शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

बुटवलमा विश्व स्वास्थ्य सङ्गठनको ‘हिँड्दै कुरा गर’ अभियान

  • ✍️ कृष्ण गाउँले
  • प्रकाशित मिति : शनिबार, साउन १६, २०७८


बुटवलमा विश्व स्वास्थ्य सङ्गठनको ‘हिँड्दै कुरा गर’ अभियान

१६ साउन, बुटवल । विश्व स्वास्थ्य सङ्गठनले शारीरिक व्यायामका माध्यमबाट शरीरलाई स्वस्थ राख्ने उद्देश्यले प्रदेश मुकाम बुटवलमा ‘हिँड्दै कुरा गर’ (वाक द टक) अभियान निरन्तरता दिएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठको नेतृत्वको टोली आज बिहान लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बुटवल मिलनचोकबाट यात्रा सुरुगरेर बुटवलको हिलपार्क पुगेर पुन मन्त्रालय फर्किएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले आफ्नो ७० औँ वार्षिकोत्सवका अवसरमा सन् २०१८ देखि वाक द टक अभियान चलाउँदै आएको छ । अभियानमा सहभागी मन्त्री भोजप्रसाद श्रेष्ठले विश्वभरि नै कोभिडको महामारीले जनमानसको स्वास्थ्यमा थप चुनौती पैदा भएको अवस्थामा वाक द टक कार्यक्रमको महत्व झनै बढेको बताए । उनले आफ्ना कामकाज व्यवस्थित गर्न शारीरिक र मानसिक रुपमा स्वस्थ्य हुनुपर्ने बताए ।

श्रेष्ठले हरेक मानिसले आफ्नो स्वास्थ्य मुख्य प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै यसका लागि हरेकले हिँड्दै कुरा गर्ने बानीको विकास गर्नुपर्ने बताए । उनले भने, “हिँड्दै कुरा गर्ने बानी बसाल्नु पर्छ, जसले शरीरका अङ्गहरु स्वस्थ्य राख्न सकिन्छ र मानसिक तनाव पनि कम गर्न सहयोग पुग्छ ।”


वाक द टक अभियानमा सहभागी भएका लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले विश्व स्वास्थ्य सङ्गठनले कोभिड महामारी नियन्त्रणका लागि नेपालमा निकै प्रभावकारी ढङ्गले काम गरेको बताउँदै यो अभियानले आम मानिसमा स्वास्थ्यका लागि हिँडाइ पनि महत्वपूर्ण हुने सन्देश दिने भएकाले अभियानलाई निरन्तरता दिन आग्रह गरे ।लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरीले सामुहिक अनौपचारिक रुपमा कुरा गर्दै हिड्दा एक आपसमा खुलेर आफ्ना कुरा राख्न सकिने हुँदा जसको सकारात्मक प्रभाव नियमित कार्यसम्पादनमा पुग्ने बताए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा पुष्पराज पौडेल, मन्त्रीका स्वकीय सचिव माधव सापकोटा, विश्व स्वास्थ्य सङ्गठनका कर्मचारी , लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पदाधिकारी तथा कर्मचारी, पत्रकार लगायत सहभागीता रहेको थियो ।

नियमित शारीरिक व्यायाम, स्वस्थ खाना, पर्याप्त निद्रा र मदिरारहित जीवन यो अभियानको मुख्य उद्देश्य रहेको विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि हरिप्रसाद भुसालले जानकारी दिए । उनले यो अभियान पहिलोपटक जेनेभाबाट शुरु भएको जनाउँदै विभिन्न क्षेत्रका व्यक्ति यसरी बिहानी हिँडाइ गर्दा फरक फरक क्षेत्रका अनुभव आदानप्रदान हुने र त्यस्ता अनुभवले नीति तथा योजना निर्माणमा सहयोगी बन्ने बताए । विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रमुख डा.राजेशको नेतृत्वमा यसवर्ष गत शनिबार बिहान बुद्ध जन्मस्थल लुम्बिनीबाट अभियानको शुरुवात गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra