शनिबार, साउन १२, २०८१ Saturday 27th of July 2024

पाठेघर खस्नु के हो ? खसेमा के गर्ने ?

  • कृष्ण गाँउले
  • प्रकाशित मिति : सोमवार, साउन ६, २०७६


पाठेघर खस्नु के हो ? खसेमा के गर्ने ?

सामाजिक परिस्थिति तथा यौनशिक्षाको कमिले मानिसहरु आफ्ना यौनजन्य समस्या बाहिर ल्याउन आनाकानी गर्ने गर्दछन । जसको कारण बर्षौ देखि यौन रोग पालेर बरु मृत्यु पर्खन्छन तर आफ्नो समस्या बाहिर ल्याउन चाहन्न ।

यौनजन्य समस्यामा पुरुष भन्दा महिला धेरै गुणा बढी छ । महिलाहरुको पाठेघर खस्ने र पठेघर सम्बन्धि समस्या बिशेष गरि ग्रामीण क्षेत्रमा बिकराल स्थितिमा छ । पाठेघर खस्ने समस्याका कारण महिलाहरूले हेलामा बाँच्नुपरेको छ । अशिक्षा र गरिबीको कारण अधिकांश महिला पाठेघर समस्याको उपचार नगरी रोग पालेर बस्ने गरेका छन् ।

महिलाको प्रजनन् स्वास्थ्य सम्बन्धी समस्यामध्ये पाठेघर खस्ने मुख्य समस्या हो । परिवारका सदस्यसँग कुरा गर्दा लाज र इज्जत जाने डरले सबैले रोग पालिरहेको अवस्था छ । यसले कतिपय महिलाहरू मानसिक, शारीरिक रूपमा श्रीमानबाट समेत पीडित भएर बाँच्न बाध्य छन् । पाठेघर खस्ने तथा पाठेघर सम्बन्धि स्वास्थ्य समस्याको बारेमा देवदह मेडिकल कलेजमा कार्ययरत बरिस्ठ  स्त्रीरोग विशेषज्ञ डाक्टर ज्योति राना संग स्वास्थ्य पत्रका लागि कृष्ण गाउँलेले गरेको संवादको सम्पादित अंश.

पाठेघर खस्नु भनेको के हो ?

-पाठेघर महिलाको प्रजनन् अंग हो । बच्चा जन्माउँदा प्रजनन् अंगमा असर गर्छ र पाठेघर खुकुलो भएर जान्छ । पाठेघरलाई अरु तन्तुहरूले जोेडेर राखेको हुन्छ तन्तुहरुले पाठेघरलाई साथ छोडेपछि पाठेघर बाहिर आउँछ । पाठेघर भएको ठाउँ छोडेर केही सर्नुलाई नै पाठेघर खस्नु भनिन्छ । कसैको कम खस्छ भने कसैको धेरै खस्छ । एकचोटि बच्चा पाइसकेपछि खुकुलो हुन्छ, यस्तो हुने बित्तिकै खसेको भन्न मिल्दैन ।

पाठेघर खसेको धेरै महिलाहरूले थाहा नै पाउँदैनन्, बढी भएपछि मात्रै थाहा पाउने गरेका छन् । खस्ने समस्यामा पाठेघरको दोष हुँदैन, त्यसलाई जोड्ने तन्तुहरूको हुन्छ । कति महिलाहरूले खस्ने बित्तिकै निकाल्नुपर्यो भन्छन्, तर निकाल्नु पर्दैन, मर्मत गर्नुपर्छ । स्वास्थ्य सम्बन्धि जनचेतना पहिले भन्दा अहिले बढी भएको कारण पहिले र अहिलेमा धेरै फरक छ, पहिलेभन्दा अहिले संख्या कम भइसकेको छ । दुर्गम क्षेत्रमा भने दक्ष जनशक्ति अभावका कारण समस्या अलि बढी छ ।

बच्चा जन्माएपछि पेटमा ६ हप्तासम्म असर पर्न दिनु हुँदैन । तर, सुत्केरी भएर न्वारान हुनुअगावै काम गर्छन् । जसका कारण पाठेघर आफ्नो ठाउँमा पुग्न पाउँदैन । ६ हप्तासम्म आराम गरेमा विस्तारैै पाठेघर जोडिदै आउने हो । अहिले त्यो चेतना बढेकाले समस्या केही कम भएको छ ।

पाठेघर किन खस्छ ?

-सानैमा बिबाह गर्ने, धेरै सन्तान जन्माउने, पोषणको अभाव र असुरक्षित गर्भपतन गराउने जस्ता कारणले पाठेघर खस्ने गर्छ । पाठेघर खस्ने समस्यालाई लिएर लाज नमानी समस्या देखिनेबित्तिकै स्वास्थ्य संस्थामा गएर उपचार गरेमा जटील हुदैन । पाठेघर खस्नु रोग हो ? पाठेघर झर्नु र बच्चा पाउनु आफैंमा रोग हुँदै हैन । तर, पाठेघर खसेपछि नयाँ रोगहरू आउन सक्छन् ।

पाठेघर झरेपछि तन्केर जान्छ र त्यहाँ रगतका नलीहरू पुग्न सक्दैनन् । नपुगेपछि त्यस ठाउँमा रगत कम हुन्छ र घाउहरू बन्छ, अल्सर हुन्छ । रगत र अक्सिजनको मात्रा नपुगेर अल्सर हुन्छ, त्यसपछि सेतो पानी बग्छ । अर्को समस्या, पाठेघर त खुकुलो भएर खस्ने हो, पाठेघर खस्नेसँगै पिसाब थैली पनि झर्छ । पछाडिपट्टि मलद्वारको भाग पनि झर्छ । पिसाबको थैली झर्नेमात्रै हैन, जुन नली छ त्यो खुला हुन्छ, त्यसपछि पिसाब रोक्न सकिन्न । खोक्दा, हाछ्युँ गर्दा, हाँस्दा, उकालो–ओरालो गर्दा पिसाब चुहिने सम्भावना हुन्छ ।

पाठेघर र पिसाब थैली खसेपछि एकै ठाउँमा डल्लो हुन्छ, त्यहाँ पिसाब जमिराख्छ । सामाजिक जटिलता पनि हुन्छ । सेतो पानी बगिरहन्छ, रगत पनि बग्न सक्छ, पिसाब पनि चुहिन्छ । यस्तो हुँदा दुर्गन्ध हुने भएका कारण सामाजिक भेलामा महिलाहरूलाई जान गाह्रो हुन्छ । सानो उमेरमा विवाह गरेर बच्चा पाउँदा पनि पाठेघर खस्छ । यौनसम्पर्क गर्न गाह्रो हुँदा उनीहरूको दाम्पत्य जीवनमा जटिलता आउन सक्छ । यसले मनोवैज्ञानिक असर पर्ने भइहाल्यो ।

बच्ने उपाय के हुन ?

-कारण थाहा भयो भने राम्रो हुन्छ । बच्चा पाउने नै मुख्य समस्या हो भने दक्ष जनशक्ति भएको ठाउँमा डेलीभरी हुनुपर्छ । डेलीभरी गर्न नजान्नेसँग गर्यो भने साल निस्किएन भनेर पेटमा थिचेर निकाल्न खोज्छन् । त्यो समयमा त्यसै त पाठेघर खुकुलो भएको हुन्छ, झन् थिच्दा धेरै खुकुलो हुन्छ । साल निस्किने भनेको त बच्चा जन्मिसकेपछि ५ देखि १५ मिनेटमा हो । त्यो आफैँ उप्किएर आउने हो ।

हतार गरेर हुँदैन, तर कतिलाई थाहा नभएर त्यसो गरिरहेका हुन्छन् । पाठेघर त बच्चा जन्मिइसकेपछि पनि २ र ३ दिन बच्चा पेटमा हुँदाजस्तै रहिरहन्छ । तर, मानिसहरू नबुझेर अझै केही छ भनेर थिच्छन् । त्यो पनि मुख्य कारण हो पाठेघर खस्ने । व्यथा लामो समयसम्म भयो भने पनि पाठेघर खुकुलो भएर खस्नसक्छ । सुत्केरी भएपछि ६ हप्तासम्म आराम गर्नुपर्छ । सामान्य व्यायाम गर्नुपर्छ, त्यसो गर्दा योनीमा मसल्सहरू टाइट हुन्छ ।

खसिसकेपछि के गर्ने ?

-पाठेघर खसेको उपचार सल्यक्रिया मात्रै होइन । धेरै नै खसेको छ भनेमात्र सल्यक्रिया गर्नुपर्छ । व्यायाम गर्दा पनि बढी हुन दिँदैन, बरु कम गर्छ । अर्को भनेको रिङ प्रयोग गर्ने हो । रिङ पनि दुई किसिमको हुन्छ । एउटा तीन–तीन महिनामा फेर्नुपर्ने हुन्छ भने अर्को सिलिकन हुन्छ । यो धेरै गन्हाउने पनि हुँदैन । लामो समयसम्म राख्न मिल्छ र त्यसैलाई फेरि सफा गरेर पनि राख्न मिल्छ । रबरको रिङचाहिँ फेरिरहनुपर्छ । त्यही सफा गरेर प्रयोग गर्यो भने इन्फेक्सन हुने सम्भावना हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

बुटवल मिडिया एण्ड क्रियसन प्रा.लि.द्वारा सञ्चालित
– स्वास्थ्य पत्र मासिक
(रूपन्देही जिल्ला प्रशासन कार्यालय दर्ता नं. १७६/०७५/०७६ )
– स्वास्थ्य पत्र डट कम
(सूचना तथा प्रसारण विभाग दर्ता नं. – १७३४/०७६-०७७)

हाम्रो टिम

स्वास्थ्य पत्र डटकमका लागि
अध्यक्ष : याम बहादुर थापा
प्रकाशक तथा सम्पादक  : कृष्ण गाउँले ( कृष्ण प्रसाद घिमिरे )
संवाददाता : भेष बहादुर थापा
ग्राफिक्स डिजाइन : जिवन थापा क्षेत्री

सम्पर्क


फोनः ९८५७०३७१७०
ईमेल: swasthapatranews@gmail.com

    Subscribe

© copyright 2016-2021 and all right reserved to Swasthaya Patra