अर्थोपेडिक स्पाईनल सर्जरीमा विद्यावारिधी गर्नुभएका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. सन्तोषकुमार बस्याल नेपाल सरकार शिक्षा मन्त्रालयले अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा शिक्षा दिवसमा प्रदान गरेको नेपाल विद्या भूषण ‘क’ पुरस्कार प्राप्त गर्ने नेपालकै पहिलो अर्थोपेडिक स्पाईनल सर्जरीका विद्यावारिधी हुनुहुन्छ । एमबिबिएस, एमडी, पिएचडी, हासिल गर्नुभएका डा. बस्यालले लुम्बिनी बौद्ध विश्वबिद्यालयबाट बुद्धिजममा समेत पिएचडी हासिल गर्नुभएको छ । उहाँले विश्वकै उत्कृष्ट विश्वविद्यालय हार्वड मेडिकल विश्वविद्यालय अमेरिकाबाट सम्बन्धन प्राप्त जापानको‘ओ.आई.एस.टी. रिसर्च विश्वविद्यालय’बाट बैज्ञानिक विषयमा छात्रवृत्तिपाइ वैज्ञानिक विषयमा डिग्रि समेत हाँसिल गर्नु भएकोछ । उहाँले लेखेका मेरुदण्ड, हाडजोर्नी, बाथ, नसा तथा मांसपेशी सम्बन्धि लेख तथा पुस्तकहरु समेत प्रकासित भएका छन् । बैज्ञानिकहरुको
अन्तर्राष्ट्रिय संस्था नर्थ अमेरिकन स्पाईनल सोसाइटी (एन.ए.एस.एस.)मा भ्यालु तथा इन्भेष्टमेन्ट कमिटिका सदस्य समेत रहनु भएका डा. सन्तोषले जापान, मलेसीया, क्यानडामा आफूले गरेको अनुसन्धान प्रस्तुत गरिसक्नु भएको छ साथै आगामी बर्ष नयाँ अनुसन्धान प्रस्तुतिकालागि ब्राजिल जाँदै हुनुहुन्छ । उहाँले‘डाक्टर सेन्ट सान रिसर्च फाउन्डेसन नेपाल’मा रहेर अनुसन्धानको क्षेत्रमा काम गर्न शुरु गर्नुभएको छ । फाउन्डेसनका मुख्य सञ्चालक समेत रहनुभएका डा. बस्यालसंग स्वास्थ्य पत्रकालागी कृष्ण गाउँलेले कुरानकानीको सम्पादित अंश-
बधाई छ डाक्टर साव ! अर्थोपेडिक स्पाईनल सर्जरीमा नेपालमै पहिलो विद्यावारिधी हाँसिल गर्नुभएकोमा अनि
‘डाक्टर सेन्ट सान रिसर्च फाउन्डेसन नेपाल’ले खास के काम गर्ने गर्छ ?
धन्यवाद ! नेपालमा हुने मेरुदण्ड, हाडजोर्नी, नसाहरुको बारेमा अध्ययन तथा अनुसन्धान गर्ने र यसका दीर्घायु बिरामीहरुको हाड तथा मेरुदण्डलाई बुढो हुन नदिन हाड जोर्नीहरुको कसरी पुनर्जागरण गर्न सकिन्छ ? भन्ने कुराहरुको अनुसन्धान गर्नकालागि यो संस्था स्थापना भएको हो । यो संस्थामा युवा वैज्ञानिक तथा डाक्टरहरु धेरै छौँ । यो सस्थालाई चिन, अमेरिका, क्यानडा, जापान, बेलायत, भारत, फिनल्यान्ड लगायतका देशका वैज्ञानिक तथा डाक्टरहरुले समेत सहयोग गर्नेछन् ।
अहिले यस बिषयमा अनुसन्धान गर्नु पर्नुको कारण के होला ?
नेपालमा पुरानो विधि र पद्धतीबाट उपचार हुँदै आएको छ । यहाँ विदेशमा भएका अनुसन्धानको आधारमा उपचार गर्ने गरिन्छ । भौगोलिक अवस्था अनुसार खानपिन, सोंचाई, धार्मिक परम्परा, रहनसहनका कारण उपचार पद्धतीमा फरक पर्ने भएकाले यसको वस्तुगत अध्ययनकालागि अनुसन्धान गर्नुपरेको हो । जस्तो यहाँ ‘बाथ’को समस्या धेरै छ । अहिले पनि यहाँ विदेशमा भएको अनुसन्धान र प्रयोग अनुसार उपचार हुँदै आएको छ । विदेशमा भएको अनुसन्धान र हाम्रो हावापानी अनुसार गरेको अनुसन्धानले उपचार पद्धतीमा पनि फरक पर्ने गर्दछ तसर्थ हामीले यहाँको वास्तविक वस्तुस्थिति अनुसार उपचारमा कसरी परिवर्तन ल्याउन सक्छौ भनेर अनुसन्धान गर्न गइरहेकाछौं ।
ठ्याक्कै भन्नुपर्दा कस्तो प्रविधिको विकास गर्न चाहनुहुन्छ ?
अहिले सम्म यहाँ परम्परागत खालको पद्धतिमा उपचार भैरहेको छ तर विश्वमा धेरै नयाँ प्रविधि भित्रिएका छन ती प्रविधिको नेपालमा जस्ताको तस्तै प्रयोग गर्दा पनि उपयुक्त हुदैन तसर्थ अब पुरानो र नयाँ प्रविधिको मिश्रण गरेर नेपालमै नेपाली वातावरणमा अन्तर्घुलित हुनेखालको प्रविधिको विकास गर्न चाहन्छौं । त्यो पद्धति मात्र नेपालको लागि उपयुक्त हुन्छ ।
नेपालमा अनुसन्धान गर्न वातावरण कस्तो छ ? के नेपाल मै बसेर तपाईंहरुले सोचेजस्ता खोज अनुसन्धान सम्भव छन ?
प्राकृतिक हिसाबले नेपालीको जस्तो अनुकूल वातावरण सायदै संसारमा छैन, हामीलाई आवश्यक पर्ने स्रोत पाउन यहाँ गाह्रो छैन । विदेशी अनुसन्धानकर्ताहरु यहाँको प्रकृति संग रमाउँदै खोज अनुुसन्धान गर्न चाहेको कुरा बेलाबेला बताउने गरेका छन तथापि राज्यको तर्फबाट त्यो खालको वातावरण नहुँदा नेपाली वैज्ञानिकहरु पनि पलायन हुने अवस्था छ । तर नेपाल सरकारले यो विषयमा विशेष ध्यान दिनेछ भन्नेमा आशावादीछौँ र यहीँ रहेर खोज अनुसन्धान गर्ने सोचमाछौँ ।
यो अनुसन्धान के कुरामा केन्द्रित हुने छ र कति समय लाग्छ ?
नेपालमा विशेषगरी हाडजोर्नी तथा मेरुदण्डका बिरामी धेरै छन् । त्यसमध्ये पनि मेरुदण्ड खिईएको समस्या त्यसको करिव ३० प्रतिशत छ । मेरुदण्ड खिईएकोलाई कसरी बचाउने भन्ने कुरामा हाम्रो अनुसन्धान केन्द्रित हुनेछ । ‘ओष्ट्योपोरोसिस्’, ‘ओष्ट्योअर्थोराईटिस्’ र ‘रिमाटिकअर्थोराईटिस्’ (क्रमशः उमेरसंगै हड्डी खिईँदै जाने, उमेर तथा मोटोपनाका कारण जोर्नी सुन्नीँदै जाने र जन्मजात नै जोर्नी सुन्नीँने तर समस्या पछि देखिने)को समस्या बढी छ । अहिले यी समस्याको हामीले बिदेशमा भएका अनुसन्धानका आधारमा उपचार गर्ने गरेकाछौं । अब यहाँ नेपाली हावापानी अनुसार अध्ययन अनुसन्धान गर्नेछौं । यसको अनुसन्धान गर्नकालागि हामीले ५ वर्षको योजना गरेकाछौं । करिव २ वर्षमा यसको केही रिजल्ट पनि आउन सक्छ । तर हाम्रो फाउन्डेसनले हाडजोर्नी तथा नसा सम्बन्धि मात्रै अनुसन्धान गर्दैन अन्य मानव स्वास्थ्यसंग सरोकार राख्ने विषयमा अनुसन्धान गर्नेछ ।
अनुसन्धानकालागि आर्थिक व्यबस्थापन कसरी मिलाउनु भएको छ ?
यसकालागि हामीले स्वास्थ्य विभागमा प्रपोजल पेश गरेकाछौं । अन्तर्राष्ट्रिय स्तरबाट हुने सहयोगकालागि पनि प्रपोजल पेश गरेकाछौं । यसको रिजल्टले अन्तर्राष्ट्रिय स्तरमा पनि प्रभाव पार्नेछ, त्यसैले पनि अन्तर्राष्ट्रिय संस्थाहरुले पनि चासो देखाएका छन् । त्यस्तै हामी अफ्नै खर्चबाट पनि गर्न सक्नुपर्छ । अन्य लगानीकर्ताको सहयोग पनि उत्तिकै महत्वपूर्ण हुन्छ । पहिले त पढाउने प्रध्यापकहरु आफै निरोगी हुनुपर्यो यसको अर्थ यो हो कि, मानसिक, शारीरिक, सामाजिक, आर्थिक रुपमा स्वस्थ्य रहन सक्ने अवस्था प्रधापकको हुनुपर्छ । विश्वमा अहिले जुन किसिमको डाक्टर उत्पादन गर्ने पाठ्यक्रम छ त्यो प्रभावकारी छैन, अहिलेको पाठ्यक्रममा धेरै कुराहरु जोड्नुपर्ने देखिन्छ विशेषगरी ध्यान, योगा, ब्रमाण्डिय उर्जा लगायत धेरै कुरा थप्नु पर्छ । उत्पादित डाक्टरहरुमा आन्तरिकरुपमा परिवर्तन हुनेखाले विषयवस्तु जोड्नुपर्ने देखिन्छ जसबाट लाभदायक उपचार होस् । अन्य धेरै कुराबाट अहिलेको पाठ्यक्रम अपूर्ण छ ।
तपाईले कम उमेरमै धेरै विषयमा डिग्री तथा दुईवटा विषयमा त विद्यावारिधी हाँसिल गरिसक्नु भएको छ ? सफल हुने सुत्रहरू के हुन ?
मानव जीवन कर्मसंग जोडिएको हुन्छ । सत्कर्म गर्नुपर्छ,आफ्नो कार्यमा दत्तचित्त भएर लागेमा सफलताले खोज्दै आउँछ अनि सफल भइन्छ, खुसी भइन्छ । नेपाल जस्तो देशमा जन्मिएकाहरु असफल त हुनै नपर्ने हो किनकि यहाँ हरेक खालको प्राकृतिक वातावरण छ यस्तो उपयुक्त वातावरण संसारमा कहाँ छ र ? नेपालमा प्राकृतिक रुपमा राम्रो मस्तिष्क लिएका मान्छेहरु जन्मिन्छन तसर्थ ती मान्छेले सत्कर्म गर्ने हो भने भविष्य उज्यालो छ ।
(डाक्टर बस्याल देवदह मेडिकल कलेजमा कार्यरत हुनुहुन्छ )