प्रज्ञा पाण्डे
नेपालमा नसिङ विषयमा स्नातकोत्तर र बिद्यावारिधि तहको समेत पढाइ हुनेगर्छ । नर्सिङ पेशालाई विश्वव्यापी रुपमै एक सम्मानित पेशा मानिन्छ । मानव स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सेवा प्रदान गर्न यो पेशा अत्यन्तै महत्वपूर्ण छ । नेपालमा पनि नर्सिङ पेशाले आमजनताको मन जित्न सफल नै भएको छ । विगतका विभिन्न बाधा व्यवधानसँग जुधेर हाल नर्सिङ पेशा विकसित अवस्थामा आउन सफल भएको हो ।
यतिबेला अभिभावक तथा विधार्थीको पहिलो रोजाइको विषय नर्सिङ बनेको छ । विश्व विद्यालय एवं अन्य शैक्षिक संस्थाबाट सञ्चालन गरिने नर्सिङ प्रवेश परिक्षा उत्तिर्ण गर्न विद्यार्थी एस.इ.इ. पछि नै धमाधम तयारी गरिरहेका भेटिन्छन् । सेवामुलक नर्सिङ पेशामा भविष्य देख्ने विद्यार्थीको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । एकातिर नेपालमै जागिरको केहि सम्भावना र अर्कोतर्फ विदेश जान इच्छुकका लागि पनि नर्सिङ शिक्षा सहयोगी हुने भएकाले विद्यार्थीको आकर्षण बढेको छ । उत्पादनको तुलनामा रोजगारीको अवसर स्वदेशमा न्यून भएकाले अहिले विदेसिने नर्सको संख्या उल्लेखनीय रहेको छ ।
पछिल्लो समय अभिभावक तथा विद्यार्थी जुन उत्साहका साथ लगानी गरेर नर्सिङ शिक्षामा होमिएका छन् त्यस अनुरुप देशमा पर्याप्त अवसर भने उपलब्ध हुन सकेको छैन । जुन अनुपातमा नर्सिङ जनशक्ति उत्पादन भइरहेको छ, त्यस अनुरुप नयाँ रोजगारी सिर्जना नहुँदा अध्ययन सकेर बसेका नर्सहरु निरास हुने अवस्था छ । अर्कोतर्फ दक्ष जनशक्तिको अभावमा आम जनताले आधारभुत स्वास्थ्य सेवा नपाइरहेको अवस्था विद्यमान छ । दक्ष जनशक्ति र रोजगारीको यस्तो असमानतालाई हटाउन राज्यले नै पहल गर्नुपर्ने हुन्छ । विकसित देशमा नर्सिङ पेशालाई उच्चस्तरको मान्यता र पारिश्रमिक प्राप्त हुन्छ भने रोजगारिको अवसर पनि उत्तिकै हुन्छ । नेपालमा भने सोहि अनुसारको वृद्धि विकास नहुँदा अत्याधिक नर्सिङ जनशक्ति विदेशतिर पलायन हुन बाध्य छन् ।
नेपाल सरकारको स्वास्थ्य योजना तथा नीति निर्माणमा नर्सिङ विशेषज्ञहरुको प्रतिनिधित्व अत्यन्तै न्यून छ । जसका कारणले नर्सिङ क्षेत्रका समस्या जस्ताका त्यस्तै छन् । यसतर्फ अब पनि सरकारको गम्भीर ध्यानाकर्षण भएन भने समय र लगानी खर्चिएर नर्सिङ सेवामा आउन चाहने एउटा सिंगो पुस्ता नै अन्यौल र निरासमा बाँच्न विवस हुन्छ । कम्तिमा नर्सिङ क्षेत्रलाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा छुट्टै नर्सिङ शाखाको स्थापना हुनु अहिलेको आवश्यकता हो ।
नर्सिङ शिक्षाको मुलभुत मान्यता एउटै भएपनि नेपालमा विश्व विद्यालयहरुको भिन्नाभिन्नै पाठ्यक्रममा अध्यापन गराउँदै आएका छन् । नर्सिङ शिक्षामा अन्तराष्ट्रिय स्तरको मापदण्डलाई समेट्ने गरी आफ्नै परिवेशको एउटै पाठ्यक्रम देशभर लागु हुनुपर्ने विषयगत विशेषज्ञहरु बताउँछन् । हुन पनि नेपाली नर्सिङ जनशक्तिले उच्च शिक्षा हासिल गर्ने विभिन्न देश जाँदा महंगो शुल्कमा थप पाठ्यक्रम अध्ययन गर्नु परिरहेको छ । नर्सिङ शिक्षामा देखिएका यस्ता समस्या समाधान गर्न नियमनकारी निकायहरुको गहनताका साथ अध्ययन गरी नीतिगत तहमै परिमार्जन गर्न आवश्यक भइसकेको छ ।
नर्सिङ्ग पेशाको लागी सुरक्षित कार्यस्थल, रोजगारीको व्यवस्था, गुणस्तरीय नर्सिङ सेवा, औद्योगिक र गुणस्तरीय नर्सिङ स्कुल आजको आवश्यकता बनेको छ । महिला भएकै कारण नर्सिङ्ग स्टाफहरुले अन्य सेवा समुहका स्टाफहरुको तुलनामा अवसर र नीति निमार्ण तहमा सहज पहुच पुग्न नसकेकाले सहज पहुँचको ब्यवस्था मिलाईनु पर्दछ । नीजि तथा सरकारी अस्पताल र अन्य स्वास्थ्य सस्थाहरुमा बिना पारिश्रमिक स्वयमसेवकको रुपमा काम गराउने परिपाटीको पुर्ण रुपमा अन्त्य गरि निश्चित मापदण्ड अपनाई नियुक्त पत्र दिएर काममा लगाउने परिपाटीको ब्यवस्था मिलाउनु पर्दछ ।
नेपाल सरकारले नर्सिङ्ग शिक्षा, सेवा तालिम र अनुभव र भौगोलिक क्षेत्रमा काम गरेको आधारमा बढुवाको ब्यवस्था मिलाईनु पर्दछ । यसो हुन सकेमा नर्सहरुको आत्मसम्मान बढाउन र नर्सिङ्ग पेशालाई ब्यवसायिक र सेवामुलक बनाउन मद्धत पुग्दछ । यसै गरि सबै जनतामा स्वास्थ्य सेवाको सहज पहुँच बनाउने सरकारको नीति कार्यान्वयन गर्नका लागि नर्सिङ सेवालाई पनि समय सापेक्ष सुधार र परिमार्जन गर्दै लैजानु पर्ने आजको आवश्यकता रहेको छ ।
अब छिट्टै पि.सि.एल. नर्सिङको पहिलो वर्षका कक्षाहरु सुचारु हुदैछन सम्पूर्ण नर्स बन्ने इच्छा बोकेका बहिनीहरुलाई सफलताको शुभकामना ??
(पाण्डे देवदह मेडिकल कलेजकी मेट्रोन सहायक हुन।)