बुधबार, बैशाख १२, २०८१ Wednesday 24th of April 2024

नेपालमा नर्सिङ शिक्षाका अवसर र चुनौती

  • प्रज्ञा पाण्डे
  • प्रकाशित मिति : शुक्रबार, भदौ २०, २०७६


नेपालमा नर्सिङ शिक्षाका अवसर र चुनौती

प्रज्ञा पाण्डे

नेपालमा नसिङ विषयमा स्नातकोत्तर र बिद्यावारिधि तहको समेत पढाइ हुनेगर्छ । नर्सिङ पेशालाई विश्वव्यापी रुपमै एक सम्मानित पेशा मानिन्छ । मानव स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सेवा प्रदान गर्न यो पेशा अत्यन्तै महत्वपूर्ण छ । नेपालमा पनि नर्सिङ पेशाले आमजनताको मन जित्न सफल नै भएको छ । विगतका विभिन्न बाधा व्यवधानसँग जुधेर हाल नर्सिङ पेशा विकसित अवस्थामा आउन सफल भएको हो ।
यतिबेला अभिभावक तथा विधार्थीको पहिलो रोजाइको विषय नर्सिङ बनेको छ । विश्व विद्यालय एवं अन्य शैक्षिक संस्थाबाट सञ्चालन गरिने नर्सिङ प्रवेश परिक्षा उत्तिर्ण गर्न विद्यार्थी एस.इ.इ. पछि नै धमाधम तयारी गरिरहेका भेटिन्छन् । सेवामुलक नर्सिङ पेशामा भविष्य देख्ने विद्यार्थीको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । एकातिर नेपालमै जागिरको केहि सम्भावना र अर्कोतर्फ विदेश जान इच्छुकका लागि पनि नर्सिङ शिक्षा सहयोगी हुने भएकाले विद्यार्थीको आकर्षण बढेको छ । उत्पादनको तुलनामा रोजगारीको अवसर स्वदेशमा न्यून भएकाले अहिले विदेसिने नर्सको संख्या उल्लेखनीय रहेको छ ।

 

पछिल्लो समय अभिभावक तथा विद्यार्थी जुन उत्साहका साथ लगानी गरेर नर्सिङ शिक्षामा होमिएका छन् त्यस अनुरुप देशमा पर्याप्त अवसर भने उपलब्ध हुन सकेको छैन । जुन अनुपातमा नर्सिङ जनशक्ति उत्पादन भइरहेको छ, त्यस अनुरुप नयाँ रोजगारी सिर्जना नहुँदा अध्ययन सकेर बसेका नर्सहरु निरास हुने अवस्था छ । अर्कोतर्फ दक्ष जनशक्तिको अभावमा आम जनताले आधारभुत स्वास्थ्य सेवा नपाइरहेको अवस्था विद्यमान छ । दक्ष जनशक्ति र रोजगारीको यस्तो असमानतालाई हटाउन राज्यले नै पहल गर्नुपर्ने हुन्छ । विकसित देशमा नर्सिङ पेशालाई उच्चस्तरको मान्यता र पारिश्रमिक प्राप्त हुन्छ भने रोजगारिको अवसर पनि उत्तिकै हुन्छ । नेपालमा भने सोहि अनुसारको वृद्धि विकास नहुँदा अत्याधिक नर्सिङ जनशक्ति विदेशतिर पलायन हुन बाध्य छन् ।

नेपाल सरकारको स्वास्थ्य योजना तथा नीति निर्माणमा नर्सिङ विशेषज्ञहरुको प्रतिनिधित्व अत्यन्तै न्यून छ । जसका कारणले नर्सिङ क्षेत्रका समस्या जस्ताका त्यस्तै छन् । यसतर्फ अब पनि सरकारको गम्भीर ध्यानाकर्षण भएन भने समय र लगानी खर्चिएर नर्सिङ सेवामा आउन चाहने एउटा सिंगो पुस्ता नै अन्यौल र निरासमा बाँच्न विवस हुन्छ । कम्तिमा नर्सिङ क्षेत्रलाई व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा छुट्टै नर्सिङ शाखाको स्थापना हुनु अहिलेको आवश्यकता हो ।

नर्सिङ शिक्षाको मुलभुत मान्यता एउटै भएपनि नेपालमा विश्व विद्यालयहरुको भिन्नाभिन्नै पाठ्यक्रममा अध्यापन गराउँदै आएका छन् । नर्सिङ शिक्षामा अन्तराष्ट्रिय स्तरको मापदण्डलाई समेट्ने गरी आफ्नै परिवेशको एउटै पाठ्यक्रम देशभर लागु हुनुपर्ने विषयगत विशेषज्ञहरु बताउँछन् । हुन पनि नेपाली नर्सिङ जनशक्तिले उच्च शिक्षा हासिल गर्ने विभिन्न देश जाँदा महंगो शुल्कमा थप पाठ्यक्रम अध्ययन गर्नु परिरहेको छ । नर्सिङ शिक्षामा देखिएका यस्ता समस्या समाधान गर्न नियमनकारी निकायहरुको गहनताका साथ अध्ययन गरी नीतिगत तहमै परिमार्जन गर्न आवश्यक भइसकेको छ ।

नर्सिङ्ग पेशाको लागी सुरक्षित कार्यस्थल, रोजगारीको व्यवस्था, गुणस्तरीय नर्सिङ सेवा, औद्योगिक र गुणस्तरीय नर्सिङ स्कुल आजको आवश्यकता बनेको छ । महिला भएकै कारण नर्सिङ्ग स्टाफहरुले अन्य सेवा समुहका स्टाफहरुको तुलनामा अवसर र नीति निमार्ण तहमा सहज पहुच पुग्न नसकेकाले सहज पहुँचको ब्यवस्था मिलाईनु पर्दछ । नीजि तथा सरकारी अस्पताल र अन्य स्वास्थ्य सस्थाहरुमा बिना पारिश्रमिक स्वयमसेवकको रुपमा काम गराउने परिपाटीको पुर्ण रुपमा अन्त्य गरि निश्चित मापदण्ड अपनाई नियुक्त पत्र दिएर काममा लगाउने परिपाटीको ब्यवस्था मिलाउनु पर्दछ ।

नेपाल सरकारले नर्सिङ्ग शिक्षा, सेवा तालिम र अनुभव र भौगोलिक क्षेत्रमा काम गरेको आधारमा बढुवाको ब्यवस्था मिलाईनु पर्दछ । यसो हुन सकेमा नर्सहरुको आत्मसम्मान बढाउन र नर्सिङ्ग पेशालाई ब्यवसायिक र सेवामुलक बनाउन मद्धत पुग्दछ । यसै गरि सबै जनतामा स्वास्थ्य सेवाको सहज पहुँच बनाउने सरकारको नीति कार्यान्वयन गर्नका लागि नर्सिङ सेवालाई पनि समय सापेक्ष सुधार र परिमार्जन गर्दै लैजानु पर्ने आजको आवश्यकता रहेको छ ।

अब छिट्टै पि.सि.एल. नर्सिङको पहिलो वर्षका कक्षाहरु सुचारु हुदैछन सम्पूर्ण नर्स बन्ने इच्छा बोकेका बहिनीहरुलाई सफलताको शुभकामना ??

(पाण्डे देवदह मेडिकल कलेजकी मेट्रोन सहायक हुन।)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra