबार, साउन ९, २०८१ Wednesday 24th of July 2024

भिरिंगी के हो ? कसरी सर्छ ? लक्षणहरु कस्ताकस्ता हुन्छन् ?

  • प्रकाशित मिति : सोमवार, भदौ ९, २०७६


भिरिंगी के हो ? कसरी सर्छ ? लक्षणहरु कस्ताकस्ता हुन्छन् ?

बुटवल — भिरिंगी ट्रेपोनेमा पालिडम नामक किटाणुका कारण लाग्ने यौन रोग हो । यसलाई अंग्रेजीमा सिफिलिस भनिन्छ ।

यो सरुवा रोग हो ? के कारणले यो रोग लाग्ने गर्छ ?

विशेषगरी असुरक्षित यौन सम्पर्कका कारणले यो रोग लाग्ने गर्छ । यौन सम्पर्कमा सक्रियलाई यो रोग लाग्ने गर्छ । यो एकबाट अर्कामा सर्छ । ब्लड ट्रान्सफ्युजनबाट पनि यो सर्न सक्छ । त्यसैगरी गर्भवती महिलालाई भिरिंगी भएको छ भने पेटमा भएको बच्चालाई पनि सर्न सक्छ । साथै भिरिंगीको घाउ छोएमा पनि सर्न सक्छ ।

यसका लक्षण के-कस्ता हुन्छन् ?

भिरिंगीलाई सामान्यतयाः तीन भागमा विभाजन गरिएको छ । लक्षण पनि सोही अनुसारको देखिन्छ । पहिलो अवस्थाको भिरिंगीमा यौनांग नदुख्ने नचिलाउने सर्टको बटन जस्तो कडा खालको घाऊ आउँछ । यो सामान्यतया एउटा मात्र आउँछ । यस्तो घाउ असुरक्षित सम्पर्कको ९ देखि ९० दिनसम्म आउन सक्छ । घाउ उपचार नगरेपनि ३ देखि ६ हप्तामा आफैं निको हुन्छ । यस्तो घाउ आएको करिब ३ हप्तापछि रगत जाँच गर्दा किटाणु देखिन्छ ।

दोस्रो अवस्थाको भिरिंगीमा पहिलो अवस्थाको घाउ देखेको करिब ६ हप्तापछि आउँछ । यो अवस्थामा हातखुट्टा, जिउमा नदुख्ने नचिलाउने खटिराहरु देखिन्छन् । त्यसैगरी ज्वरो आउने घाँटी दुख्ने, जोर्नी दुख्ने जस्ता समस्याहरु पनि देखिन्छन् ।

तेस्रो अवस्थामा भने यो रोगले आँखा, नशा, मुटु तथा जोर्नीमा असर गर्छ । कुनै मानिसलाई पहिलो अवस्थाको रोग नदेखिकन दोस्रो वा तेस्रो अवस्थाको रोग देखिन पनि सक्छ ।

यसको उपचार संभव छ ? महिला या पुरुष कसमा बढी देखिन्छ ?

पहिलो तथा दोस्रो अवस्था भिरिंगी भने सहजै उपचार गर्न सकिन्छ । सामान्य औषधिको प्रयोगले यो निको हुन्छ । तेस्रो अवस्थाको उपचार भने केही जटिल छ । अरु विधाका चिकित्सक मिलेर उपचार गर्नुपर्ने हुन्छ । उपचारमा आएका बिरामीमध्ये महिलाभन्दा पुरुषमा बढी यो देखिएको छ । २० देखि ३५ वर्षका पुरुषमा बढी भिरिंगी भएको पाइन्छ ।

वैदशिक रोजगारीमा जान समस्या हुन्छ ?

भिरिंगी उपचारको प्रक्रियामा दुइओटा रगत जाँचको विशेष महत्व हुन्छ । एउटा ‘टिपिएच ए’ र ‘भिडीआरएल’ । उपचार गरेपछि ‘भिडी आर एल’को मात्रा बिस्तारै घट्दै जान्छ भने ‘टिपिएचए’ भन्ने परीक्षण एकपटक पोजटिभ भएपछि फेरि नेगेटिभ हुँदैन । त्यसैले उपचारपछि रोग निको भएपनि ‘टिपिएचए’ भन्ने टेस्ट नेगेटिभ नहुने हुनाले वैदेशिक रोजगारीमा जानका लागि समस्या हुनसक्छ ।

छाला तथा यौन रोग विशेषज्ञ डाक्टरसँगको कुराकानीमा आधारित मधु भण्डारीको सामाग्री

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra