शुक्रबार, अशोज २४, २०८२ Friday 10th of October 2025

लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रकोबजेट: गुणस्तर, पहुँच र प्रविधिमा प्राथमिकता

  • प्रकाशित मिति : आइतवार, असार १, २०८२


लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रकोबजेट: गुणस्तर, पहुँच र प्रविधिमा प्राथमिकता

दाङ, १ असार — लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत बजेट वक्तव्यमार्फत प्रदेशको स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ। आधारभूत सेवा विस्तारदेखि अत्याधुनिक उपचार, प्रविधि उपयोग र संरचनागत सुधारसम्मका कार्यक्रम समेटिएको यस बजेटले समग्र स्वास्थ्य प्रणालीमा आमूल परिवर्तनको संकेत गरेको छ।

निःशुल्क सेवा र जनस्वास्थ्यलाई सुदृढ आधार

प्रदेश सरकारले सबै नागरिकलाई सुलभ र गुणस्तरयुक्त स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित निःशुल्क औषधि वितरणका लागि रु. ३ करोड र उपकरण खरिदका लागि रु. १२ करोड विनियोजन गरेको छ। साथै, मातृ तथा नवजात मृत्युदर घटाउन ‘सुरक्षित मातृत्व अभियान’ अन्तर्गत पूर्व–उत्तर प्रसूति सेवा प्याकेज तथा दुर्गममा हवाइ उद्धारका लागि रु. १० करोड छुट्याइएको छ।

मानसिक र नसर्ने रोगतर्फ विशेष ध्यान

“मानसिक स्वास्थ्यमा सुधारः स्वस्थ जीवनको आधार” भन्ने नारासहित बढ्दो मानसिक स्वास्थ्य समस्या र आत्महत्या न्यूनीकरणका लागि मनोसामाजिक परामर्श, जीवनशैली परिवर्तन तथा योग शिविर जस्ता कार्यक्रमका लागि रु. २ करोडको व्यवस्था गरिएको छ। मधुमेह, उच्च रक्तचाप, क्यान्सर लगायतका नसर्ने रोग न्यूनीकरणका लागि रु. ४ करोड छुट्याइएको छ।

गम्भीर रोगको उपचारमा सहुलियत र सेवा विस्तार

मुटुको भल्भ प्रत्यारोपण, मृगौला प्रत्यारोपण र क्यान्सर उपचारमा प्रति व्यक्ति रु. २ लाख सहुलियत दिइने कार्यक्रमलाई निरन्तरता दिँदै रु. १० करोड विनियोजन गरिएको छ। आँखाको नानी प्रत्यारोपण, डायलाइसिस सेवा विस्तार र निःशुल्क रक्तसञ्चार सेवा पनि चालु रहनेछ।

अस्पताल स्तरोन्नति र नयाँ संरचना निर्माणमा तीव्रता

राप्ती प्रादेशिक अस्पताललाई २०० शैय्यामा स्तरोन्नति गर्न रु. ५ करोड छुट्याइएको छ। भालुवाङको अस्पतालमा विशेषज्ञ सेवा र २४ सै घण्टा आकस्मिक सेवा सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ। यसका साथै सन्धिखर्कको अर्घाखाँची अस्पताल, भिम अस्पताल भैरहवा र बर्दिया अस्पतालको भवन निर्माणमा विशेष ध्यान दिइएको छ।

विशेष कार्यक्रम र सेवा पहुँच

सिकलसेल, थालासेमिया, हेमोफिलिया जस्ता रोगको स्क्रिनिङ र जनचेतनाका लागि बजेट छुट्याइएको छ भने, प्युठान, रुकुम (पूर्व) अस्पताल, लमही ट्रमा सेन्टरको निर्माण तथा कपिलवस्तुमा प्रदेशस्तरीय सरुवा रोग अस्पताल स्थापना गर्न रु. ८ करोड विनियोजन गरिएको छ।

पोषण, बालबालिका र डिजिटल स्वास्थ्य

कपिलवस्तु, बाँके, बर्दिया, रुपन्देही र दाङमा पोषण विशेष कार्यक्रम सञ्चालनका लागि रु. ८ करोड विनियोजन गरिएको छ। महिला तथा बालबालिकाको स्वास्थ्य निगरानीका लागि डिजिटल स्वास्थ्य सूचना प्रणाली सुरु गरिनेछ।

आयुर्वेद र परम्परागत चिकित्सा प्रवर्द्धन

विजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा विशेषज्ञ सेवा सञ्चालन तथा बुटवलको लुम्बिनी आयुर्वेद अस्पताललाई स्तरोन्नति गर्न रु. ३ करोडको बजेट व्यवस्था गरिएको छ।

संक्रमण र महामारी न्यूनीकरणमा तयारी

मलेरिया, डेंगी, कालाजार, कुष्ठरोग, क्षयरोग, हेपाटाइटिस, एचआईभी एड्स जस्ता रोगहरू नियन्त्रण गर्न केसमा आधारित सर्भिलेन्सलाई प्रभावकारी बनाइनेछ। साथै, प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रलाई २४ सै घण्टा सञ्चालनमा ल्याउने व्यवस्था गरिएको छ।

गौरवको आयोजना : लुम्बिनी प्रादेशिक अस्पताल

स्वास्थ्य क्षेत्रमा दीर्घकालीन पूर्वाधारका रूपमा लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेश गौरवको आयोजना घोषित गर्दै यसको निर्माणका लागि रु. १ अर्ब विनियोजन गरिएको छ। यसले लुम्बिनी प्रदेशको प्रमुख स्वास्थ्य संरचनाको रूपमा काम गर्नेछ।

कुल बजेट : स्वास्थ्य मन्त्रालयलाई रु. ४ अर्ब ९५ करोड

स्वास्थ्य मन्त्रालयका लागि कुल रु. ४ अर्ब ९५ करोड बजेट विनियोजन गर्दै सरकारको उद्देश्य प्रदेशवासीलाई भरपर्दो, पहुँचयोग्य, गुणस्तरीय र समावेशी स्वास्थ्य सेवा प्रदान गर्नु रहेको छ। दुर्गमदेखि शहरी क्षेत्रसम्म स्वास्थ्यमा पहुँच वृद्धि, सेवा स्तरीकरण, रोग न्यूनीकरण, संरचनागत विकास र मानव संशाधन सुधारले यो बजेटलाई ऐतिहासिक बनाएको छ।

लुम्बिनी प्रदेश सरकारको यो बजेटले “स्वस्थ नागरिक, समृद्ध प्रदेश” को अवधारणा साकार पार्ने स्पष्ट संकेत दिएको छ। यदि घोषणाहरू समयमै कार्यान्वयन भए, यसले प्रदेशको स्वास्थ्य क्षेत्रमा आधारभूत परिवर्तन ल्याउनेछ भन्नेमा शंका छैन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra