आइतवार, साउन ३, २०८३ Sunday 19th of July 2026

जाडोमा स्वस्थ रहन के गर्ने – १० उपायहरू

  • स्वास्थ्य पत्र सम्बाददाता
  • प्रकाशित मिति : शनिबार, पुस २६, २०७६


जाडोमा स्वस्थ रहन के गर्ने – १० उपायहरू

जाडो मौसम बृद्धबृद्धा, बालबालिका, रोगीहरुका लागि अनुकुल मानिदैन । यतिबेला उच्च रक्तचाप, युरिक एसिड, दम आदिका रोगीले निकै सास्ती व्यहोर्नुपर्छ । तसर्थ जाडोमा स्वस्थ रहन यी उपाय रचौं –

खानपानमा ध्यान दिने

जाडो मौसममा सुप, तरकारी, फलफूलजस्ता खानालाई सकेसम्म नियमित गर्नुपर्छ। सखरखण्ड, हरियो सागसब्जी, चुकन्दर, अदुवा, लसुन, केराजस्ता तरकारी र फलफूल खाने गर्नाले शरीरलाई ऊर्जा मिल्नुका साथै शरीरको रोगप्रतिरोधी क्षमता पनि बढ्छ। तरकारी र गेडागुडीको झोल जाडो मौसममा बढी खाने गर्नुपर्छ।

शरीरलाई क्रियाशील राख्ने

जाडो मौसममा बाहिर हिँडडुल गर्न अल्छी गर्ने, फुर्सद पाउनसाथ सिरक ओढेर सुत्ने बानी धेरैको हुने गर्छ। यस्तो बानी सुधार्नुपर्छ। बिहान सामान्य व्यायाम गर्ने, हिँडडुल गर्ने, फुर्सदको समयमा करेसाबारीमा आफूलाई व्यस्त राख्ने आदि काम गरेमा शरीरलाई आवश्यक ताप र ऊर्जा प्राप्त हुन्छ। जसले गर्दा रुघाखोकीजस्ता रोग लाग्ने जोखिम घट्छ।

आवस्यक सुत्ने

वयस्कहरूका लागि प्रतिदिन सातदेखि आठ घण्टासम्मको निद्रा उपयुक्त हुन्छ। पर्याप्त निदाइएन भने शरीर कमजोर हुने र रोग लाग्ने जोखिम बढ्ने भएकाले सुत्न कञ्जुस्याइँ गर्नु हुँदैन। राम्रोसँग निदाउनका लागि नियमित व्यायाम गर्ने, योग गर्ने, मदिरा र चुरोट कम गर्ने, क्याफिनजन्य पदार्थको मात्रा घटाउने गर्नुपर्छ।

शरीरको तौल बढ्न नदिने

जाडो मौसममा शारीरिक श्रम र व्यायाम कम हुने गर्छ। मसलादार र चिल्लो खाना खाने रुचि जाडोमा बढी हुन्छ। त्यसैले जाडोमा मानिस मोटाउने गर्छन्। त्यसैले मोटाएर खास गरी पेटतिरको भागमा बोसो जम्मा हुन नपाओस् भन्नेमा सचेत हुनुपर्छ। किनकि, जाडोमा लागेको पेट र बोसोले दीर्घकालीन रोग लाग्ने सम्भावना बढाइदिन्छ।

छालाको सरसफाइमा ध्यान दिने

जाडो मौसममा छाला फुट्ने र फुस्रो हुने, ओठमा घाउ हुनेजस्ता समस्या देखापर्ने गर्छन्। जाडोमा कम नुहाइने भएकाले लुतोलगायत एलर्जी छालामा लाग्ने जोखिम जाडोमा बढी हुन्छ। यसबाट बच्न सरसफाइमा ध्यान दिनुपर्छ। छाला फुस्रो नहोस् र नफुटोस् भन्नका लागि नियमित छाला म्वइस्चराइज गर्नुपर्छ।

रक्तसञ्चार सुचारु राख्ने

जाडोमा रगत जम्ने भएकाले रक्तसञ्चार राम्रोसँग हुन पाउँदैन, जसले गर्दा हातखुट्टा चिसो हुने आदि हुन्छ। यस्तो हुन नदिन हिँडडुल गरिरहने, व्यायाम गर्ने, बसेर काम गर्दैगर्दा बीचबीचमा उठेर यताउति टहल्ने, मोजा–पञ्जा आदि लगाउने गर्नुपर्छ। रगत राम्रोसँग सञ्चार हुन पाएन र जम्यो भने यसले शरीरमा विभिन्न हानि पुर्याउँछ।

तातो पेय पदार्थ पिउने

जाडो मौसममा चिसो पानी वा पेय पदार्थ नपिउनु नै राम्रो हुन्छ। तातो पानी पिउने गर्नाले रुघाखोकी नलाग्ने, कफ नजम्ने, घाँटी नदुख्ने हुन्छ। जाडोमा पानी पिउने रुचि कम हुन्छ। त्यही भएर पानीको मात्रा बढाउन तरकारी र दालको झोल बढी पिउने गर्नुपर्छ। साथै, दिउँसोतिर बेलाबेलामा ठूलो ग्लासमा ग्रिन टी, हर्बल टी आदि पिउने गर्नाले पानीको मात्रा बढ्छ। जसले शरीर र छालामा पानीको कमीका कारण देखापर्ने समस्या रोक्छ।

तनावरहित हुने

तनावका कारण मानसिकसँगै शारीरिक रोग लाग्ने जोखिम बढ्ने भएकाले तनाव कम गर्न योग गर्ने, मनमा नराम्रो कुरा नखेलाउने, आफ्नो र सबैको भलो सोच्ने आदि गर्नुपर्छ।

तातो कपडा लगाउने

कतिपय अवस्थामा हामीले कपडा लगाउनमा हेलचेक्य्राइँ गर्छौं र जाडोमा त्यति न्यानो कपडा नलगाई बाहिर निस्कने गर्छौं। यस्तो गर्नु हुँदैन। छातीमा कफ जम्ने, चिसोको कारण घाँटी खसखस हुने, दुख्ने आदि गरेको छ भने छाती र घाँटी छोप्ने खालका कपडा, मफलर लगाउनुपर्छ। न्यानो कपडा नलगाए चिसो गढ्ने, रुघाखोकी बल्झिने, टन्सिल हुने सम्भावना रहन्छ।

रोगी/बिरामीबाट परै रहने

रुघाखोकी आदि सर्ने भएकाले यस्ता रोग लागेका मानिसबाट परै रहनुपर्छ। त्यस्ता मानिससँग कुरा गर्दा दूरी कायम गर्ने, हात मिलाउनुको सट्टा नमस्कार गर्ने आदि गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

Subscribe

© copyright 2016-2026 and all right reserved to Swasthaya Patra