सामान्य भाषामा इन्फ्लुएन्जा वा फ्लुलाई भाइरल ज्वरो भनिन्छ । प्रायः कडा घाम र पानी पर्ने मौसममा यसले प्रकोपको रूप लिने गरेकाले यसलाई मौसमी इन्फ्लुएन्जा पनि भन्ने गरिन्छ । बदलिँदो मौसम, वायु प्रदूषण तथा दूषित पानीका कारण भाइरल संक्रमण बढी हुन्छ । यसको प्रभाव जाडो मौसममा भन्दा गर्मी मौसममा बढी रहन्छ । यो हावाबाट सर्ने रोग हो । यो रोग भाइरसका कारण हुन्छ ।
फिजिसियन डा. सुन्दर पाण्डेका अनुसार भाइरल ज्वरोका मुख्य लक्षणहरू निम्नानुसार छन्ः
१. ज्वरो,
२. शरीर जिरिङ्ग (जाडो हुने),
३. टाउको, जिउ र जोर्नी दुख्ने,
४. घाँटी दुख्ने, खोकी लाग्ने, नाकबाट पानी बग्ने वा बन्द हुने, बालबालिकालाई बान्ता र पखाला लाग्ने,
५. अनुहार सुन्निने र शरीर अलश्य हुने।
भाइरल ज्वरो सर्ने कारणः
यो सरुवा रोग हो । रोग लागेका व्यक्तिको शरीरको तरल पदार्थबाट यो रोग अर्को व्यक्तिमा सर्दछ । रोगीले खोक्दा, हाच्छ्यु गर्दा, हाई काढ्दा उसको मुख र नाकबाट निस्कने मसिना थुक, र्याल, सिंगानका कणहरूबाट वातावरणमा यसका भाइरस निस्कन्छन् र नजिकै बसेको मानिसले सास फेर्दा यो भाइरस सर्दछ ।
यसका साथै बिरामीसित हात मिलाउँदा, बिरामीले प्रयोग गरेका रुमाल, कलम आदिबाट पनि रोग सर्दछ । हावामा खेलिरहेका विषाणुहरू श्वासप्रश्वासको क्रममा नाकको माध्यमबाट मानिसको शरीरमा पुग्छ । भाइरसको प्रवेशसँगै नाक चिलाउन र दुख्न थाल्छ । भाइरस घाँटीमा पुगेपछि घाँटी खसखस गर्छ ।
अन्तिममा फोक्सोमा पुगेपछि खोकी लाग्न थाल्छ । भाइरसको प्रवेशसँगै नाकबाट हाच्छ्यु आउने, रुघा लाग्ने, घाँटीमा अप्ठेरो पर्ने, स्वर बिग्रने गर्छ । फोक्सोमा पुगिसकेपछि भाइरस रगतमा मिसिन्छ र शरीरका सम्पूर्ण भागमा फैलिन्छ । रगतमा फैलनासाथ मानिसमा ज्वरो आउँछ । ज्वरोका कारण शरीरको प्रतिरोधात्मक शक्ति कमजोर हुन्छ र भाइरसको शक्ति बलियो हुन्छ । ७२ घन्टादेखि पाँच दिनसम्म बढी क्रियाशील हुने भाइरल त्यसपछि आफैं हराएर जान्छ ।
भइरल ज्वरो अाउँदा के गर्न हुन्छ ?
१) घरमै आराम गर्ने:- यसले शरीरमा ऊर्जा थपिदिने र रोग प्रतिरोधी क्षमता बढाउन मद्दत गर्नेछ भने संक्रमितबाट अरुलाई सार्ने वा प्रकोप हुने सम्भावना कम हुनेछ।
२) झोलिलो खानेकुरा खाने:- यसले शरीरलाई डिहाइड्रेसन हुनबाट जोगाउँछ। रोग प्रतिरोधी क्षमता पनि वृद्धि गराउँछ। पानी आवश्यकता अनुसार पिए पनि झोलिलो सुप लिँदा शरीरमा अझ स्फुर्ती बढ्ने र छिटो स्वास्थ्यमा सुधार आउनेछ।
३) भाइरल ज्वरोको सिजनमा चाहिने अति आवश्यक सामान्य औषधीहरु आफूसँग राख्ने। खासगरी भौगोलिक विकट स्थानमा स्वस्थ्यचौकी टाढा हुने र स्वास्थ्यकर्मी पनि चाहेको समयमा पुग्न गाह्रो हुने भएकाले सामान्य औषधि आफूसँगै राख्नु आवश्यक छ।
४) घरमै उपलब्ध खानेकुरा (लसुन, सुन्तला, मह, अदुवा आदि) मा भाइरस विरुद्धको गुण हुने भएको र यी खानेकुरा गाउँघरतिर पनि सहजै उपलब्ध हुने भएकाले यसको प्रयोग गर्दा छिटो स्वास्थ्यलाभ गर्न सकिनेछ।
५) खासगरी ६५ वर्षमाथिका जेष्ठ नागरिक, ५ वर्ष मुनिका बालबालिका, दीर्घ रोगी (दम, सिओपिडी, अंग प्रत्यारोपण, मिर्गौलाको डायलाइसिस गरिरहेका) हरुको भाइरल ज्वरो अन्तर्गत पर्ने फ्लुका कारण मृत्यु हुने गरेकाले यस्ता वर्गका मानिसले फ्लु विरुद्धको खोप अनिवार्य लिनुपर्छ। विशेषगरी विकट स्थानहरु जहाँ समयमा औषधि र चिकित्सकको अभाव हुन्छ, त्यहाँ नियमित रुपमा खोप दिँदा बर्सेनि हुने मानवीय क्षतिलाई कम गर्न सकिनेछ।
भइरल ज्वरो अाउँदा के नगर्न हुदैन ?
१) एन्टिबायोटिकको प्रयोग आफूखुसी नगरौं।
२) संक्रमण भएको अवस्थामा सार्वजनिक स्थलहरुमा अति आवश्यक नभई नजाऊ।
३) आफूले प्रयोग गर्ने समानहरु अरुलाई प्रयोग गर्न नदिऊँ, हात नामिलाऊँ र आफू संक्रमित भएको भए अरुसँग एक मिटर दुरी कायम गरेर मात्र कुराकानी गरौं।
४) शरीर कसिने गरी गह्रुंगा लुगा नलगाउने र कोठाका झ्यालढोका पूर्ण रुपमा बन्द नगर्ने।
५) भाइरल ज्वरो संक्रमणका करणले हुने भएकाले धामी, झाँक्री वा झारफुक तिर नलागी सकेसम्म स्वास्थ्य संस्थामा पुग्ने कोसिस गरौं।
संक्रमण नियन्त्रण गर्ने उपायः
यो रोग फैलिनमा नियन्त्रण गर्नका रोगीले खोक्दा हाच्छ्यु गर्दा रुमाल वा रुमाल नभएको अवस्थामा आफ्नो हातले नाक, मुख छोप्ने तथा संक्रमित मानिसले मास्कको प्रयोग गर्नु उपयुक्त हुन्छ । यसले हाच्छ्यु गर्दा, खोक्दा उसको रोग अन्य व्यक्तिमा प्रवेश गर्ने कम सम्भावना हुन्छ ।
बारम्बार हात धुने र हात सफा राख्ने, बिरामीसँग कुरा गर्दा कम्तीमा एक मिटरको दूरीमा बस्ने, बिरामीलाई बेग्लै राख्ने जस्ता उपायहरू अपनाएर संक्रमणबाट जोगिन सकिन्छ ।