बुटवल, २३ साउन ।
बुटलमा नेपाल मास्क अभियान (श्रावण २३ – २९, २०७८) संचालन गरिएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता ‘ भन्ने मूल नाराका साथ शनिबार बिहान बुटवलमा लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठको नेतृत्वमा विश्व स्वास्थ्य संगठनको ‘हिँड्दै कुरा गर’ अभियान लाई जोड्दै लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयदेखि मणिमुकुन्द सेन उद्यान (फूलबारी) पुगेर पुन मन्त्रालय फर्किएको छ ।
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९ ) संक्रमण दिनप्रतिदिन बढ्दै गएको हुनाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गर्दै यो मास्क अभियान सुरु गरिएको मन्त्री भोजप्रसाद श्रेष्ठले बताए । उनले भने -‘म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु, भन्ने चिन्तनको विकास सबैमा हुनुपर्छ ।’ उनले कोभिड – १९ को नयाँ भेरियन्टको महामारी सुरुवात भएकोले सबै नागरिकलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन अनुरोध गर्दै अनिवार्य मास्क प्रयोग, भौतिक दूरी कायम तथा व्यक्तिगत सरसफाईमा ध्यान दिन आग्रह गरे ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदकुमार गिरीले हरेक नागरिकले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनु पर्ने बताउँदै उनले भने मास्कको सहि प्रयोग, नियमित साबुनपानीले हात धुने बानीका साथै व्यक्तिगत सरसफाइमा ध्यान दिन सके कोभिड जस्ता रोगबाट बच्न सकिन्छ । कार्यक्रम संयोजक लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नेत्रलाल अर्यालले अभियनको बारे बताउदै भने ‘मास्क भनेको पहिलो खोप हो । सहि तरिकाले प्रयोग गरेमा मास्क भ्याक्सिन भन्दा बढि प्रभावकारी हुन्छ । मास्क सप्ताह लाई आफ्नो स्थानबाट सफल पारौँ ।’
बिहानै उपस्थित पाहुनालाई स्वागत गर्दै मणिमुकुन्द सेन उद्यान (फूलबारी)का अध्यक्ष खेम प्रसाद लुइटेल तथा व्यवस्थापक विक्रम बस्यालले पार्कको ऐतिहासिक, पर्यटकिय, पुरातात्वीक तथा वातावरणिय महत्वबारे प्रकाश पारे । अभियानमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उप सचिव राजेन्द्र पन्थी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कर्मचारी, विश्व स्वास्थ्य सङ्गठनलगाएत विभिन्न सहयोगी निकायका प्रतिनिधिहरु लगायतको सहभागीता रहेको थियो ।